Hamro Patra
बालबालिकाको सहभागिताबिना नै योजना छनोट

टीकापुर, चैत्र २४

योजना छनोटमा बालबालिकालाई सहभागी गराउनुपर्ने भए पनि कैलालीका स्थानीय तहहरू सहभागी गराउँदैनन् । पालिकाको योजना छनोट गर्न सात चरण पार गर्नुपर्ने प्रावधान छ ।

यसरी छनोट गर्दा महिला, बालबालिका, फरक क्षमता भएका व्यक्ति, दलित, सीमान्तकृत आदिको सहभागिता गराउनुपर्ने हुन्छ । तर, कैलालीका स्थानीय पालिकाहरू भने बालबालिकासम्बन्धी योजना छनोट गर्नसमेत उनीहरूलाई सहभागी गराउँदैनन् ।

Khadga Memorial And Janajagriti

कैलालीको घोडाघोडी नगरपालिकाले बालअधिकारका लागि पञ्चवर्षीय योजना बनाइरहेको छ । बालमैत्री वडा घोषणा गर्ने तयारीमा छ । तर, नगरका बालबालिकासँग योजनाबारे कुनै छलफल गरेको छैन । घोडाघोडी नगरपालिका-१ की १५ वर्षीया सोनु चौधरीले नगरपालिकाले योजना बनाउँदा बालबालिकासँग छलफल नगरेको बताइन् ।

‘नगरपालिकाले बालबालिकाको लागि योजना बनाई रहेको छ, तर हामीलाई त्यसबारे कुनै जानकारी नै हुँदैन’, चौधरीले भनिन् । ‘हामी विभिन्न बालक्लबमा आबद्ध भएको हुनाले आफंै वडा र नगरपालिकामा आएर आफ्ना कुरा राख्ने गरेका छौं।’

घोडाघोडीका नगर प्रमुख खडकबहादुर रावतसमेत योजना निर्माणमा बालबालिकाको सहभागिता नरहेको स्वीकार गर्छन्। ‘बालबालिकालाई योजना निर्माणमा सहभागी गराउन सकेका छैनौं’, नगर प्रमुख रावतले भने । ‘यस वर्ष हामी प्रारम्भमै बालबालिकासँग हामी छलफल गर्दैछौं।’

गौरीगंगा नगरपालिकाले अभिभावकविहीन बालबालिकालाई अभिभावकत्व प्रदान गर्दै आएको छ । पालिकाले किशोरी मनोपरामर्श र आत्मरक्षा तालिम सञ्चालन गर्दै आएको छ । तर, पनि नगरपालिकाले योजना निर्माणमा बालबालिकालाई सहभागी गराउन सकेको छैन । नगरपालिकाका उपप्रमुख भोजबहादुर बम नीति तथा कार्यक्रम र बजेट निर्माणमा बालबालिकालाई सहभागी गराउन चुकेको बताउँछन् । ‘निर्वाचित भएलगत्तै नीति तथा कार्यक्रम ल्याउनु पर्‍यो, त्यही भएर सहभागी गराउन सकेनौं’, उपप्रमुख बमले भने । ‘बालबालिका शाखा र बालअधिकारसम्बन्धी काम गर्दै आएका संघ-संस्थासँगको सहकार्यमा यस वर्ष समेट्ने छौं।’

टीकापुर नगरपालिकाले समेत बालबालिकासम्बन्धी पञ्चवर्षीय योजना बनाई रहेको छ । २०८२ भित्र बालबालिकाका लागि बालमैत्री नगर घोषणा गर्ने लक्ष्य लिएको छ । १ लाख ७५ हजार रुपैयाँको बालकोष निर्माण गरेको छ । तर, पनि योजना छनोट र निर्माणमा बालबालिकाको सहभागिता भने निकै कम हुने गरेको टीकापुर नगरपालिकाका नगर उपप्रमुख खड्कबहादुर शाह बताउँछन् । ‘टोल र वडा भेलामै उनीहरूलाई सहभागी गराउनुपर्ने हो’, उपप्रमुख शाहले भने। ‘अहिलेसम्म त्यस्तो भएको देखिँदैन, वडा र नगरले जस्तो कार्यक्रम ल्यायो त्यही सञ्चालन हुँदै आएका छन्।’ नगरले यस वर्षदेखि वडास्तरमै बालबालिकाको सहभागिताका लागि पहल गरिरहेको उपप्रमुख शाहले बताए।

योजना निर्माणमा बालबालिकाको सहभागिता बढाउन वल्र्ड भिजन र बालकल्याण संघले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। कार्यक्रम सञ्चालन भएका पालिकाहरूले योजना निर्माणमा सहभागिता बढाउन पहल गरिरहेका छन्। बालबालिकाको आवश्यकताका आधारमा योजना तथा कार्यक्रम निर्माण गर्नुपर्नेमा उनीहरूको सहभागिता बिना नै योजना बनाउँदा लक्षित वर्गसँग नपुग्ने सरोकारवालाहरू बताउँछन्।

प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९  १२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update