Hamro Patra
महिलाका सवाल : हिँसा र कुप्रथा समाजको दवावमा मान्नुपर्ने वाध्यता

 दुर्गा देवकोटा

टीकापुर, २२ चैत

नेपाली समाजमा सदियौंदेखिका गलत प्रचलनले महिलामाथि हिंसा बढाएका छन । छाउपडी, बहुविवाह, दाइजो, सुत्केरी, बालविवाह जस्ता गलत प्रचलनले महिलामाथिको हिंसा बढाएको हो । यस्ता प्रचलन अङ्किार गर्नेमा शिक्षित वर्ग समेत छन । उनीहरु समाजको दवावमा आएर यस्ता प्रचलन मान्नुपर्ने वाध्यता रहेको बताउँछन । पहलसिंह धामी त्रिभुवन मावि बटनपुरका शिक्षक हुन् । उनकी श्रीमती महिनावारी हुँदा पाँच दिनसम्म छाउगोठमा बस्छिन् । शिक्षक धामीलाई महिनावारी बार्न हँुंदैन भन्ने राम्ररी थाहा छ । उनले श्रीमतीलाई घरभित्रै सुताउने प्रयास पनि गरे तर, छिमेकी र परिवारले बस्न दिएनन् । ‘श्रीमती बाहिर बसाउने इच्छा त हैन तर, हाम्रो समाजमा यही अभ्यास छ’ उनले भने–‘सबै महिला बाहिर बस्छन् । मेरी श्रीमतीले पनि त्यसै गर्छिन ।’ यस्ता प्रचलनले सबैभन्दा बढी असर महिला र बालबालिकामा परेको छ ।

टीकापुर नगरपालिका–२ की धना साउदलाई पनि महिनावारी भएका बेला घरको आँगनसम्म जाने अनुमति छैन । उनी अरु महिला झैं छाउगोठमा सुत्छिन । ‘हाम्रो टोलमा पाँच वटा सामूहिक गोठ छन् । हामी महिनावारी हुँदा त्यहीँ बस्छौं’ उनले भनिन्–‘पहिले पहिले त घरघरमा गोठ थिए । अहिले धेरैले भत्काए तर, सामूहिक गोठ भने भत्किएका छैनन् ।’

थुप्रै महिलाहरु यस्ता प्रचलनका विरोधी छन । उनीहरु मनभित्रैबाट यस्ता प्रचलन मान्न तयार छैनन् । तरपनि समाजको दवावका अघि उनीहरुको केही चल्दैन । टीकापुर नगरपालिका–४ की निर्मला पाण्डे गत कात्तिकमा सुत्केरी भइन् । उनलाई ११ दिनसम्म घरसँगै जोडिएको अलग्गै कोठामा राखियो । उनले कसैलाई छुन पाइनन् । ‘सुत्केरी अवस्थामा आफ्नो र बच्चाको स्याहार आफैंले गरे’ उनले भनिन्–‘अलग्गै बस्न इच्छा त थिएन तर, घरमा विद्रोह गर्न सकिनँ ।’ स्थानीय रमिला देवकोटाका लगातार तीन छोरी जन्मिए । त्यसपछि छोरा पाउनुपर्छ भन्दै उनका श्रीमानले दुई पटकको गर्भ परीक्षण पछि गर्भपतन गर्न लगाए । छोरा पाइनस् भन्दै उनले बहुविवाह गरे तर, रमिलाले बहुविवाह विरुद्ध उजुरीसम्म गरिनन् । उनलाई छिमेकीले ‘छोरा जन्माउन सकिनस् त अब के गर्छस् सहेर बस’ भनेर सान्त्वना दिए । ‘श्रीमानले निकै दुःख दिए तरपनि समाजले तिरस्कार गर्ला भनेर सहेर बसे’ उनले भनिन्–‘समाजको डरले उजूरी गरिनँ ।’

समाजमा बहुविवाहका घटना बढेका छन । तर जिल्ला प्रहरी कार्यालय कैलालीमा गत वर्ष बहुविवाहका दश वटा मात्रै उजूरी परेका छन । कानूनले महिनावारी बार्ने र बार्न लगाउनेलाई सजायको व्यवस्था गरेको छ । कैलालीमा अहिलेसम्म एउटा पनि उजूरी परेको छैन । मुलुकी देवानी संहिताले यस्ता गलत अभ्यासका कारण महिलाले हिंसामा परे भनी उजूरी गरेमा कडा कारवाही हुने व्यवस्था गरेको छ । कानूनी उपचारको ज्ञान र समाजको दवावका कारण महिलाहरु हिंसा सहेर बस्न वाध्य छन ।

प्रकाशित मिति: शुक्रबार, चैत २२, २०७५  १७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update