Hamro Patra
टीकापुर नगरपालिकाका नाममा अदालतको अन्तरिम आदेश

टीकापुर, फागुन २९

जिल्ला अदालत कैलालीले कैलालीको टीकापुर नगरपालिकाका नाममा वडा नं. १ बनगाउँस्थित जग्गा खाली नगर्न अन्तरिम आदेश दिएको छ ।

टीकापुर नगरपालिकाले स्थानीय नरबहादुर बुढामगर लगायतले सात परिवारले भोगचलन गर्दै आएको झण्डै एक विघा जग्गा, घर, गोठबाट नहटाउनु नभत्काउनु भन्दै अदालतले अन्तिरम आदेश दिएको हो ।

Khadga Memorial And Janajagriti

जिल्ला न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले नगरपालिका, नगर प्रमुख रामलाल डगौरा थारु र टीकापुर नगर विकास समितिका नाममा जग्गा खाली नगराउन अन्तरिम आदेश दिएको हो ।

‘निवेदकले माग गरेको अन्तरिम आदेशको हकमा विचार गर्दा निवेदकहरुले आफू बसिआएको घरजग्गाको पानीको कर, बिजुलीको कर तिरेको देखिएको र तत्काल निवेदकहरुको घर गोठ खाली गराउँदा नेपालको संविधानले परिकल्पना गरेका निवेदकहरुको आवास तथा सम्पत्ती सम्बन्धी अधिकारमा आघात पर्ने हुँदा’ आदेशमा भनिएको छ ‘पछि लिखित परेपछि पुनर्विचार हुने नै हुँदा हाल निवेदकको माग बमोजिम निवेदकहरुको जग्गा, घर, गोठबाट नहटाउनु, नभत्काउनु भनी विपक्षीहरुको नाउँमा जिल्ला अदालत नियमावली २०५२ को नियम ३४ बमोजिम यो अन्तरिम आदेश समेत जारी गरिएको छ ।’

आदेशमा नगरपालिका, नगर प्रमुख, नगर विकास समितिलाई १५ दिनभित्र लिखित जवाफ पठाउन समेत भनिएको छ ।

टीकापुर नगरपालिकाले उक्त जग्गालाई सार्वजनिक जग्गा बताउँदै खाली गर्न सूचना जारी गरेको थियो । नगर प्रमुख रामलाल डगौरा थारुसहितको टोलीले टीकापुर नगरपालिका वडा नं. ४ को एक घर र एक टहरा सार्वजनिक जग्गामा परेको भन्दै डोजर चलाएका थिए । डोजर चलाएको जग्गा सार्वजनिक नभएपछि नगरपालिका अन्य क्षेत्रका सार्वजनिक जग्गा खाली गर्ने निणर्यबाट पछि हटेको थियो ।

‘देशभर चलाइएको डोजर आतंकबाट उत्साहित नगर प्रमुख डगौरा थारुले हचुवाका भरमा डोजर चलाएका थिए’ स्थानीय समबहादुर थापाले भने ‘देशभरका सार्वजनिक जग्गा, भूमिहिन, सुकुम्बासी, दलित आदिको व्यवस्थापनका लागि भूमि आयोग गठन भएको हो, हचुवाका भरमा डोजर हानेर जनतालाई आतंकित बनाउनु हुँदैन, यसको व्यवस्थापन भूमि आयोगले नै गर्नुपर्छ ।’

टीकापुर नगरपालिकाले गत कार्तिक महिनामा ३५ दिने सूचना जारी गर्दै अतिक्रमित जग्गा तथा सार्वजनिक जग्गा खाली गराउन भनेको थियो ।

देशभर अतिक्रमित जग्गाका खाली गराउने अभियान नै चलेपछि गत मंसिर १६ गते राष्ट्रिय भूमि आयोगले तत्काल खाली नगराउन सूचना प्रकाशित गरेको थियो ।

प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  १८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update