Hamro Patra
भवन निर्माणका लागि विद्यालय छनौटमा गल्ती भयो–मन्त्री सुवेदी

टीकापुर, साउन १०
सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्ण सुवेदीले टीकापुरस्थित कर्णाली मावि परिसरमा निर्मित भवनको शुक्रवार उद्घाटन गरेका छन ।

सामाजिक विकास मन्त्रालयको ३६ लाख लागतमा ४ कोठे भवन निर्माण भएको हो । सोही भवनको उद्घाटन गर्दै मन्त्री सुवेदीले अन्य विद्यालयले पैसा बुझेर पनि भवन निर्माण नगरेको बताए ।

Khadga Memorial And Janajagriti

उनले आवश्यकताका आधारमा विद्यालय भवनको योजना बाँडफाँड हुन नसकेका कारण यस्तो समस्या आएको बताए । उनले भवन निर्माणका लागि विद्यालय छनौटमा गल्ती भएको बताए ।

उनले आर्थिक वर्षको अन्त्यतिर रकम विनियोजन भएतापनि समयमै भवन निर्माण सम्पन्न गरेकोमा धन्यवाद दिँदै कर्णाली माविबाट अरु विद्यालयले सिक्नुपर्ने बताए । ‘यसले सक्ने अरुले नसक्ने भन्ने हुन्छ’ उनले भने–‘उनीहरुलाई भवनको आवश्यकता नै रहेनछ । यदि आवश्यकता भए समयमै बनाउँथे ।’

सो भवन निर्माण पछि केही राहत भएपनि अझै एउटै कक्षामा अत्याधिक विद्यार्थी पढाउनुपर्ने वाध्यता रहेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष खडक शाहले मन्त्री सुवेदी समक्ष जानकारी गराए ।

त्यस्तै प्रधानाध्यापक धर्मराज शर्माले विद्यार्थीहरुका लागि छात्रावास भवनसहितको मागपत्र पेश गरेका छन । उनले पहाडी जिल्लाबाट पढ्न आउने विद्यार्थीहरुले महंगो कोठा भाडामा बस्नु परेको भन्दै छात्रावास भवन समेत आवश्यक रहेको बताए ।

सो विद्यालय यसवर्ष देशभरका नमूना विद्यालय अन्र्तगत पर्न सफल भएको छ । यहाँ कक्षा ९ देखी नै प्राविधिक शिक्षा अध्यापन हुँदै आएको छ । प्रधानाध्यापक शर्माले प्राविधिक शिक्षा अध्ययनका लागि पहाडी जिल्लाबाट समेत विद्यार्थी आउने गरेको बताए ।

यस विद्यालयमा आर्थिक विपन्न भएका समुदायका बालबालिकाहरु अध्ययन गर्ने गरेका छन । केही वर्षअघिसम्म सामान्य अवस्थामा रहेको विद्यालयले निकै फड्को मारेको छ । विद्यालयमा विद्यार्थी संख्या समेत बढ्न थालेको छ । हाल विद्यालयमा १ हजार ३३१ विद्यार्थी अध्ययन गरिरहेका छन ।

प्रकाशित मिति: शुक्रबार, साउन १०, २०७६  १४:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update