Hamro Patra
रानी जमरा कुलरीया सिँचाइ आयोजना नहरको पानी पुनः नदीमै फालियो


योगेश रावल
टीकापुर, साउन ५
रानी जमरा कुलरीया सिँचाइ आयोजनाले प्रारम्भिक परिक्षणका क्रममा नहरमा बगाएको पानी पुनः कर्णाली नदीमै फालेको छ । चिसापानीबाट साढे पाँच किलोमिटर पश्चिमस्थित बल्चौर धार्मिकस्थल नजिक रहेको सेटलिङ बेसिङबाट पानी नदीमा फालेको हो ।

सेटलिङ बेसिङबाट पश्चिमतर्फ नहर निर्माणको काम सम्पन्न नभएका कारण पानी नदीमा फाल्नु परेको आयोजनाले जनाएको छ । आयोजनाले नदीमा फालेको पानी परम्परागत रुपमा सञ्चालन भैरहेका रानी, जमरा र कुलरीया कुलामा बगिरहेको छ ।

वर्षाका कारण कर्णाली नदीमा पानीको सतह बढेकाले ती कुलाहरुमा अहिले पानीको मात्रा अत्याधिक रहेको छ । त्यसैमाथि आयोजनाले नहरको पानी समेत मिसाएपछि ती कुलाहरुमा पानीको सतह झन बढेको छ । यसले किसानलाई खेतीपाती सिँचाइ गर्न सहज हुने नभई झन बाढीको सामना गर्नुपर्ने त्रास देखिएको छ ।
‘अहिले यो पानीको कुनै आवश्यकता छैन यसले किसानलाई फाइदा हैन झन अफ्ठ्यारो पार्ने देखिन्छ’ रानी जमरा कुलरीया मूल कुला समितिका उपाध्यक्ष दामोदर खड्काले भने –‘नहरमा पानी सञ्चालन भएर खुशी हुनुपर्ने अवस्था छैन ।’

Khadga Memorial And Janajagriti

एकातिर आयोजनाले नहरको पानी नदीमा फालेको छ भने अर्कोतिर रानी कुलाको परम्परागत मुहान मालझुलबाटै अत्याधिक पानी आईरहेको छ । उल्टै कुलामा बढी भएको पानी टीकापुर नगरपालिका–२ स्थित वाइपास नहरबाट पुनः कर्णाली नदीमा फाल्नु परेको छ । उता जमरा र कुलरीया कुलामा समेत पानीको सतह बढेपछि परम्परागत मुहानमा रोक्नुपरेको स्थानीयले बताएका छन ।
आयोजनाले विद्युतगृह र नहर निर्माणको काम समयमा सम्पन्न नभएका कारण समस्या भएको बताएको छ । आयोजनाको नहरसँगै जानकी गाउँपालिका–९ कटासे नजिकै ४ दशमलव ७ मेगाहर्ज क्षमताको विद्युतगृह निर्माण भैरहेको छ । बल्चौरस्थित सेटलिङ बेसिङबाटबाट पश्चिम डुँडेझारीसम्मको झण्डै ३ किलोमिटर नहर निर्माणको काम समेत अझै अधुरो छ । ‘वर्षाको माटो भत्किने डरले नहरको केही ठाउँमा निर्माण रोकिएको छ’ स्रोतले भन्यो –‘नहर पूर्ण रुपमा निर्माण हुन अझै समय लाग्छ ।’

अहिले नदीमा फालेको पानीले तत्काल किसानलाई लाभ नदिएपनि हिँउदयाममा भने फाइदा पुग्ने आयोजनाले दावी गरेको छ । अहिले सो ठाउँमा प्रयाप्त पानी बगिरहेको भएपनि हिँउदयाममा भने सुख्खा हुने गर्छ । यस्तो अवस्थामा किसानले देशावर गएर कर्णाली नदीबाट कुला खनेर पानी ल्याउनु पर्छ । ‘सेटलिङ बेसिङबाट फालेको पानीले किसानलाई कुला खन्नुपर्ने वाध्यता हट्छ’ आयोजना प्रमुख मधुकर रानाले भने –‘अहिले यो पानीको त्यत्ति महत्व नहुन सक्छ । तर हिँउदयाममा भने यो पानी किसानका खेतमा सहजै पुग्नेछ ।’

उनले विद्युतगृह र नहर निर्माणको काम चाँडै सम्पन्न गरेर किसानका खेतमा सिँचाइ सुविधा पुर्याउन आयोजना लागिपरेको बताए ।

आयोेजनाले लम्कीचुहा नगरपालिका–३ चिसापानीस्थित मुल इन्टेकका १४ मध्ये ३ वटा ढोका खोलेको छ । ती ढोकाबाट कर्णाली नदीको पानी नहरमा प्रवेश गरेको छ । तत्काल परिक्षणका क्रममा थोरै पानी नहरमा बगाएको भएपनि नहरको क्षमता १ सय क्यूमेक पानी सञ्चालन रहेको आयोजनाले जनाएको छ ।

आयोजना पूर्ण रुपमा सञ्चालनमा आएपछि नहरमा बगेको १ सय क्यूमेक पानी मध्ये २० हजार क्यूमेक सेटलिङ बेसिङबाट पुनः नदीमा फालिनेछ । जसले नहरमा पानीसँगै बग्दै आएको बालुवालाई छानेर नदीमा फाल्नेछ । नहरमा बगेको बाँकी ८० हजार क्यूमेक मध्ये ४० हजार रानी, जमरा र कुलरीया कुला तथा ४० हजार लम्की शाखा नहरमा बग्नेछ । जसले रानी, जमरा र कुलरीया कुला अन्र्तगतको १४ हजार ३०० हेक्टर र लम्की शाखा नहर अन्र्तगतको ६ हजार हेक्टर भूभागमा सिँचाइ सेवा पुर्याउनेछ । लम्की शाखा नहरको पानी भविष्यमा मध्यवर्ती क्षेत्र पहलमानपुर नजिकको कान्द्रा नदीसम्म पु¥याउने आयोजनाको लक्ष्य छ । यो आयोजना विश्व बैंक, नेपाल सरकार र जनश्रमदान गरी कुल २७ अर्बको लागतमा निर्माण भैरहेको छ ।

 

 

प्रकाशित मिति: आइतबार, साउन ५, २०७६  ०८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update