टीकापुर, २६ फागुन
मोहन्याल गाउँपालिका-७ राजकाँडामा पछिल्लो समय आन्तरिक पर्यटकको चाप बढ्न थालेको छ । चिसापानीदेखी पैदल यात्रा र लम्कीदेखी सडक मार्ग हुँदै आन्तरिक पर्यटक राजकाँडा पुग्न थालेका छन ।
चुरेको चुचुरोमा अवस्थित राजकाँडा निकै रमणीय छ । यहाँबाट दक्षिणतर्फ तराईको समथर भूभाग र उत्तरतर्फ चुरे पर्वत श्रृङ्खला देख्न सकिन्छ । उत्तरतर्फ नै धेरै पर सेताम्मे हिमाल पनि राजकाँडाबाट सहजै देख्न सकिन्छ ।
आँखैले देख्न सकिने भेरी र कणर्ाली नदीको दोभान । कणर्ाली नदीको पुल, बिहानीपखको सुर्योदय । जताततै हरियाली । राजकाँडाका यिनै कुराले पर्यटकलाई लोभ्याउने गरेको छ ।
स्थानीय मीनबहादुर बोहराले घुम्न आउनेको संख्या बढ्न थालेको बताए । उनले आन्तरिक पर्यटकको संख्या बढ्न थालेपछि गाउँमै होटल सञ्चालन गरेका छन । उनको होटलमा २०/२५ जना बास बस्न सक्छन । ‘घुम्न आउने मान्छेले भोगेको समस्यालाई मध्यनजर गरेर होटल सुरु गरेको हुँ’ उनले भने-‘नाफा कमाउने भन्दा पनि घुम्न आएको मान्छे दुःख पाएर फर्किन नपरोस् भन्ने हो ।’
राजकाँडा प्राकृतिक रुपमा मात्रै रमणीयछैन । यसको ऐतिहासिक महत्व पनि उत्तिकै छ । राजकाँडा कुनैबेलाको धुलीकोट राज्यको मुकाम हो । तत्कालिन धुलीकोट राज्यका अवशेषहरु राजकाँडामा भेट्न सकिन्छ ।
दरवारको भग्नावशेष प्रष्टै छ । त्यस वरपर पूराना ईट्टा देख्न सकिन्छ । ती ईट्टा अहिले पनि जस्ताको त्यस्तै छन । दरवार क्षेत्र स्थानीयले अतिक्रमण गरेका छन । टुँडिखेल, भैरवस्थान, देवीस्थान, देवल, रानीकुवा, ओखल, खजाने ओडार, हात्तिसार, निशाने ढुंगा, हात्तिढुंगा अहिले पनि देख्न सकिन्छ । दरवारसँग जोडिएका यी कुराहरु मासिदै गएका छन ।
वि.सं. २०२८ मा दैलेखबाट बसाई सरेर आएका ६२ वर्षका अमरसिँह बुढायुवावस्थासम्म पनि दरवारका धेरै कुरा देख्न पाएको बताउँछन । उनले अहिले भग्नावशेष बनेका थुप्रै भौतिक संरचना आफूले देखेको बताए । ‘दरवार थियो । त्यहाँ नजिकै मन्दिर पनि थियो । त्यस वरपर तामाका पैसा भेटिन्थे’ उनले भने-‘घरमा अभिभावकले नल्याउनु भन्थे ।’उनले धेरै कुरा संरक्षणको अभावमा मासिएको बताए ।
इतिहासविद प्रा.डा. राजाराम सुवेदीका अनुसार धुलीकोट राज्य वि.सं. १५९० मा स्थापना भएको हो । यस राज्यमा १२ गाउँ डाँडादरा, १२ बण्डाल, १२ मलवारा र ८ तप्पा रहेका थिए । भारतको मथुरा हरद्वारदेखी लखिमपुर जिल्लाको रानीगञ्ज र अमिलिया समेत यसै राज्यमा पर्दथे ।
सुवेदीले गरेको अध्ययन अनुसार धुलीकोट राज्यमा २६ जना राजाले राज्य गरेका थिए । ती मध्ये १६ जनाले नेपाल एकिकरण अघि राज्य गरेका थिए । वि.सं. १८४६ मा धुलीकोट राज्य नेपालमा विलय भएको थियो । कालु पाण्डेको नेतृत्वमा रहेको नेपाली सेनासँग सुर्खेतमा पराजित भएपछि धुलीकोट राज्य नेपालमा विलय भएको सुवेदीले उल्लेख गरेका छन ।
उनका अनुसार त्यसपछि पनि १० जना राजाले राज्य गरेका थिए । उनीहरु झण्डै एक शताब्दी भारतको लखिमपुरमा बसे । वि.सं. १९११-१२ मा भएको नेपाल-भोट युद्धमा धुलीकोटे राजाले नेपाललाई सघाए । त्यसपछि उनीहरु नेपाल बसोबास गर्न थालेका थिए । वि.सं. १९१७ मा अंग्रेजले हालको बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाई फिर्ता गरे । तत्कालिन जंगबहादुर राणाले यहाँ आवादी सुरु गरे । उनी बेलाबेलामा शिकारका लागि आउन थाले । वि.सं. १९१८ मा उनी शिकार खेल्न आएको बेला धुलीकोटे राजा कुलराजसिँह रायलाई निगरानीमा राखे । उनले राणाको सेवा सत्कार गरे । राणा रायको सेवा सत्कारबाट खुशी भए ।
वि.सं. १९२५ देखी लागु हुने गरी राणाले राजा रायलाई केही अधिकार प्रदान गर्दै धुलीकोटे राज्यको पुरानो भुभाग प्रदान गरे । उनले शासनकालमा धुलीकोटमा धेरै काम गरेको पाईन्छ । उनको शेष पछि छोरा जगतमानसिँह रायले शासन सम्हाले ।
धुलीकोट राज्यका प्रथम राजा प्रभात राय हुन भने अन्तिम राजा नरेन्द्र विक्रम राय हुन ।अन्तिम राजाले समेत धुलीकोट राज्यमा प्रशस्त काम गरेको पाईन्छ । उनकी दुई रानी थिईन । जेठी रानी चन्द्राकुमारीभारतको सिँघाईका राजाकी छोरी थिईन भने कान्छी रानी पद्मकुमारी भैरवनरसिँह राणाकी छोरी थिईन । उनीहरु दुवै रानीबाट सन्तान थिएन ।
उनी सन्तान सुख प्राप्त गर्नका लागि सिँघाईस्थित आफ्नै जेठानकी छोरीलाई तेस्रो रानीका रुपमा भित्र्याउने सोचमा थिए । काठमाण्डौंबाट सिँघाई जाने क्रममा हैजा लागेर राजाको निधन भयो ।
राजाको निधन पश्चात जेठी रानी सती गईन । कैलालीस्थित सत्तीको नामाकरण यही घटनाबाट भएको बताईन्छ । राज्यको बागडोर कान्छी रानी पद्मकुमारीले सम्हालिन ।धुलीकोटे राजा मौषम अनुसार कहिले काँही सत्तीमा समेत बसोबास गर्थे । त्यहाँ शिवालय छ । सत्तीस्थित शिवालय कहिले निर्माण भएको हो भन्ने एकिन छैन । तर त्यहाँ प्रयोग भएका ईट्टामा ‘१७०५ सम्वत्’ लेखिएको छ ।
रानी पद्मकुमारीले शिवालयको जिणर्ोद्वार गरिन । उनले ५० धार्नीको घण्ट चढाईन । त्यस्तै घण्ट धुलीकोटे चौतरियाहरुले गाइने काँडा भैरवनाथ कुलदेवतालाई चढाए । सुवेदीले लेखेका छन -‘सत्ती शिवालयको घण्ट र गाइने काँडाको घण्टको आवाज आपसमा सुनिन्थ्यो ।’
वि.सं. १९७५ मा रानी पद्मकुमारीले तत्कालिन राणालाई राज्य सुम्पिएकी थिईन । उनले सन्तान पनि नभएको, राजा परलोक भईसकेको, राजाका भाईहरु नभएकोले आफूलाई जीविकाको लागि वार्षिक ६ हजार रुपैयाँको माग गर्दै राज्य खारेजको माग गरेको बताईएको छ । तत्कालिन श्री ३ भीम शसशेरले रानीको माग सुनुवाई गरेका थिए । उनले नै धुलीकोट राज्यको दक्षिणतर्फको भुभागलाई आफ्नी श्रीमती र छोरानातीहरुलाई बिर्ता लेखाएको इतिहास छ ।
धुलीकोटे राजाले आफ्ना भाईहरुलाई लखिमपुर, रानीगञ्ज, मोहना, तिकुनीया, इमिलियासम्म अंशबण्डा गरिदिएका थिए । उनीहरुको बसोबास भने गाइनेकाँडामा थियो । उनीहरुका सन्तान हाल बर्दियाको विभिन्न ठाउँमा बसोबास गर्ने गरेको पाईन्छ ।
चौतरियाहरुले केही नपाएको भन्दै व्रिदोह गरे । चौतरिया रणविक्रमसिँह रायले केही लडाकु र हतियार लिएर दैलेख तहविल लुट्ने योजना बनाए । बडाहाकिमले थाहा पाए पछि उनको योजना विफल भयो । एकथरीले उनी लुकेर भागेको भनेका छन भने अर्कोथरीले उनलाई पक्राउ पछि पट्के कागज गराएर छोडिएको थियो ।
वि.सं. १९९१ तिर रानी पद्मकुमारीले बर्दियाको भौँरा तप्पा, लखिमपुर, अमिलिया र रानीगञ्जको केही जमिन पूजारीलाई मटिदान बिर्ता दिएपछि चौतरियाहरु रिसाएका थिए ।चौतरियाका सन्तान रणविक्रम शाहले ‘नेपालमा न्याय मिल्दैन’ भनेर इलाहावाद उच्च न्यायालयमा मुद्दा दायर गरे । सो न्यायालयले ई. १९५७-५८ मा ‘हिन्दुविधि अनुसार विधवारानीले आफ्ना खुशीले बिर्ताएको जमिन भाइअंशबाट टुटाई अन्यत्र गर्न नपाईने’ फैसला गरिदियो । तर सो फैसला हुँदा अमिलिया, रानीगञ्ज, लखिमपुर र त्रिकोलियाको जमिन भारतीय उत्तर प्रदेशमा जमिन्दारी प्रथा उन्मुलन गर्ने कानून पारित गरेकाले उनीहरुले हकदावी गर्न नपाउने भए ।
उनीहरु राणा विद्रोहमा लागे । वि.सं. २००७ सालमा प्रजातन्त्र आयो । उनीहरुले सर्वोच्च अदालतमा मुद्दा हाले । खड्गविक्रम शाहले वि.सं. २००८ मा तत्कालिन प्रधानमन्त्री मातृका प्रसाद कोइरालालाई भेटेर कुरा राखे । उनले जमिन्दारी प्रथाका साथै बिर्ता समेत उन्मुलन गर्ने नीति लिएको बताए पछि शाहले तारिख छोडि दिए ।
ऐतिहासिक महत्व बोकेको राजकाँडाको संरक्षणमा कसैको ध्यान जान सकेको छैन । मोहन्याल गाउँपालिकाले यसको ऐतिहासिक महत्वका बारेमा कुनै पहल गरेको पाईएको छैन । विगत पाँच वर्षको अवधिमा समेत स्थानीय सरकारले कुनै काम गर्न नसकेको स्थानीयको गुनासो छ ।
गाउँपालिका उपाध्यक्ष कमल साउँद राजकाँडाको ऐतिहासिक महत्व उजागार गर्ने कार्यमा ध्यान केन्द्रित गर्ने बताउँछन । उनले पालिकाले आफूले नसकेको काममा अन्य निकायको समेत सहयोग लिएर राजकाँडाको ऐतिहासिक महत्व संरक्षण गरिने बताए । ‘विगतमा भयो भएन भन्दा पनि अब हामीले गरेर देखाउने हो’ उनले भने-‘यसको ऐतिहासिक पक्षको अध्ययन अनुसन्धान हुन्छ ।’