टीकापुर, ६ चैत
मीनबहादुर बोहरा र ममता बोहरा दम्पत्ति हुन । उनीहरु दुवैजना पूर्व लडाकु समेत हुन । २०५८ तिर भूमिगत भएका उनीहरुले २०६८ मा स्वेच्छिक अवकाश रोजे । उनीहरुले स्वेच्छिक अवकाश पश्चात पाएको रकम लगानी गरेर लम्कीचुहा नगरपालिकाको मोतिपुरमा करिव ५ वर्ष होटल चलाए ।
संसारभर कोरोनाले ब्यापार व्यवशाय तहसनहस बनाएको बेला उनीहरुको होटल समेत ठप्प भयो । मीनबहादुर एकदिन मोहन्याल गाउँपालिका-७ राजकाँडा पुगे । जहाँ उनका बुबा तुलबहादुर क्षेत्री र आमा चम्फादेवी बोहरा बस्दै आएका छन । राजकाँडा उनको पुख्र्यौली थलो हो ।
उनले बाल्यकालमा राजकाँडामा घना बस्ती देखेका थिए । घरहरु पनि धेरै थिए । मान्छेको बसोबास पनि बाक्लै थियो । मानिसहरु विभिन्न पेशा व्यवशाय गरेर जीविकोपार्जन गर्थे । त्यहाँको माहौल रमणीय नै थियो । आममानिसहरु दुःखकष्ठ झेलेर पनि हाँसीखुशी नै थिए ।
उनी लामो समयपछि पुख्र्यौली थलो पुगेका थिए । उनले बाल्यकालमा देखेको राजकाँडा र अहिले देखेको राजकाँडामा निकै फरक पाए । बस्ती उजाड बनेको छ । जताततै खण्डहर बनेका घरहरु मात्रै छन । मान्छेको चहलपहल छैन । गाउँमा भएकाहरु पनि वृद्धवृद्धा मात्रै छन । बसाईसराईले राजकाँडा रित्तो बनेको छ ।
केही दिनको बसाईका क्रममा उनले राजकाँडामा नौला मान्छेहरु पनि देखे । ती मान्छेहरु दिउसो घुम्न आउँथे र साँझ फर्किन्थे । दिनै पिच्छे फरकफरक मान्छेहरु राजकाँडामा देखिन्थे । उनले ती मान्छेहरुलाई राजकाँडामा बास बसाउने उपाय सोचे । उनले त्यसरी घुम्न आउने मान्छेहरुसँग बास नबस्नुको कारण सोधे । सबैको जवाफ थियो ‘बास बस्ने ठाउँ नै छैन ।’
उनको पुख्र्यौली जमिन छँदै थियो । मोतिपुरको होटल छोडिदिए । त्यही पुख्र्यौैली जमिनमा काठको घर बनाए । त्यही घरमा होटल सञ्चालन गरे । श्रीमती ममताले होटलको सबै काम सम्हालेकी छन । उनी लम्कीबाट होटललाई आवश्यक पर्ने सामान ओसार्छन ।
उनको होटलमा २०/२५ जनालाई खानबस्नको व्यवस्था छ । अहिलेसम्म धेरै मानिसहरु उनको होटलमा बास बसिसकेका छन । कसैले पनि खान बस्नको समस्या भयो भनेका छैनन् । ‘सबैजना खुशी भएर फर्किएका छन’ मीन बहादुरले भने-‘पाहुनाको स्वागतमा कुनै कमी हुन दिएका छैनौं ।’
उनले गाई पालेका छन । दूध दहीको समस्या छैन । खसी बाख्रा पनि प्रसस्तै छन । कुखुरा, हाँस, कालिज पाहुनाले छानेर खान पाउने व्यवस्था गरेका छन । उनले सस्तोमा खानेबस्ने व्यवस्थाको प्रबन्ध गरेका छन ।
लम्कीको मोतिपुरमा चलिरहेको होटल बन्द गरेर राजकाँडामा होटल सुरु गरेको थाहा पाएपछि उनलाई धेरैले हासोको पात्र बनाए । सबै सुविधा सम्पन्न ठाउँ बसाई सरेका बेला राजकाँडा फर्किनुलाई बौलाहाको संज्ञा दिए । उनका अनुसार स्थानीयले यसो भन्नु् पनि स्वभाविकै थियो । राजकाँडामा बिजुली छैन, पिउने पानीको भरपर्दो व्यवस्था छैन, गतिलो स्कुल छैन, उपचार त परको कुरा सामान्य बिरामी हुँदा ओखती पाउने मेडिकल समेत छैन । यावत समस्याका बाबजुद पनि बोहरा दम्पत्तिले हरेस खाएनन् ।
‘यो ठाउँको विकासका लागि कसै न कसैले यो जोखिम उठाउनु पथ्र्यो । हामीले उठायौं’ ममता बोहराले भनिन्-‘कुनैदिन यसको प्रतिफल राम्रै होला ।’
हिजोआज राजकाँडामा आन्तरिक पर्यटकको संख्या बिस्तारै बढेको छ । त्यहाँ पुग्नेहरु प्रायः बास बसेर मात्रै फर्किन्छन । बास बस्नका लागि बोहरा दम्पत्तिको होटल बाहेक अन्य विकल्प छैन । एकातिर पर्यटकलाई सुविधा र अर्कोतिर बोहरा दम्पत्तिलाई आम्दानीको स्रोत बढ्न थालेको छ ।
‘सुरुमा निकै समस्या भयो । तर अहिले राम्रै भैरहेको छ’ मीनबहादुरले भने-‘दुई छोराहरु राम्रै ठाउँमा पढिरहेका छन । हाम्रो अवस्था पनि सुधार भैरहेको छ ।’ उनीहरुको जेठो छोरा आईटी तर्फ स्नातक तह र कान्छो छोरा सैनिक विद्यालयमा कक्षा १२ मा पढिरहेका छन ।
लडाकु दम्पत्तिको राजनीतिसँगको रस उडिसकेको छ । उनीहरु आफ्नै काममा व्यस्त छन । पछिल्लो समय विकृत बनेको राजनीतिक अवस्थाले त झन उनीहरुलाई आफ्नो विगत सम्झिन मन छैन । ‘पछिल्लो समय माओवादीसँग त्यत्ति रुची छैन’ मीनबहादुरले भने-‘आफ्नो काम गरेर खानुपर्छ । हामी त्यसैमा खुशी छौं ।’
बोहरा दम्पत्ति राजकाँडा पर्यटकीय क्षेत्रका रुपमा विकास हुने कुरामा निकै आशावादी देखिन्छन । उनीहरुलाई चिसापानीदेखी राजकाँडासम्म केवलकार बन्ने कुराले उत्साहित बनाएको छ । उनीहरु केवलकारले राजकाँडाको विकासमा महत्वपूणर् योगदान पुर्याउने विश्वास गर्छन । केही महिना भित्रै जालपादेवी केवलकार प्रालिले केवलकार निर्माणको काम सुरु गर्ने बताईएको छ । उसले वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन सार्वजनिक गरिसकेको छ ।
चुरेको चुचुरोमा अवस्थित राजकाँडा निकै रमणीय छ । यहाँबाट दक्षिणतर्फ तराईको समथर भूभाग र उत्तरतर्फ चुरे पर्वत श्रृङ्खला देख्न सकिन्छ । उत्तरतर्फ नै धेरै पर सेताम्मे हिमाल पनि राजकाँडाबाट सहजै देख्न सकिन्छ ।
आँखैले देख्न सकिने भेरी र कणर्ाली नदीको दोभान । कणर्ाली नदीको पुल, बिहानीपखको सुर्योदय । जताततै हरियाली । राजकाँडाका यिनै कुराले पर्यटकलाई लोभ्याउने गरेको छ ।
राजकाँडा प्राकृतिक रुपमा मात्रै रमणीय छैन । यसको ऐतिहासिक महत्व पनि उत्तिकै छ । राजकाँडा कुनैबेलाको धुलीकोट राज्यको मुकाम हो । तत्कालिन धुलीकोट राज्यका अवशेषहरु राजकाँडामा भेट्न सकिन्छ ।