Hamro Patra
बारीमा सड्यो किसानको तरकारी

टीकापुर, चैत्र ९ 

टीकापुर नगरपालिका-८ वनगाउँका श्यामलाल चौधरीको बारीमा बन्दागोभी सड्न थालेको छ । करिव आठ कठ्ठा जमिनमा लगाएको बन्दागोभी किनिदिने कोही छैन ।

चौधरीका अनुसार विगत वर्षहरुमा बाहिरबाट ब्यापारी तरकारी किन्न बारीमै पुग्थे । यो वर्ष एकजना पनि ब्यापारी सम्पर्कमा छैन । उनले मेहनत गरेर उत्पादन गरेको बन्दागोभी किनिदिने कोही नभएपछि बारीमै सडेको टुलुटुलु हेर्न वाध्य हुनुपरेको दुःखेसो पोखे । ‘पहिले जस्तो तरकारी किन्न कोही आएन’ उनले भने-‘कोही नआए पछि बारीमै सड्न त दिनु पर्यो ।’

Khadga Memorial And Janajagriti

उनको काउली समेत बारीमै सड्ने अवस्था आएको थियो । कोही ब्यापारी किन्न नआए पछि उनले केही दिन अघि आफै ट्याक्टरमा भरेर टीकापुर नगरपालिका-१ स्थित हाटबजार पुर्याएको बताए । उनले हाटबजारमा सस्तोमा काउली बेच्नुपरेको सुनाए । ‘७० रुपैयाँमा ५ केजी बेचे’ उनले भने-‘बारीमा सड्नु भन्दा सस्तोमा बेच्नु उचित लाग्यो ।’

सोही ठाउँका अर्का किसान भौना चौधरीको पनि बन्दागोभी र काउली बारीमै छ । उनले १५ कठ्ठामा तरकारी खेती गरेका छन । उनको बारीमा बन्दागोभी र काउली प्रशस्त फलेको छ । उनको समस्या पनि उस्तै छ । मेहनत गरेर उत्पादन गरेको तरकारी किनिदिने कोही छैन ।

‘बाहिरबाट ब्यापारी आउँदैन । स्थानीय ठाउँमा बजार छैन’ उनले भने-‘किसानको उत्पादन बारीमै सड्नुको विकल्प छैन ।’ उनले सबैतिर तरकारी उत्पादन बढेकोले बाहिरबाट ब्यापारी नआएको हुनसक्ने बताए । पहिले सिमित ठाउँमा हुने तरकारी उत्पादन विभिन्न संघसंस्थाको सहयोगमा धेरै ठाउँमा फैलिएको छ ।

थुप्रै संघसंस्थाहरुले किसानलाई तरकारी खेती तर्फ आकर्षित गर्ने गरेका छन । यसमा गौरवको आयोजना रानी जमरा कुलरीया सिँचाई आयोजनाको समेत महत्वपूणर् भूमिका रहेको छ । आयोजनाको कमाण्ड क्षेत्रका करिव ३०० घरपरिवारले व्यवशायिक तरकारी खेती गर्ने गरेको बताईन्छ ।

किसानले आयोजनाले आफूहरुलाई तरकारी खेती तर्फ आकर्षित गरे पनि उत्पादनको बजारिकरणमा भने ध्यान दिन नसकेको गुनासो गरे । उनीहरु बजार नभएका कारण उत्पादन बारीमै सड्नुपर्ने अवस्था आएको बताउँछन । ‘सबैको जोड उत्पादनमा मात्रै छ’ चौधरीले भने-‘बजारको व्यवस्थापन कसैले गरेको पाईदैन ।’

वनगाउँ तरकारी उत्पादनका लागि प्रख्यात छ । यहाँका किसान २०४० सालदेखी तरकारी खेती गर्दै आएका छन । सुरुमा १/२ जनाले ४/५ कठ्ठामा सुरु गरेको तरकारी खेती अहिले गाउँभरी फैलिएको छ ।

चौधरीका अनुसार ८५ घरधुरी रहेको वनगाउँका ४० परिवारले तरकारी खेती गर्छन । उनीहरुले करिव ३० विगाह सम्म जमिनमा तरकारी खेती गर्ने गरेको पाईएको छ । सुरु सुरुमा तरकारी खेतीबाट प्रशस्त आम्दानी गरेको वनगाउँबासीको अनुभव छ ।

प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  १८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update