Hamro Patra
रुपान्तरण कक्षाले बालबालिकामा ल्याएको रुपान्तरण

टीकापुर, चैत २०

कैलालीको घोडाघोडी नगरपालिका-१ हिम्मतपुरकी गुञ्जन चौधरी १४ वर्षकी भईन । हिम्मतपुर मुक्त कमैया बस्ती हो । उनको पारिवारिक पृष्ठभूमि समेत मुक्त कमैया हो ।

उनी सुखडस्थित राष्ट्रिय माविमा कक्षा ६ मा अध्ययनरत छिन । उनी गाउँघरदेखि विद्यालयसम्म परिचित छिन । उनको परिचय एक हक्की बालिकाको रुपमा स्थापित छ । उनी आफ्नो मनमा लागेका कुरा सबैका सामु निर्धक्क राख्छिन ।

उनी केही समय अघिसम्म भने निकै लजालु थिईन । उनलाई घर परिवारका सदस्यबाहेक अरुसँग बोल्न निकै अफ्ठ्यारो लाग्थ्यो । कक्षाकोठामा समेत उनी कसैसँग बोल्दैन थिईन । उनका केही सिमित साथीहरु थिए । जोसँग मात्रै उनको कुराकानी हुन्थ्यो । कक्षाकोठामा नजानेको कुरा शिक्षकलाई सोध्न समेत उनलाई डर लाग्थ्यो । ॅम आफैमा आएको परिवर्तन देखेर दंग छुँ’ उनले भनिन् -ॅम अहिले आफ्नो कुरा जुनसुकै ठाउँमा गएर राख्न सक्छु ।’

Khadga Memorial And Janajagriti

गुञ्जनको जीवनमा परिवर्तन ल्याएको रुपान्तरण कक्षाले हो । वल्र्ड भिजन र बाल कल्याण संघको साझेदारीमा कैलालीका ५ पालिकाका २४ वडामा सञ्चालित रुपान्तरण कक्षाले गुञ्जनको जस्तै धेरै बालबालिकाको जीवनमा परिवर्तन ल्याएको छ ।

रुपान्तरण कक्षा लिएपछि आफ्नो जीवनमा परिवर्तनको महशुस गर्ने मध्ये भजनी नगरपालिका-१ की १४ वर्षकी जेनिशा चौधरी पनि एक हुन । उनी वडास्तरीय बालअधिकार समितिकी उपाध्यक्ष हुन । उनी स्थानीय महुन्याल माविमा कक्षा ५ मा अध्ययनरत छिन ।

उनको क्षमता देखेर नै सबैले समितिको उपाध्यक्षमा बस्न भनेका थिए । उनी अहिले बालबालिकाको हक अधिकारका क्षेत्रमा मात्रै नभई हरेक किसिमका विभेद विरुद्ध वकालत गर्छिन । उनी समितिमा आउने मुद्दा मामिलाका बारेमा समेत बोल्छिन ।

'हिजो आफै बोल्न डराउथे आज अरुको हक अधिकारका लागि बोल्ने गरेकी छुँ’उनले भनिन् -'कोही गाह्रो अफ्ठ्यारोमा परे म कहाँ आउने गरेका छन ।’
सुखडस्थित राष्ट्रिय माविमा कक्षा ६ मा अध्ययनरत १५ वर्षकी सोनु चौधरी रुपान्तरण कक्षापश्चात आफ्नो अध्ययनमा समेत रुचि बढेको बताउँछिन । उनी समाजमा अरु भन्दा अब्बल बन्नुपर्छ भन्ने सोचको विकास भएको बताउँछिन ।

उनले अरुभन्दा अब्बल बन्नका लागि शिक्षाको भूमिका महत्वपूणर् हुने बताईन । 'आफू कमजोर भएर अरुलाई सिकाउन सकिँदैन’ उनले भनिन् -ॅत्यसका लागि आफू अरु भन्दा अब्बल हुनुपर्छ । जसले मलाई अध्ययनमा रुचि बढायो ।’

घोडाघोडी नगरपालिका-१० आमखैयाकी २३ वर्षीया अनिता चौधरी साथी शिक्षक हुन । उनी रुपान्तरण कक्षा लिएपछि साथी शिक्षक बनेकी हुन । स्थानीय बुलबुले क्याम्पसमा स्नातक तह प्रथम वर्षमा अध्ययरत उनी रुपान्तरण कक्षापछि आफ्नो जीवन रुपान्तरण भएको बताउँछिन । 'म पहिले आफूलाई निकै कमजोर महशुस गर्थे’ उनले भनिन् -'अहिले बिहान अध्यारैमा जंगलको बाटो काटेर क्याम्पस जान्छु । मलाई त्यो हिम्मत रुपान्तरण कक्षाले दिएको हो ।’

उनी विगत एक वर्षदेखि साथी शिक्षकका माध्यमबाट बालबालिकाहरुलाई रुपान्तरण गर्ने अभियानमा सकृय छिन । उनी १३ देखि १९ वर्ष उमेर समूहका २५ जना बालबालिकालाई हरेक शनिवार जीवनउपयोगी कुरा सिकाउँछिन ।

भजनी नगरपालिका-१ की २२ वर्षीया नितु चौधरी समेत साथी शिक्षक हुन । उनी स्थानीय महुन्याल बहुमुखी क्याम्पसमा स्नातक तह तेस्रो वर्षमा अध्ययनरत छिन । उनका अनुसार रुपान्तरण कक्षाले बाल विवाह न्यून गरेको छ । उनले हालै १६ वर्षको उमेरमा बिहे गरेकी एक युवतीलाई पुनःविद्यालय भर्ना गर्न सफल भएको बताईन । उनका अनुसार भजनी नगरपालिका-१ मधुवन गाउँकी ती युवती अहिले कक्षा ९ मा अध्ययनरत छिन ।

बालबालिकाहरुले गाउँमा बाल क्लबसमेत स्थापना गरेका छन । क्लबमा आवद्ध बालबालिकाहरु हरेक महिनाको एकदिन जम्मा हुन्छन । उनीहरु अनुभव आदानप्रदान गर्छन । गाउँघरमा देखिएका समस्याको समाधानका बारेमा छलफल समेत गर्छन । बालबालिकालाई यस कार्यमा साथी शिक्षकलगायतले सहयोग गर्छन । अभिभावक समेत बालबालिकाको कामप्रति सन्तुष्ठ छन ।

जिल्लाका घोडाघोडी, भजनी, टीकापुर, गौरीगंगा नगरपालिका र कैलारी गाउँपालिका गरी पाँच पालिकाका १४ वडामा रुपान्तरण कक्षा सञ्चालित छन । ती कक्षामा २५ जनाका दरले बालबालिका सहभागी छन । हरेक एक कक्षामा दुईजना साथी शिक्षकले बालबालिकालाई जीवनउपयोगी कुरा सिकाउँछन ।

रुपान्तरण कक्षामार्फत बालबालिकाहरुलाई यौन तथा प्रजनन शिक्षा, योजना तर्जुमा, नेतृत्व विकास, आत्मरक्षा, असल साथी चिन्ने लगायतका बारेमा जानकारी दिइन्छ ।

प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  ०८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update