Hamro Patra
टीकापुर बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन अनिश्चित

टीकापुर, चैत्र १

सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको चुनावी चर्चा चलिरहेका बेला टीकापुरस्थित कृषि विज्ञान संकाय डीन कार्यालय रहेको टीकापुर बहुमुखी क्याम्पसमा भने निर्वाचन अनिश्चित बनेको छ ।

कृषि विज्ञान संकायमा बीएस्सीएजीमा अध्ययनरत विद्यार्थीहरुले निर्वाचन कार्यालयमा तालाबन्दी गरेपछि स्ववियु निर्वाचन अनिश्चित बनेको हो । कृषि विज्ञान संकायको डीन कार्यालय रहेको टीकापुर बहुमुखी क्याम्पसमा शिक्षा, मानविकी, कानुन र व्यवस्थापन संकायको अध्यापन भइरहेको छ भने कृषि संकायको केन्द्रिय क्याम्पसका रुपमा बीएस्सीएजीको अध्यापन भइरहेको छ ।

Khadga Memorial And Janajagriti

विद्यार्थीहरुले बीएस्सीएजी प्राविधिक धारको क्याम्पस भएको दाबी गर्दै टीकापुर बहुमुखी क्याम्पस र बीएस्सीएजीको स्ववियु निर्वाचन फरक फरक हुनुपर्ने माग गर्दै तीनवटा विद्यार्थी संगठनले निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेका थिए ।

क्याम्पसमा रहेका नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी र क्याम्पसबीच सहमति जुट्न नसक्दा चैत्र ८ गतेका लागि तोकिएको स्ववियु निर्वाचन अनिश्चित बनेको हो ।

२०७७ पौष ३ गते विश्वविद्यालयको ८औं विश्वविद्यालय सभाबाट टीकापुरमा रहेको बीएस्सीएजीलाई कृषि संकायको केन्द्रिय क्याम्पसका रुपमा ‘स्कुल अफ एग्रीकल्चर साइन्स’ बनाउने निणर्य भएको थियो ।

नेपाल विद्यार्थी संघका इकाई सभापति मिराज भट्टले विश्वविद्यालय सभाको निणर्यलाई कार्यविधि नबनाएर कार्यान्वयन नगर्दा स्ववियु निर्वाचन स्थगित भएको बताए । ‘२०७७ मै भएको निणर्यमा कृषि संकायलाई स्कुल अफ एग्रिकल्चर साइन्स बनाउने भनिएको छ’ सभापति भट्टले भने ‘अहिलेसम्म कार्यविधि नबनाएर २०७९ मा हुने भनिएको स्ववियु निर्वाचनबारे अन्यौलता बढेपछि हामीले तालाबन्दी गरेका थियौं, क्याम्पसले हाम्रो मागको सुनाई नगर्दा निर्वाचन स्थगित हुन पुगेको छ ।’

एउटै ठाउँमा सञ्चालन भयो भन्दैमा निर्वाचन नै एउटै गर्न खोजिएपछि तालाबन्दी गर्नु परेको अनेरास्ववियुका निवर्तमान सचिव सुन्दर विश्वकर्मा थापाले बताए । ‘प्रशासनिक काम, अध्ययन गर्ने भवन, कर्मचारी, अध्यापक, विद्यार्थी सबै फरक फरक भएको अवस्थामा निर्वाचन एउटै गर्न खोज्नुले तालाबन्दी गर्नुपर्ने अवस्था आएको हो’ थापाले भने ‘स्ववियु निर्वाचन निर्देशिका जारी गर्नुअघि नै हामीले डीन, क्याम्पस प्रमुख र संकाय प्रमुखसँग छलफल गरेर फरक फरक निर्वाचन गर्ने सहमति गरेका थियौं, दुर्भाग्य कार्यविधिमा एउटै भनेर आयो ।’

स्ववियु निर्वाचन संयोजक लालसिंह कार्कीले विद्यार्थी संगठनहरुको माग तत्काल सम्बोधन गर्ने अवस्था नदेखिएपछि तत्काललाई निर्वाचन स्थगित गर्नुपरेको बताए ।

‘एजीका विद्यार्थीहरुले स्वायत्त क्याम्पसका रुपमा फरक फरक स्ववियु हुनुपर्ने माग राखेका थिए’ कार्कीले भने ‘विश्वविद्यालयले जारी गरेको निर्वाचन निर्देशिकामा एउटै निर्वाचन गर्ने भनिएपछि संगठनहरुले निर्वाचन कार्यालयमा तालाबन्दी गरेका हुन्, त्यसमा सहमति जुट्न नसकेपछि हाललाई स्थगित गरिएको छ ।’

हाललाई स्थगित भएको स्ववियु निर्वाचन ३० दिनभित्र गर्न सकिन्छ । ३० दिनभित्र निर्वाचन हुन नसके विश्वविद्यालयले अर्को निणर्य गर्नुपर्ने हुन्छ । कृषि संकायतर्फ ५३० जना विद्यार्थी अध्ययनरत छन् भने टीकापुर बहुमुखी क्याम्पसतर्फ ९ शय ८३ जना विद्यार्थी अध्ययनरत छन् ।

प्रकाशित मिति: बुधबार, चैत १, २०७९  १९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update