Hamro Patra
विप्लबद्धारा घर कब्जा

टीकापुर, साउन ११
विप्लव नेतृत्वको थारुवान स्वायत्त प्रदेशका कार्यकर्ताले शनिवार टीकापुरमा एक व्यक्तिको घरजग्गा कब्जा गरेका छन् ।

उनीहरुले टीकापुर नगरपालिका–१ ब्लक नं. १७ मा रहेको रेखा कडायतको घरजग्गा कब्जामा लिएका हुन् ।

Khadga Memorial And Janajagriti

थारुवान् स्वायत्त प्रदेश एरिया नं. १ जनपरिषद टीकापुरले एक विज्ञप्ति जारी गर्दै स्थानीय कडायतको घरजग्गा कब्जामा लिएको जनाएको छ ।

जन परिषद प्रमुख विमर्शद्धारा जारी गरिएको विज्ञप्तिमा टीकापुरमा अवैधानिक ढंगबाट मिटर ब्याज, ढुकुटी जस्ता वित्तीय कारोवारमा गर्न संलग्न रहेको आरोपमा घरजग्गा कब्जा गरिएको जनाइएको छ । उनको घरमा कार्यकर्ताहरुले झण्डा र ब्यानर टाँसेका छन् ।

त्यस्तै कडायतले राज्यलाई कर छली गरेको र पैसा दिएवाफत् ठूलो ब्याज दिने भन्दै प्रलोभनमा पारेर करोडौं रुपैयाँ लगेर भागेकाले घरजग्गा कब्जामा लिएको उल्लेख छ ।

विज्ञप्तिमा सबै जनताको रकम फिर्ता नगरेसम्म उनको घरजग्गा कब्जामा रहने उल्लेख छ ।

विज्ञप्तिमा आफ्नो पार्टीले कालोबजारी, महंगी, मिटर ब्याज, ढुकुटी जस्ता अवैधानिक काम गर्नेहरुलाई कारवाही गर्ने जनाएको छ ।
इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी मनोहरप्रसाद भट्टले कब्जा लिएको भनिएको घरमा केही नभेटिएको बताएका छन् । उनले भने–‘हामीले त्यता टोली पठाएका थियौं, त्यहाँ केही पनि भेटिएन् ।’

कडायत टीकापुरमा सञ्चालित रेखा व्युटीपार्लरकी सञ्चालिका हुन् । उनलाई ढुकुटी र मिटर ब्याजको नाममा करोडौं ठगी गरेर फरार रहेको आरोप लाग्दै आएको छ । उनी एक वर्ष यता टीकापुर भन्दा बाहिर रहेको स्थानीयहरु बताउँछन् ।

प्रकाशित मिति: शनिबार, साउन ११, २०७६  १७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update