Hamro Patra
स्वास्थ्यमा फड्को मार्दै टीकापुर अस्पताल
Khadga Memorial And Janajagriti
टीकापुर, फागुन २९
 
कैलालीको पूर्वी र बर्दियाको पश्चिम क्षेत्रका लागि स्वास्थ्य सेवा केन्द्रका रुपमा विकसित भइरहेको टीकापुर अस्पताल पछिल्लो समय स्वास्थ्य सेवामा फड्को मारिरहेको छ । 
 
कुनै बेला मेडिकल अधिकृत पाउन समेत मुश्किल हुने अस्पतालमा हाल २१ जना डाक्टरहरु कार्यरत छन् । अस्पतालमा यतिबेला १० जना विशेषज्ञ डाक्टर, ८ जना मेडिकल अधिकृत, २ जना डेन्टल र १ जना डी फार्मा डाक्टर सेवारत छन् । 
 
टीकापुर अस्पतालका सूचना अधिकारी शान्तराज शर्माका अनुसार अस्पतालमा तीन जना हाडजोर्नी विशेषज्ञ, दुई जना एनेस्थेसिया, बालरोग, स्त्रीरोग, मनोचिकित्सक, एमडिजीपी र जनरल सर्जन ल्याप्रोस्पकोपी एक÷एक गरी १० जना विशेषज्ञ डाक्टरहरुले सेवा दिइरहेका छन् । दुई जना दन्तरोग विशेषज्ञ र एक फार्मा डी डाक्टर छन् । 
 
दैनिक ५ शय बढी विरामीहरुले सेवा लिइरहेको अस्पतालमा नियमित ओपीडी, सर्जिकल सेवा, मनोचिकित्सक सेवा, हाडजोर्नी तथा नशा रोगको उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको छ । 
 
‘यहाँका विरामीले सामान्य अप्रेसनका लागि समेत धनगढी, नेपालगञ्ज जस्ता शहरमा जानुपर्ने बाध्यता थियो’ स्थानीय भुपेन्द्र बोगटीले भने ‘अहिले हाडजोर्नी, डेलिभरी, हाइड्रोशिल, हर्निया जस्ता रोगको अप्रेसन दैनिक रुपमा हुने गरेको छ । यसले विरामीको पैसा र समय दुबै बचत भइरहेको छ ।’ उनले अस्पतालको सेवा सुविधा विस्तार भइरहेको बताए । 
 
टीकापुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपटबहादुर सोडारीले यस क्षेत्रका नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्याउनका लागि अस्पतालले सेवाहरु थपिरहेको बताए । 
 
‘अस्पतालमा अहिलेसम्म हुन नसकेको मनोचिकित्सक सेवा, वातानुकुलीन शव गृह सञ्चालन, फोहोर व्यवस्थापन, हस्पिटल म्यानेजमेन्ट सिस्टम, फार्मेसी गाइडलाइनको लागु गरिसकेका छौं’ अध्यक्ष सोडारीले भने ‘यसले गर्दा विरामीले सेवा पनि पाइरहेका छन् भने अस्पतालको संस्थागत सुदृढिकरण भइरहेको छ, अस्पताललाई पूर्ण रुपमा प्रविधिमैत्री बनाउने गरी काम भइरहेको छ ।’
 
हस्पिटल म्यानेजमेन्ट सिस्टम लागु भएपछि यहाँका विरामीले लामो समय लाइन लाग्नुपर्ने, पालो मिचिने, धेरै ठाउँमा लाइन लाग्नुपर्ने बाध्यता हटेको छ । ‘ओपीडी पर्चा लिन टोकन सिस्टम छ, त्यहाँबाटै डाक्टरकोमा लाग्ने लाइनको नम्बर आउँछ, त्यसपछि औषधीको नम्बर आउने हुनाले झण्झट हटेको छ’ अध्यक्ष सोडारीले भने ‘यो सिस्टम लागु हुनुअघि पर्चा काट्न, बिल काट्न, चेक गर्न र औषधी लिन लाइन लाग्नुपर्ने अवस्था थियो ।’
 
सोडारीका अनुसार अस्पतालले सुदूरपश्चिमै पहिलोपटक फार्मेसी गाइडलाइन निर्माण गरी लागु गरेको छ । यसले औषधी सेवाको व्यवस्थापन, औषधीको मौज्दात व्यवस्थापन, मेडिकलजन्य उपकरणको उपलब्धता आदिमा सहज बनाएको छ । 
 
५१ शैयाको अस्पतालले १५ शैया एच.डी.यु. सञ्चालन गरिरहेको छ । कोरोना महामारीका बेला अक्सिजनको समस्या झेलेको अस्पतालले पाइपलाइनबाटै अक्सिजन बेडसम्म पुर्याउन अक्सिजन प्लान्ट सञ्चालन गरिरहेको छ । ‘एच.डी.यु. बेडहरुमा पाइपलाइनबाटै अक्सिजन सप्लाई भइरहेको छ भने अन्य वार्डसम्म लैजानका लागि सिलिण्डरमा भर्न सकिने बनाएका छौं’ अध्यक्ष सोडारीले भने ‘नियमित अप्रेसनहरु भइरहेको हुनाले विरामीले सहज रुपमा सुविधा पाइरहेका छन् ।’
 
सेवासुविधा थपिँदै गएको अस्पतालमा भौतिक पूर्वाधारको समस्या छ । अस्पतालमा डाक्टर क्वार्टर व्यवस्थित छैन । ल्याब सेवालाई प्रभावकारी रुपमा सञ्चालन गर्न उपयुक्त ल्याब भवनको अभाव छ । 
 
‘अस्पतालको प्रशासनिक कार्यका लागि भवन निर्माणको अन्तिम चरणमा छ, डाक्टर क्वाटर निर्माण शुरु गरिसकेका छौं, अपाङ्गमैत्री शौचालय बनेको छ, पार्किङ्ग व्यवस्थित गरिरहेका छौं’ अध्यक्ष सोडारीले भने ‘ल्याबको स्तरवृद्धिका लागि दुईवटा आधुनिक मेसिनहरु खरिद भइसकेका छन्, आगामी दिनमा माइक्रोबाइलोजी ल्याब सञ्चालन गर्ने योजना छ ।’
 
व्यवस्थित ल्याब नहुँदा रोगको वास्तविक पहिचान हुन समस्या हुने हुनाले ल्याबको स्तरवृद्धिका लागि पहल भइरहेको उनले बताए । 
 
फोहोरबाट मोहर
 
अस्पतालले अस्पतालजन्य फोहोरबाट मोहर कमाउन थालेको छ । अस्पतालमा जम्मा हुने अस्पतालजन्य फोहोरहरु स्लाइन, सिरिञ्ज, औषधीका बट्टा, बोतल, कार्टुन आदि बिक्री गरेर अस्पतालले आम्दानी लिन थालेको हो । 
 
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सोडारीका अनुसार अस्पतालले संकलित फोहोरलाई कुहिने र नकुहिने गरी वर्गीकरण गर्छ । कुहिनेलाई फोहोरलाई सुरक्षित गाड्ने र नकुहिने फोहोरलाई पुनः वर्गीकरण गरी अटोक्लेभ मेसिनबाट निर्मलीकरण गरेर बिक्री गर्ने गर्छ । 
 
‘तीन महिनादेखि हामीले अटोक्लेभ मेसिन जडान गरेर फोहोरको वर्गीकरण गर्ने, निर्मलीकरण गरेर जम्मा गरेका छौं’ अध्यक्ष सोडारीले भने ‘गत दुई महिनामा १३ क्वीन्टल फोहोर संकलन गरेर बिक्री गरेका छौं, जसबाट अस्पताललाई २८ हजार रुपैयाँ आम्दानी भएको छ ।’
 
फोहोर निर्मलीकरण गर्नका लागि गैरसरकारी संस्था कोइकाले झण्डै आठ वर्षअघि एउटा १ शय ५२ लिटर क्षमताको अटोक्लेभ मेसिन अस्पताललाई दिएको थियो । विश्व स्वास्थ्य संगठनबाट थप अर्को २ शय लिटर क्षमताको अटोक्लेभ मेसिन ल्याएर फोहोरबाट मोहर बनाउन थालिएको अध्यक्ष सोडारीले बताए । 
 
‘आम्दानी धेरै नहोला तर अस्पतालमा जम्मा हुने फोहोर व्यवस्थापन र वातावरणीय दृष्टिकोणले फोहोरको पुनः प्रयोग हुनु महत्वपूर्ण विषय हो’ अध्यक्ष सोडारीले भने ‘हामी अन्य अस्पताल र नगरपालिका क्षेत्रमा संकलित फोहोरबाट मोहर बनाउने योजनामा छौं ।’ 
 
अस्पतालले संकलित फोहोर बिक्रीका लागि जोशीपुरस्थित जय सियाराम होजियारीसँग सम्झौता गरेको छ । सम्झौता अनुसार होजियारीले प्लास्टिक १५, कागज २०, ग्लोब १० र सिरिञ्ज १५ रुपैयाँ प्रतिकिलोका दरले खरिद गर्ने गरेको छ । 
 
अस्पतालले आवश्यक तालिम दिएर दुई जना कर्मचारी खटाई फोहोरको निर्मलीकरण गरिरहेको छ । संकलित फोहोरको परिमाण बढ्दै गए कर्मचारी थप गर्न सकिने अस्पतालले जनाएको छ । 
 
डायलाशिस सेवा 
 
टीकापुर अस्पतालले क्यान्सर पीडित विरामीलाई लक्षित गर्दै डायलासीस सेवा शुरु गर्ने योजना बनाएको छ । डायलासीसका लागि यस क्षेत्रका विरामीहरु खजुरा बाँके, कोहलपुर र धनगढी जाने गरेका छन् । 
 
संघीय स्वास्थ्य सेवा विभागबाट डायलासीस उपकरण प्राप्त भएलगत्तै सेवा सुचारु गर्ने अध्यक्ष सोडारीले बताए । ‘यस क्षेत्रका क्यान्सर पीडित विरामीलाई राहत पुगोस् भन्नका लागि हामीले यो सेवा सुचारु गर्ने योजना बनाएका हौं’ अध्यक्ष सोडारीले भने ‘विभागबाट मेसिनहरु आउने क्रममा रहेका छन्, आए लगत्तै हामी यो सेवा सुचारु गर्छौं ।’
 
डायलासीस सेवाका लागि अस्पतालले जनशक्ति तयार गर्न दुई जना कर्मचारीलाई भक्तपुर क्यान्सर अस्पताल र वीर अस्पतालमा तालिममा पठाएको छ ।
 
मासिक १५० बढीको अप्रेसन 
 
अस्पतालले आगामी दिनमा ल्याबको स्तरोन्नति गर्ने योजना बनाएको छ । अस्पतालमा माइक्रोबाइलोजी ल्याब सञ्चालन गर्ने, ल्याप्रोस्कोपी मेसिन थप गर्ने, हाडजोर्नीका लागि आर्थोस्कोपी मेसिन थप गर्ने योजना बनाएको छ । सहयोगी संस्था कोइकाको आर्थिक सहयोगमा थप जनशक्ति र उपकरण थप्ने योजना रहेको अध्यक्ष सोडारीले बताए । 
 
मासिक १ शय ५० भन्दा बढी बिरामीले अप्रेसन सेवा लिइरहेको अस्पतालमा शैयाको अभाव छ । प्रदेश सरकारसँगको सहकार्यमा अस्पताललाई तत्काल एक शय शैया र आगामी दिनमा २ शय शैयाको बनाउन पहल भइरहेको अध्यक्ष सोडारीले बताए । ‘दैनिक रुपमा मेजर र माइनर गरी अप्रेसनहरु भइरहेका छन्’ अध्यक्ष सोडारीले भने ‘बेडको अभावमा कतिपय विरामीलाई भर्ना गर्न नसकिने अवस्था छ, त्यसकारण प्रदेश सरकारसँग एक शय शैयाका लागि पहल गरिरहेका छौं ।’ 
 
कैलालीको पूर्वी क्षेत्रका टीकापुर, लम्कीचुहा, जानकी, भजनी, जोशीपुर, मोहन्याल पश्चिम बर्दियाको राजापुर र गेरुवा गाउँपालिकाको मुख्य स्वास्थ्य सेवा केन्द्रका रुपमा रहेको छ । स्वास्थ्य सेवामा वृद्धि भएसँगै अस्पतालको शैया बढाउन आवश्यक छ । 
प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  ११:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update