Hamro Patra
मन्त्रीको गफ र आयोजनाको वास्तविकता

योगेश रावल
रानी जमरा कुलरीया सिँचाई आयोजनाका प्रमुख मधुकर रानाले मंगलवार (असार ३१) साँझतिर कल गरेर इन्टेकबाट नहरमा पानी बगाएको जानकारी दिए । यो सिँचाइ आयोजनाको महत्वपूर्ण उपलब्धी हो । यो कुरा समाचारमा आउन जरुरी थियो ।

उनले भनेकै आधारमा समाचार लेख्न मनले मानेन । टीकापुरबाट चिसापानी पुगेर स्थलगत रिपोर्टिङ पश्चात समाचार लेख्न समय थिएन । साँझ ढिलो भैसकेकाले भोलि स्थलगत बुझेर समाचार लेख्ने भन्दै संवाद टुङ्ग्याए ।

भोलिपल्ट बिहान (साउन १) पत्रिका हेर्दा आयोजनाको बारेमा ठूलै समाचार भेटे । सरकारी सञ्चारमाध्यम राससको समाचार साभार गरिएको थियो । जसमा सिँचाइ मन्त्री वर्षमान पुनले मन्त्रालयमा पत्रकार सम्मेलन गरेछन । उनले यसलाई सरकारको ठूलै उपलब्धी भनेका थिए । उनले सिँचाइ आयोजनाको नहरबाट किसानका खेतमा पानी पुगेको बताएका थिए । मनसुनको समयमा समेत आकाशे पानीको भर पर्ने यस क्षेत्रका किसान नहरबाट खेतमा पानी पुगेपछि निकै खुशी भएको कुरा समाचारमा थियो ।

CMA Staff

मन्त्रीको कुराले मनमा कौतुहलता जन्मायो । पत्रकार परमानन्द पाण्डेय र म स्थलगत रिपोर्टिङका लागि चिसापानी हिँड्यौ । हामी जगतपुर गाउँ कटेर जब नहरको छेउमा पुग्यौं रानी कुलातर्फ जाने नहरमा पानी बगिरहेको थियो । यो नहर सिँचाइले रानी कुलामा पानी मिसाउनका लागि निर्माण गरेको हो । मैले सोचे मन्त्रीले भनेको कुरा साँचो रहेछ । जब हामी पूर्वखैरीफाँटास्थित जमरा कुला र रानी कुलामा पानी मिसाउन निर्माण भएको नहर छुट्टिने ठाउँनेर पुग्यौं मन्त्रीले भनेका सबै कुरा हावा गफ लागे । जमरा कुलामा परम्परागत रुपमै कर्णाली नदीको भङ्गालोबाट पानी आईरहेको थियो । जमरा कुलामा बढी भएको पानी सिँचाइ आयोजनाको सिस्टमबाट नै नयाँ निर्माण भएको नहरमा फालिएको रहेछ ।

हामी जब कटाँसे नजिक पुग्यौं । जहाँ कुलरीया कुलामा समेत परम्परागत ढंगले नै पानी बगिरहेको थियो । अझ अचम्मको कुरा सिँचाइले रानी, जमरा र कुलरीया कुलामा पानी फाल्नका लागि निर्माण गरिरहेको नहरको काम अधुरै देखियो । त्योसँगै रहेको नहरको पानीबाट बिजुली उत्पादन गर्ने विद्युत गृहको काम समेत जहाँको त्यही छ । खाल्डो खनेर फाउण्डेसनको काम गतवर्ष सम्पन्न भएको थियो । त्यो भन्दा माथि काम भएको छैन । त्यहाँ वाइपास नहर निर्माणको त रेखाङ्कन समेत भैसकेको छैन । विद्युत गृह कुनै कारणले बन्द गर्नुपर्ने अवस्था आयो भने नहरको पानीलाई नियमित अघि बढाउन वाइपास नहर निर्माण गरिने कुरा यसअघिका आयोजना प्रमुख सुशीलचन्द्र आचार्यले बताएका थिए ।

चिसापानीस्थित मुल इन्टेकबाट आएको १०० क्यूमेक मध्ये ८० क्यूमेक पानी साढे ८ किलोमिटर टाढा रहेको डुँडेझारीमा पुगेर बाँडिनेछ । २० क्यूमेक पानी ‘सेटलिङ बेसिङ’ (नहरको बालुवा झार्नका लागि बनाएको संरचना) मार्फत पुनः नदीमै खस्नेछ । डुँडेझारी पुगेको कुल पानीको आधा रानी, जमरा र कुलरीया कुलामा मिसाउन दक्षिणतर्फको नहरमा बग्नेछ भने आधा पानी निर्माण भैरहेको लम्की शाखा नहरमा बगाईनेछ । जुन शाखा नहरले अहिले परम्परागत रुपमा सिँचाइ भैरहेको १४ हजार हेक्टर भन्दा बाहेकको ६ हजार हेक्टर भूभागमा सिँचाइ सुविधा पु¥याउनेछ । लम्की शाखा नहरको पानी भविष्यमा मध्यवर्ती क्षेत्र पहलमानपुर नजिकको कान्द्रा नदीसम्म पु¥याउने आयोजनाको लक्ष्य छ ।
दुईवटा नहर छुट्टिने ठाउँको निर्माण कार्य अहिले पनि अस्तव्यस्त नै छ । त्यहाँदेखी इन्टेकसम्मको नहर निर्माणको काम समेत अझै पूर्ण भैसकेको छैन । यस्तो अवस्थामा नहरबाट किसानका खेतमा पानी पु¥याएको मन्त्रीको भनाई हास्यास्पद नै लाग्छ ।

यो परम्परागत कुलो प्रणाली हो । यहाँका बासिन्दा हरेक वर्ष देशावर मार्फत कुलो खन्ने गर्छन । जुन कुलो मार्फत कर्णाली नदीको पानी किसानको खेतमा पुग्छ । देशावारमा दश हजार भन्दा बढी मानिसको सहभागिता रहन्छ । यो दक्षिण एशियाको सबैभन्दा ठूलो जनश्रमदान मानिन्छ । धेरै ठूलो जनमासले जनश्रमदान मार्फत गर्ने काम भएकाले विश्व बैंकले सहयोग गरेको हो । विश्व बैंक, नेपाल सरकार र जनश्रमदान गरी कुल २७ अर्बको लागतमा सिँचाइ आयोजनाको काम भैरहेको छ ।

कर्णाली पुल नजिकै मुख्य इन्टेक निर्माण भएको छ । यसका १४ वटा ढोका छन । जुन ढोकाबाट नदीको पानी भण्डारणस्थलमा प्रवेश गर्नेछ । भण्डारणस्थल र नहरकाबीचमा अर्को इन्टेक अर्थात हेड रेगुलेटर छ । जहाँ ८ वटा ढोका छन । जुन ढोकाबाट पानी नहरमा प्रवेश गर्नेछ । दुवै इन्टेकका ढोका ‘सेन्सर’ जडित रहनेछन । नहरमा पानीको सतह एकनास बनाउन ‘सेन्सर’ ले ढोकालाई तलमाथि धकेल्नेछ ।

अहिले आयोजनाले इन्टेकमा ‘सेन्सर’ सहितको उपकरण जडान गरिरहेको छ । जुन ‘सेन्सर’ आठ वटा ढोका रहेको दोस्रो इन्टेकका ३ वटा ढोकामा जडान भैसकेको छ । ती ३ वटा ढोकामा ‘सेन्सर’ जडान भएपछि आयोजनाले परिक्षण गरेको छ । परिक्षण गरेको कुरालाई मन्त्रीले नहरबाट किसानका खेतमा सिँचाइ पुगेको दावा गरेपछि हामीले झुठो भएको समाचार लेख्यौं । हाम्रो समाचारले मन्त्रीलाई नैतिक समस्या पर्यो । उनले नहरको ढोका खोल्न आयोजनालाई दवाव दिए । अहिले मुख्य इन्टेकको ३ वटा ढोका खोलिएका छन ।

नहरमा पानी बगाईएको छ । सो पानी साढे पाँच किलोमिटर पश्चिममा रहेको ‘सेटलिङ बेसिङ’ बाट पुनः नदीमै फालिएको छ । किनकी त्यो भन्दा अघि नहर निर्माणको काम अलपत्र छ । यस्तो अवस्थामा नहरबाट किसानका खेतमा पानी पुगेको हावादारी गफ दिनु कत्तिको उचित हुन्छ ?

यतिबेला कर्णाली नदीमा पानीको मात्रा निकै धेरै छ । जसका कारण नदीको पश्चिमतर्फको भङ्गालोमा प्रयाप्त पानी बगिरहेको छ । सोही भङ्गालोमा बगेको पानी रानी, जमरा र कुलरीया कुलोमा पुगेको छ । यही पानीले नै किसानका खेत सिञ्चित गरिरहेको छ । न कि मन्त्रीले भने झैं सिँचाइ आयोजनाको नहरमा बगेको पानीले किसानका खेत सिञ्चित गरेको हो । आयोजनाले नहर र विद्युत गृह निर्माणको काम सम्पन्न नगरी तत्काल इन्टेकबाट पानी बगाएर ‘सेटलिङ बेसिङ’ हुँदै भङ्गालोमा झार्नुको कुनै अर्थ छैन । सो भङ्गालोमा अहिले पनि प्रयाप्त पानी बगिरहेको छ ।

प्रकाशित मिति: शनिबार, साउन ४, २०७६  १५:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update