Hamro Patra
भुक्तानी नपाएपछि ठेकेदार आन्दोलित

टीकापुर, चैत्र २९

कैलालीको टीकापुर नगरपालिकामा विभिन्न ठेक्का लिएर काम गरिरहेका निर्माण व्यवसायीहरु भुक्तानी नपाएपछि आन्दोलित भएका छन् ।

नगरपालिकासँग ठेक्का सम्झौता गरेर निर्माण भइरहेका र निर्माण सम्पन्न भएका कामको बिल भुक्तानी नहुँदा निर्माण व्यवसायीहरु आन्दोलित भएका हुन् ।

Khadga Memorial And Janajagriti

निर्माण व्यवसायीहरुले आज नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारु र उपप्रमुख खड्कबहादुर शाहलाई भेटेर रकम भुक्तानी गर्नका लागि दबाव दिएका छन् ।

टीकापुर नगरपालिकामा सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण बहादुर कठायतको एक महिना नपुग्दै केही दिन अघि सरुवा भएको थियो । उनको ठाउँमा यसअघि प्रमुख प्रशासकीय अधिकृत रहेका मंगलबहादुर शाहको सरुवा टीकापुरमा भएको हो ।

कठायतले हालसम्म रमाना नबुझेको र शाह कार्यालयमा नआएका कारण रकम भुक्तानीमा समस्या भएको निर्माण व्यवसायीहरु बताउँछन्। निर्माण व्यवसायी ललित रावलले नगर पालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा निर्माण कार्य नै अवरुद्ध गर्नुपरेको बताए ।

‘चैत्र मसान्तमा ब्याज तिर्नुपर्ने, नयाँ वर्षमा कामदारलाई तलब भुक्तानी दिनुपर्ने बेला नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत छैनन्’ रावलले भने ‘रकम नै भुक्तानी नभएपछि उधारोमा गाडी दौडाएर निर्माण गर्न सकिँदैन, हामी रोक्न बाध्य छौं ।’

अर्का निर्माण व्यवसायी कुलराज भट्टराईले निर्माण ढिलो गर्दा जरिवाना तिराउने नगरपालिकाले बिल उठाएको दुई तीन महिना हुँदा समेत भुक्तानी दिन नसकेको बताए ।

‘समयावधि भित्र निर्माण सम्पन्न नहुँदा हामीले जरिवाना तिरेका छौं’ उनले भने ‘काम सम्पन्न भएको दुई महिना भइसक्दा समेत रकम भुक्तानीमा नगरपालिकाले आलटाल गर्दा मर्कामा परेका छौं ।’

ब्लक नं. २१ पार्करोड सूर्यबहादुर रावलको घरदेखि सीताराम गिरीको घरसम्म मुलबाटो जोड्ने सडक निर्माण गरिरहेको सेतो बाघ बिल्डर्सका सञ्चालक दीपक साउँदले दुई महिना भइसक्दा समेत रकम भुक्तानी नपाएको गुनासो गरे ।

‘दुई महिना अगाडि नै ३० लाख बराबरको काम सम्पन्न गरेर बिल उठाएका हौं, इञ्जिनियरहरुले भुक्तानीका लागि टिप्पणी समेत उठाई सकेका हुन्’ साउँदले भने ‘तर पनि रकम भुक्तानी भएको छैन, कहिले रकम छैन त कहिले हाकिम छैन भन्दै नगरपालिकाले आलटाल गरिरहेको छ ।’

साउँदले उत्त m ठेक्का २०८० बैशाख १५ गतेभित्र सम्पन्न गर्ने गरी ५७ लाखमा सम्झौता भएको बताए । रकम भुक्तानी नहुँदा समयावधिभित्र कालोपत्रे गर्ने कार्य नसकिने बताउँदै साउँदले भने ‘रकम नै नपाएपछि काम गर्न सकिने अवस्था नै छैन । बैंकले ग्यारेन्टी क्लेम गरेको छ, मर्ने भनेको हामी नै हौं ।’

यता, नगरपालिकाका उपप्रमुख खड्कबहादुर शाहले प्रमुख प्रशासकीय अधिकृत नहुँदा रकम भुक्तानी लगायतका काम प्रभावित भएको बताए ।
‘रकम भुक्तानी मात्रै होइन, नागरिकका दैनिक कामहरु समेत प्रभावित भएका छन्’ उपप्रमुख शाहले भने ‘मन्त्रालयले सरुवा गरेका कर्मचारी समयमा नआउँदा समस्या बैशाखमा निर्माण सम्पन्न गर्ने नगरको लक्ष्य नै प्रभावित हुने देखिएको छ ।’

प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकाबाट पाउनु पर्ने भुक्तानी नपाएको व्यवसायीहरुको गुनासो रहेको छ । उनीहरुले तत्काल रकम भुक्तानीको व्यवस्था गर्न नगर प्रमुख र उपप्रमुखसँग माग गरेका छन् ।

प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update