Hamro Patra
राजकाँडाको चुरे वनमा सब डिभिजनको निगरानी

टीकापुर, फागुन १६

कैलालीको पूर्वी पहाडी मोहन्याल गाउँपालिकाको चुरे क्षेत्रमा व्यापक वन फडानी भइरहेको समाचार प्रकाशित भएपछि चिसापानी वन सव-डिभिजन कार्यालयले चिसापानीले राजकाँडामा निगरानी बढाएको छ ।

मोहन्याल गाउँपालिका वडा नं. ७ को राजकाँडामा पर्ने चुरे वन क्षेत्रमा व्यापक वन फडानी भइरहेको समाचार हाम्रोपत्र डटकममा प्रकाशित भएपछि वनले सो क्षेत्रमा निगरानी बढाएको हो ।

Tikapur Hospital

वन डिभिजन कार्यालय पहलवानपुरले सो क्षेत्रमा भइरहेको वन फडानीको अनुसन्धानका लागि चिसापानी सव डिभिजन कार्यालयका प्रमुख पूणर्कुमार विष्टलाई अनुसन्धान अधिकृत तोकेको छ ।

वन सव-डिभिजन कार्यालय चिसापानीबाट हतियारसहित ९ जनाको टोलीले राजकाँडा क्षेत्रमा स्थलगत अध्ययन गरेको छ । विष्टको नेतृत्वमा गएको टोलीले राजकाँडाका विभिन्न क्षेत्रका वन फडानी र वनको जग्गा अतिक्रमण भएको फेला पारेको हो ।

‘हामीले सबै ठाउँमा हेर्न त पाएनौं, राजकाँडाका केही क्षेत्रमा हेर्दा वन फडानी भएको देखिन्छ, रुख काटिएको अवस्थामा केही ठुटाहरु देखिन्छन्’ विष्टले भने ‘वन क्षेत्रको जग्गा कब्जा गर्न तारबार लगाइएको थियो, त्यो हामीले भत्काएका छौं ।’

राष्ट्रिय वन अन्तर्गत पर्ने राजकाँडाको वनमा अतिक्रमणकारीले रुखहरु कटानी गरी खाली रहेको जग्गामा काँडेतार लगाएर कब्जा गरेका छन् । ‘प्रारम्भिक स्थलगत अनुसन्धान शुरु गरेर त्यहाँको वस्तुस्थितिबारे जिल्लामा मुचुल्का प्रतिवेदन बुझाएपछि मलाई नै अनुसन्धान अधिकृत तोकिएको छ’ विष्टले भने ‘सर्जिमिन मुचुल्का बनाउँदा समेत स्थानीयले कसले जग्गा अतिक्रमण गरेको र रुख काटेको हो भन्ने विषय थाहा नभएको भनेका छन् ।’

विष्टले घटनास्थलमा अतिक्रमण र वन फडानी नियन्त्रणका लागि रुख कटानीमा संलग्नहरुको व्यापक खोजी भइरहेको बताए । ‘हामी सुक्ष्म रुपमा रुख कटानीमा संलग्नहरुको बारेमा अनुसन्धान गरिरहेका छौं, रुख कटानीमा संलग्न र अतिक्रमणकारीलाई वन कानुन अनुसार कारवाही गर्छौं’ विष्टले भने ‘अतिक्रमण गरेर रुख कटानी भइरहेको देखिएपछि हामीले वनको हतियारधारी टोलीसहित गस्ती समेत शुरु गरिसकेका छौं ।’

बाइसे चौबिसे राज्य मध्येको धुलिकोट राज्यको मुकाम राजकाँडामा वि.सं. १५९३ देखि झण्डै ४ शय ५० वर्ष धुलिकोटे राजाले शासन गरेको ऐतिहासिक क्षेत्र समेत हो । राजकाँडामा ऐतिहासिक धुलिकोट दरबार, टुँडिखेल, कोतखाना, खजाने ओडार, श्री मालिका मन्दिर, रानीको नुहाउने कुवा लगायतका अवशेषहरु रहेका छन् ।

तराईसँग जोडिएको कैलालीबाट अपी, सैपाल हिमाल, काञ्जिरवा हिमाल, ओमपर्वतदेखिका हिमश्रृंखला हेर्न सकिने राजकाँडा सुर्योदयका लागि प्रख्यात छ ।

सूर्योदयको सुन्दर दृश्य हेर्न र ऐतिहासिक दरबार रहेको क्षेत्र राजकाँडामा केबलकार निर्माण हुने चर्चा चलेसँगै चुरे वन क्षेत्रमा व्यापक वन फडानी भइरहेको हो ।

व्यवसायी चन्द्र ढकाल नेतृत्वको जालपादेवी केबलकार प्रा.लि.ले राजकाँडामा केबलकार निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन गरिरहँदा सो क्षेत्रमा व्यापक वन फडानी भइरहेको थियो ।

‘यहाँका स्थानीयहरुलाई प्रयोग गरेर तराई क्षेत्रका केही व्यवसायीहरुले रुखहरु कटान गर्न लगाएका हुनसक्छन्’ एक स्थानीयले भने ‘राजनीतिक र प्रशासनिक पहुँचको भरमा ऐतिहासिक दरबार क्षेत्रमा रहेको वन विनाश गर्ने गरी कटानी भइरहेको छ, चिसापानीबाट वनको टोली आएर दुई कठ्ठामा लगाएको तारबार भत्काएर फर्कियो ।’

उनले चुरे क्षेत्रको वन वातावरणीय दृष्टिकोणले निकै महत्वपूणर् हुने बताउँदै यसको संरक्षणका लागि वन र स्थानीय तहले ध्यान दिनुपर्ने बताए । ‘यो त पर्यावरणीय दृष्टिकोणले समेत महत्वपूणर् क्षेत्र वन हो, पछिल्ला दुई वर्षमा सयौंको संख्यामा रुखहरु काटिएका छन्’ उनले भने ‘कतिपय राजनीतिक दलका नेता, तराई क्षेत्रका व्यवसायी व्यापारीहरुको संलग्नतामा कटानी भइरहेको हो, यहाँका काठ राति राति तराई क्षेत्रमा जाने गरेको थियो ।’

ऐतिहासिक महत्व रहेको चुरे वन क्षेत्रमा पर्ने राजकाँडामा वन फडानी रोक्नेतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्ने स्थानीयहरु बताउँछन् । सो क्षेत्रमा वन फडानी भइरहँदा पुरातात्विक महत्वको धुलिकोट दरबार क्षेत्रका भग्नावशेष समेत जोखिम पर्ने देखिन्छ ।

प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९  ०९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update