Hamro Patra
नेपालले जोगायो एक दिवसीय मान्यता

टीकापुर, फागुन २८

यूएईमाथि १७७ रनको जितसँगै नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाएको छ । साथै आईसीसी विश्वकप क्रिकेट लिग टू का बाँकी २ खेल जिते सिधै विश्वकप छनोटमा पुग्ने संभावना पनि कायम राखेको छ । यूएईको हारसँगै अमेरिकाको ओडीआई मान्यता जोगिएको छ ।

जारी शृखंलामा लगातार दोस्रो जितपछि नेपालले अमेरिकालाई पनि पछि पारेको छ । नेपालले सात राष्ट्र सहभागी लिग टू मा चौथो स्थान पक्का गरिसकेको छ र बाँकी दुई खेल जितेमा नेपाल शीर्ष तीनमा रहँदै विश्वकप क्वालिफायरमा छनोट हुनेछ ।

Khadga Memorial And Janajagriti

आईसीसी विश्वकप क्रिकेट लिग टूको आइतबारको खेल नेपाल र यूएई दुबैका लागि गर या मरको स्थितिमा थियो । टस जितेर पहिला बलिङ गरेको नेपालको ओपनिङ खराब रह्यो । तर मध्यक्रममा ब्याटरले आफ्नो जिम्मेवारी निभाउँदा नेपालले २४८ रनको सम्मानजनक योगफल खडा गरेको थियो ।

२४९ रनको लक्ष्य पछ्याएको यूएईलाई सुरुदेखि नै दबावमा राख्दै नेपाली स्पिनरहरुले घातक बलिङ गरे । यूएईका आयन अफजल खानले २९ रन बनाए ।

कीर्तिपुरस्थित टीयू मैदानमा खराब सुरुवात गरेको नेपालको इनिङ्स मिडल अर्डरले सम्हाले पनि नेपाली ब्याटर पूरै ५० ओभर ब्याटिङ टिक्न सकेनन् ।

कप्तान रोहित पौडेलले ओडीआईमा आठौं अर्धशतक प्रहार गर्ने क्रममा सर्वाधिक ७७ रन बनाए । ११२ बल खेलेका उनले ९ चौका हाने । आरिफ शेखले ४३ र गुलशन झाले ३७ रन जोडे । दीपेन्द्रले ३४ र भीम सार्कीले २९ रन जोडे ।

ओपनर आसिफ शेख खाता नखोली दोस्रो ओभरमा आउट भए । कुशल भुर्तेल ८ र कुशल मल्ल ९ रन बनाएर आउट भए । २२ रनमै ३ विकेट गुमाएको अवस्थामा रोहितले भीमसँग चौथो विकेटका लागि ५४ र आरिफ शेखसँग पाँचौ विकेटका लागि ८६ रनको साझेदारी गरे ।

भीमले ३७ बल खेल्दै ४ चौका मद्दतमा २९ रन बनाए । आरिफ शेखले ५२ बल खेल्दै ५ चौका मद्दतमा ४३ रन बनाए । रोहित ३८औं ओभरमा आउट भएपछि आरिफले गुल्शन झासँग मिलेर छैटौं विकेटका लागि ३० रनको साझेदारी गरे । आरिफ ४३औं ओभरमा आउट हुँदा नेपाल १९२(६ को अवस्थामा थियो । तर गुल्शन र दीपेन्द्रले आक्रामक ब्याटिङ गर्दै सातौं विकेटका लागि ४८ रनको साझेदारी गरे ।

४८औं ओभरमा आउट भएका गुल्शनले ३२ बल खेल्दै १ चौका र ३ छक्का मद्दतमा ३७ रन बनाए । त्यसपछि नेपालले लगातार विकेट गुमायो । सन्दीप लामिछाने २ रनमा आउट भए । दीपेन्द्रले १९ बल खेल्दै ३ चौका र २ छक्का मद्दतमा ३४ रन बनाए । सन्दीप र दीपेन्द्र ४९ औं ओभरमा आउट भए । सोमपाल कामी अन्तिम ओभरमा २ रनमा आउट भए ।

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  १५:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update