Hamro Patra
टीकापुरमा थरुहट/थारुवान सम्मेलन हुने

टीकापुर, साउन १४
टीकापुरमा आयोजना हुने थरुहट/थारुवान राष्ट्रिय सम्मेलन शान्तिपूर्ण हुने बताईएको छ । सम्मेलन व्यवस्थापन समितिले सोमवार टीकापुरमा पत्रकार सम्मेलन गरी कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न गरिने जानकारी दिएको छ ।

‘पहिचान र अधिकारका लागि एकजुट हौं’ भन्ने नाराका साथ थरुहट/थारुवान संयुक्त संघर्ष समितिको आयोजनामा टीकापुरमा आगामी भदौ ७, ८ र ९ गते सम्मेलन हुने भएको छ । सम्मेलनमा देशभरका करिव ८ हजार थारु अगुवाहरुको सहभागीता रहने बताईएको छ ।

सम्मेलनका प्रति नकारात्मक धारणा नबनाउन आयोजक पक्षले सबैसँग आग्रह गरेको छ । टीकापुरमा सम्मेलन हुने भएपछि धेरैले २०७२ भदौ ७ र ८ गतेको जस्तै घटना फेरी दोहोरिने टिकाटिप्पणी गर्न थालेका छन । यसले जनमानसमा एक किसिमको त्रास फैलिने संकेत देखिएको छ । सरकारले सम्मेलनलाई मध्यनजर गरेर सुरक्षा व्यवस्था कडा पार्ने तयारी गरेको छ ।

Khadga Memorial And Janajagriti

थारु नेता लक्ष्मण थारुले सम्मेलन कसैलाई आक्रमण गर्न र बदलाको भावनाले आयोजना गरिएको कार्यक्रम नभई थारु समुदायका एजेण्डाका बारेमा विचार विमर्श गर्ने कार्यक्रम भएको बताए । ‘हाम्रो कार्यक्रमले कोही आत्तिनु र तर्सिनु पर्दैन’ उनले भने –‘यो सम्भ र भव्य कार्यक्रम हो । सौहार्दपूर्ण वातावरणमा सम्पन्न हुन्छ ।’

उनले सम्मेलनका क्रममा थारु अतिथिहरुलाई अन्य समुदायका घरमा बास बसाएर सद्भावको सन्देश दिने तयारी भैरहेको बताउँदै यसका लागि संवाद समूहको मध्यस्थतामा अन्य समुदायका अगुवाहरुसँग छलफल भैरहेको जानकारी दिए । उनले यो सद्भावको सन्देश दिने महत्वपूर्ण पहल हुने बताए ।

उनले सम्मेलनले साँसद रेशमलाल चौधरी लगायत ११ जनाको रिहाईका साथै थारु समुदायको हकअधिकारको आगामी कार्यदिशा तय गर्ने बताए । उनले सम्मेलनले तय गर्ने कार्यदिशाका आधारमा थारु हकअधिकारको आन्दोलन अघि बढ्ने जानकारी दिए ।

सोही पत्रकार सम्मेलनमा सम्मेलन व्यवस्थापन समितिका संयोजक रामप्रसाद चौधरीले टीकापुरको सुन्दर भविष्य प्रति थारु समुदाय समेत चिन्तित रहेको बताए । उनले सबै मिलेर टीकापुरको विकासमा हातेमालो गर्नुपर्ने बेला आएको बताए ।

‘टीकापुरको नराम्रो सुन्दा हामीलाई पनि दुःख लाग्छ । टीकापुर प्रति हामीलाई पनि माया लाग्छ’ उनले भने –‘टीकापुर हामी सबैको हो ।

पत्रकार सम्मेलनमा रामप्रसाद चौधरी संयोजक रहेको ५१ सदस्यीय व्यवस्थापन समितिका साथै विभिन्न ९ वटा उपसमिति समेत गठन भएको बारे समेत जानकारी दिईएको छ । त्यस्तै सम्मेलन सफल पार्नका लागि सबैजसो स्थानीय तहमा समेत उपसमितिहरु गठन भएको बताईएको छ ।

सम्मेलनको पहिलो दिन भदौ ७ गते उद्घाटन समारोह, दोस्रो दिन भदौ ८ गते छलफल र तेस्रो दिन भदौ ९ गते टीकापुर घोषणा पत्र जारी गर्दै सम्मेलन सकिने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन १४, २०७६  १०:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update