Hamro Patra
टीकापुर घटनाका कैदी रिहा हुनुपर्छ डा. भट्टराई अदालतको विषय भएकाले नबोलौं डा. रावल

टीकापुर, २६ चैत्र

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले टीकापुर घटनालाई बिर्सेर अघि बढ्नुपर्ने बताएका छन । ‘साहित्य मार्फत सामाजिक सद्भाव’ भन्ने नाराका साथ टीकापुर साहित्य समाजले आयोजना गरेको साहित्य महोत्सवमा बोल्दै उनले सबै समुदायले मेलमिलापको भावना बोकेर अघि बढ्नुपर्नेमा जोड दिए । उनले विगतको घाउलाई कोट्याएर मेलमिलापको वातावरण नबन्ने बताए ।

Khadga Memorial And Janajagriti

उनले २०७२ भदौ ७ गतेको टीकापुर घटनाका मुख्य योजनाकार रहेको आरोपमा कैदी जीवन बिताईरहेका पूर्वसाँसद रेशमलाल चौधरी लगायतको रिहाई हुनुपर्ने बताएका छन । उनले टीकापुर घटनालाई परिवर्तनका लागि भएको राजनीतिक घटनाका रुपमा बुझेर कैदी जीवन बिताईरहेका सबैको रिहाई हुनुपर्ने बताए ।
‘त्यो दुःखद घटना थियो । परिवर्तनका लागि भएको लडाई थियो’ उनले भने ‘यस्ता घटना विगतमा पनि भएका थिए । सबै राजनीतिक दलले परिवर्तनका लागि विभिन्न समयमा हतियार बोकेकै हुन ।’

वक्ताका रुपमा महोत्सवमा डा. भट्टराईसँगै रहेका नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले अदालतमा विचाराधिन मुद्दा भएकाले आफूले टीकापुर घटनाका बारेमा कुनै प्रतिक्रिया नदिने बताए ।
उनले कैदी रिहाई हुने कुरा अदालतको विषय भएकाले विवादास्पद टिप्पणी नगर्ने जवाफ दिए ।‘यो अदालतको विषय हो । मैले बोल्दा टिकाटिप्पणी हुनसक्छ’ उनले भने ‘यस विषयमा केही नबोलौं ।’

एक छुट्टै प्रश्नमा पूर्वप्रधानमन्त्री डा. भट्टराईले जनयुद्धका क्रममा राजाका शालिक तोड्नु गल्ती भएको स्विकार्दै त्यस्तो कार्य पार्टीको नीति विपरित भएको बताए ।
उनले राजनीतिक नेतृत्व प्रति देखिएका नकारात्मक प्रतिक्रियाको जिम्मेवारी आफूले लिने बताउँदै संक्रमणकालिन अवस्थालाई व्यवस्थापन गर्न नसकेका कारण जनतामा नकारात्मक धारणाको विकास भैरहेको बताए ।

नेकपा एमालेका पूर्वउपाध्यक्ष समेत रहेका डा. रावलले भने राजनीतिक दलहरुले चुनावमा गरेका प्रतिवद्धता अनुसार काम गर्न नसकेर जनतामा नैराश्यता उत्पन्न भई राजनीति प्रति नकारात्मक धारणा आउने गरेको बताए । उनले राजनीतिक नेतृत्व दोषी रहेकाले त्यसको जिम्मेवारी लिन आफू तयार रहेको बताए ।
‘म कति दोषी हो । त्यसको मुल्यांकन जनताले गर्नेछन’ उनले भने ‘हामी सबैले आ-आफ्नो दोषको जिम्मेवारी लिनुपर्छ ।’
उनले समानुपातिक प्रणाली नेताका अमुक व्यक्तिलाई चुन्ने व्यवस्थाका रुपमा विकास भएकाले खारेजी हुनुपर्ने बताए ।

साहित्य महोत्सवमा विभिन्न राजनीतिक विश्लेषक, साहित्यकार लगायतले विभिन्न विषयमा आ-आफ्ना धारणा राखिरहेका छन । महोत्सव भोलिसम्म चल्नेछ ।

प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update