Hamro Patra
टीकापुरको दक्षिणी क्षेत्रको पिउने पानी दूषित

टीकापुर, साउन ७
टीकापुर नगरपालिकाका केही वडाको पिउने पानी दूषित रहेको पाईएको छ । जनस्वास्थ्य प्रवद्र्धन उपशाखाको समन्वयमा संघीय खानेपानी आपूर्ती तथा फोहोरमैला व्यवस्थापन परियोजनाको धनगढीस्थित प्रयोगशालाले गरेको परिक्षण रिपोर्टले यस्तो देखाएको हो ।

पानी जाँचका लागि नगरपालिकाका १२ वटा ठाउँको नमूना संकलन गरिएको थियो । जसमध्ये ४ वटामा दिसाजन्य फोहोर भेटिएको उपशाखा सहसंयोजक कमलबहादुर रावलले जानकारी दिए । उनले २ वटा संस्थागत र २ वटा व्यक्तिगत धारामा दिसाजन्य फोहोर भेटिएको पाईएको बताए ।

Khadga Memorial And Janajagriti

नारायणपुर खानेपानी आयोजनाले वितरण गरेको पानी र सेती मैया मावि परिसरमा रहेको हाते नल्कामा दिसाजन्य फोहोर भेटिएको छ । खानेपानी आयोजनाले वडा नं. ६ र ७ का झण्डै २ सय घरपरिवारलाई पिउने पानी वितरण गरेको छ ।

खानेपानी आयोजनाका अध्यक्ष चिरञ्जीवी खनालले बोरिङबाट झिकेको पानीमा यस्तो फोहोर देखिनु शंकास्पद भएको बताए । उनले दिसाजन्य फोहोर भेटिएको भन्ने रिपोर्ट आउनु भन्दा पहिले देखी नै आयोजनाको पानी शुद्ध गर्नका लागि फिल्टर मेसिन जडान कार्य भैरहेको जानकारी दिए ।

उता टीकापुर नगरपालिका–९ सूर्यपुरस्थित विद्यालयमा समेत दिनहुँ ४०० भन्दा बढी विद्यार्थीले पानी पिउने गरेका छन । त्यहाँ रहेको २० फिट गहिरो हाते नल्काको पानीमा दिसाजन्य फोहोर भेटिएको रिपोर्टमा उल्लेख छ । रिपोर्ट अनुसार सोही ठाउँका एक स्थानीय र टीकापुर नगरपालिका–१ ब्लक नं. ९ का अर्का एक स्थानीयको हाते नल्कामा समेत दिसाजन्य फोहोर भेटिएको छ ।

नेपालको संविधानको धारा ४४ मा नागरिकको स्वच्छ पानी उपभोग गर्न पाउने संवैधानिक हक छ । तर नागरिकले प्रदुषित पानी पिउनु पर्ने वाध्यता रहेको भन्दै उपभोक्ता हित संरक्षण मञ्च टीकापुरले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अध्यक्ष एकिन्द्र तिमिल्सिनाले एक विज्ञप्ती जारी गरी नागरिकको स्वच्छ पिउने पानीको ग्यारेन्टी गर्न स्थानीय सरकार समक्ष माग गरेको छ ।

प्रकाशित मिति: मंगलबार, साउन ७, २०७६  १३:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update