Hamro Patra
मोहन्याल गाउँपालिकाः छ वर्षमा समेत सुल्झिएन पालिका केन्द्रको विवाद

टीकापुर, बैशाख २

कैलालीको पहाडी मोहन्याल गाउँपालिका वडा नं. ६ का नरेन्द्र जोशी २०७५ सालमा एक उपभोक्ता समितिको सचिव बने । जेठको अन्तिमतिर काम सम्पन्न गरेका उनी रकम भुक्तानीका लागि १५ दिन भौतारिए ।

गत हप्ता सोल्टामा भेटिएका जोशीले अहिले पनि मोहन्यालबासीका दुःख उस्तै रहेको गुनासो गरे । ‘०७५ सालको कुरा हो, उपभोक्ता समितिको सचिव थिएँ, काम सम्पन्न गरेर भुक्तानीका लागि अध्यक्षलाई भेट्न सोल्टा, उपाध्यक्षको हस्ताक्षर गर्न फलेबिसौना पुगें, प्रमुख प्रशासकीय अधिकृतले सुख्खडमा तोक लगाए, लेखापाल धनगढी रैछन, त्यहाँ पुगेर चेक बनाई भुक्तानी लिँदासम्म १५ दिन पूरै लाग्यो’ जोशीले अन्नपूर्णसँग भने ‘पाँच वर्ष अघिझैं अहिले पनि हाम्रा दुःख उस्तै छ्रन् । गाउँपालिका केन्द्र खिमडीमा छ, हिउँदमा ठिकै भए पनि वर्षायाममा त्यहाँ पुग्न ३/४ दिन लाग्छ ।’

Khadga Memorial And Janajagriti

झट्ट सुन्दा विश्वास नलागे पनि मोहन्यालबासीले यस्तै दुःख झेल्न थालेको छ वर्ष बित्यो । साविकका मोहन्याल, पण्ड़ौन र सुगरखाल गरी तीन गाविसहरु मिलेर बनाइएको मोहन्याल गाउँपालिकाको कुल क्षेत्रफल ६२६.९५ वर्ग किलोमिटर छ ।

गाउँपालिकाको पूर्वमा सुर्खेत जिल्ला, पश्चिममा चुरे गाउँपालिका, उत्तरमा डोटी र सुर्खेत जिल्ला तथा दक्षिणमा गौरीगंगा, घोडाघोडी, लम्कीचुहा नगरपालिका र बर्दगोरिया गाउँपालिका छन् । अधिकांश ठाउँमा यातायातको पहुँच छैन ।

२०७४ को निर्वाचन अघि पालिका केन्द्र तोकिएको खिमडी डोटी जिल्लाको ठुलीगाडसँग जोडिएको छ । वर्षायाममा केन्द्रसम्म जाने बाटो अवरुद्ध हुन्छ । हालको पालिका केन्द्रसम्म हिँडेर जाँदा ३÷४ दिन लाग्छ । पालिका केन्द्र पायक पर्ने ठाउँमा नभएपछि २०७४ देखि नै केन्द्र सार्ने प्रयास नभएको होइन् । पटक–पटक गरिएका प्रयासबाट सहमति नजुटेपछि पहिलो कार्यकालमा खिमडी, सुख्खड, फलेबिसौना र धनगढीबाट कार्यालय सञ्चालन भयो ।

फलेबिसौनाका स्थानीय भवानीप्रसाद देवकोटा गाउँपालिका केन्द्र सबैलाई पायक पर्ने ठाउँमा नहुँदा सेवाग्राहीले दुःख पाएको बताउँछन् । ‘केन्द्र कहाँ राख्ने भन्ने विवादकै कारण अहिलेसम्म पालिकाको भौतिक संरचना बनेको छैन’ एमाले मोहन्याल गाउँपालिका अध्यक्ष समेत रहेका देवकोटाले भने ‘हिउँदमा मोटरसाइकलमा जान ४/५ घण्टा लाग्छ भने वर्षायाममा ३/४ दिन हिँडेर पुग्नुपर्छ, त्यही भएर कहिले सुख्खडबाट, कहिले फलेबिसौनाबाट त कहिले खिमडीबाट कार्यालय सञ्चालन हुँदै आएको ६ वर्ष हुन लाग्यो ।’

संघीयता शुरु भएदेखि नै खिमडी केन्द्रको विवाद शुरु भएको बताउँदै उनले फलेबिसौना, चोसेकाँडा र चायाँभावर मध्ये एक ठाउँ हुनुपर्ने बताए । ‘हामीले गाउँपालिकाका सबैलाई पायक पर्ने केन्द्रका रुपमा चोसेकाँडामा हुनुपर्ने माग राख्दै आएका छौं’ देवकोटाले भने ‘त्यसमा गाउँपालिका अध्यक्ष सहमत नहुँदा अहिलेसम्म केन्द्र नै तोकिएको छैन, सेवाग्राहीले दुःख पाइरहेका छन् ।’

नेकपा माओवादी केन्द्रका प्रदेशसभा सल्लाहकार सागर बोहरा गाउँपालिका केन्द्र तोक्न ढिलाई गर्न नहुने बताउँछन् । ‘सबैलाई पायक पर्ने ठाउँ भएर मात्रै भएन, त्यहाँ पूर्वाधार, बाटो, पानी, बिजुली समेत पुगेको ठाउँ हुनुपर्छ’ बोहराले भने ‘चोसे काँडामा होइन्, सबैको सहमति भए राक्सामा राख्न सकिन्छ, अब ढिलाई गर्नु हुँदैन । पालिकाबाट सिफारिस लिन समेत ३/४ दिन लाग्छ ।’

पालिकाले केन्द्र पायक नभएपछि गाउँपालिकाका उपाध्यक्ष कमल साउँदको नेतृत्वमा केन्द्र तोक्न सिफारिस समिति गठन गर्यो । ‘कार्यपालिकाको दुई तिहाईबाट चोसेकाँडा राख्ने निर्णय भएको हो, तर अध्यक्षले खिमडी नजिकै पर्ने राक्सामा राख्ने प्रस्ताव ल्याएपछि नगर सभामै विवाद भयो । हालसम्म पनि निर्णय हुन सकेको छैन’ उपाध्यक्ष साउँदले भने ‘भुगोलको अध्ययन, जनसंख्या र पूर्वाधारको अवस्था हेरेर सबैलाई पायक पर्ने चोसेकाँडामा केन्द्र राख्न समितिले सिफारिस गरेको हो ।’

उपाध्यक्ष साउँदका अनुसार नेकपा माओवादी केन्द्रबाहेकका दलहरु चोसेकाँडामा केन्द्र राख्नेमा सहमत छन् । ‘गाउँसभामा दुई तिहाई हुँदा पनि अध्यक्षले प्रस्ताव नै नल्याएर जनतामाथि कुठाराघात गरेका छन्’ उपाध्यक्ष साउँदले भने ‘गत महिना चैत्र १३ गते बस्ने भनिएको गाउँसभा २७ गतेलाई सर्यो । २७ गतेसमेत नबसेरै अध्यक्षले हिउँदे सभा स्थगित गरेका छन् ।’

नेपाली काँग्रेसबाट निर्वाचित उपाध्यक्ष साउँदले खिमडीमै पालिका केन्द्र बनाउने अध्यक्षको मनसाय देखिएको आरोप लगाए । पालिका केन्द्र पायक नहुँदा सेवाग्राहीले दुःख पाउनु परेको उल्लेख गर्दै साउँदले सहमतिका लागि चरणबद्ध रुपमा छलफल गरिने बताए ।

नेपाली काँग्रेस नेतृत्वको गठबन्धनमा माओवादी केन्द्रबाट निर्वाचित अध्यक्ष देवीदत्त उपाध्याय पालिका केन्द्र राक्सामा राख्ने पक्षमा छन् । राक्सा र खिमडीको दुरी खासै फरक नभएको स्थानीयहरु बताउँछन् ।

गाउँपालिका अध्यक्ष उपाध्यायले आफूहरु निर्वाचित भएसँगै केन्द्र सार्ने विषयमा छलफल शुरु गरिएको बताउँछन् । ‘चोसेकाँडा, राक्सा र खिमडी मध्ये कतिपयले चोसेकाँडा भनेका छन्, कतिपय खिमडीबाट सार्नु हुन्न भन्ने पक्षमा देखिएपछि मैले राक्सा राख्न प्रस्ताव गरेको हुँ’ अध्यक्ष उपाध्यायले अन्नपूर्णसँग भने ‘त्यसमा सहमति हुन सकेन, दुई तिहाई पुगेन, जसले गर्दा केन्द्र कहाँ राख्ने विषय अझै टुंग्एिको छैन । अहिले हिउँदे नगर सभा स्थगित गरेका छौं, आगामी वर्षे सभामा यसबारे पुनः छलफल गर्नेछौं ।’

अध्यक्ष उपाध्यायले गाउँपालिका केन्द्र पायक पर्ने ठाउँमा नहुँदा सेवाग्राहीले दुःख पाएको स्वीकारे । ‘गठबन्धनसहितका दलबाट निर्वाचित हामीले नै केन्द्र पायक पर्ने ठाउँमा सार्छौं भनेका हौं’ अध्यक्ष उपाध्यायले भने ‘म निर्वाचित भएलगत्तै निलम्बनमा परें, केही समयअघि निलम्बन फुकुवा भएसँगै हामीले छलफल शुरु गरेका हौं ।’ अध्यक्ष उपाध्याय राजश्व सम्बन्धी मुद्दाका कारण निलम्बनमा परेका थिए । हाल उनले उक्त मुद्दामा सफाई पाइसकेका छन् ।

स्थानीय बासिन्दा पालिका केन्द्र जनप्रतिनिधिले आफू अनुकुल स्थानमा लैजान खिचातानी गरेका कारण संघीय प्रणालीको पहिलो निर्वाचन भएको छ वर्ष बितिसक्दा समेत पालिका केन्द्रको विवाद नटुंगिएको बताउँछन् ।

प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  ०९:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update