वेदप्रकाश तिमिल्सैना
साेमबार, फागुन १५
मैले पहिलोपटक देखेको शहर हो, टीकापुर । तीन वर्षको उमेरमा म पहिलोपटक पुगेको थिएँ । सुकिला अनौठा घरहरू र हात्ती पनि पहिलोपटक टीकापुरमै देखेँ । त्यसयता धेरैपटक टीकापुर पुगेको छु । पश्चिम नेपालमा टीकापुर शहरको चर्चा भइरहन्थ्यो ।
राजा महेन्द्रले आरोग्यता प्राप्त गरेपछि मुर्धन्य राजनितीज्ञ खडकबहादुर सिंहले बसाएको शहरका रूपमा यसलाई मानिसहरू चर्चा गरिरहन्छन् । महेन्द्रकै नाममा निर्मित पार्क झन् लोकप्रिय छ । मलाई पनि कसोकसो यो शहरप्रति मेरो भावनात्मक सम्बन्ध भएजस्तो लाग्छ । टीकापुर पुग्दा छुट्टै अनुभूति हुन्छ । यो भूमिको मलाई माया लाग्छ । त्यसको अर्को पनि कारण छ । हामी अछामीका लागि तराई हो, मलबार अर्थात् पूर्वी कैलाली । टीकापुर मलबार अर्थात् पुर्वी कैलालीको केन्द्र । त्यसैले पनि मलबार र मलबारको प्रमुख केन्द्रका रूपमा टीकापुर परिचित हुने नै भयो ।
नाता सम्बन्धको सञ्जालले पनि हुन सक्छ, अछामीलाई नजिकबाट टीकापुरसँग जोडेको छ । कुरा अछाम र टीकापुरको साइनोसम्म सीमित छैन, मैले पढेको अनि मैले पत्रकारिता सुरु गरेको शहर नेपालगञ्जको पनि टीकापुरसँग सुमधुर सम्बन्ध छ । त्यसैले मेरो अछाम– नेपालगञ्ज–टीकापुर ओहोरदोहोर चलिरहन्छ । अछामबाट नेपालगञ्जहुँदै टीकापुर पुगिरहेको हुन्छु ।
यसपटक टीकापुर जाँदा भने मेरा दुई प्राथमिकता थिए । पहिलो, शिवरात्रिमा सत्तीस्थित श्री पद्म प्रकाशेश्वर महादेवको मन्दिरमा पूजापाठ गर्ने । दोस्रोमा, मेरो गहिरो अभिरुचि रहेको धुलिकोट राज्य र तत्कालीन धुलिकोट राज्यमा पर्ने भित्री बण्डालको कुइने, घाटगाउँ, त्रिवेणीधाम, वणिगाउँ र सोल्टा घुमघाम । अनि त्यसपछि मात्रै तेस्रोमा निजी काम गर्ने भनेर टीकापुरतिर लागेँ ।
केही वर्षदेखि म सक्रिय पत्रकारिताबाट अलग छु । तर, समाजसँग उसैगरी जोडिएको छु राजनीतिमार्फत । मेरो धेरै संगत भने पत्रकारसँगै हुन्छ । त्यसैले टीकापुर पुग्नै लाग्दा मेरानजिकका मित्र पत्रकारत्रय योगेश रावल, परमान्द पाण्डे र युवराज न्यौपानेलाई ई–फोन लगाएँ । फोनमै सल्लाह भयो– शिवरात्रिमा सत्तीस्थित शिवालयमा पूजा गर्ने र अर्को दिन धुलिकोट पुग्ने । अनि, अर्को दिन भेटेर थप सल्लाह गर्ने कुरा भयो । छिटो निर्णय लिने र अडानमा पक्का योगेशजीले हुन्छ भनेर समर्थन गरेपछि यसमा थप छलफलको आवश्यकता नै रहेन । महाशिवरात्रिमा सत्तीमा पूजापाठ गरेपछि फागुन ७ गते प्रजातन्त्र दिवसको दिन धुलिकोट जाने निधो गरियो ।
सल्लाहअनुसार केही साथीहरूले पनि असमर्थता जनाए । योगेशजी र मसँग लम्कीबाट पत्रकार युवराज, इन्द्र देवकोटा धुलिकोट जाने निश्चित भयो । पैदल मार्ग र सडक मार्गमध्ये हाम्रो रोजाइमा सडक मार्ग पर्यो । कर्णाली चिसापानीदेखि पक्की ट्रायल बाटोबाट जाँदा करिब ३ घण्टामा सहजै बास बस्ने गन्तव्यमा राजकाडा पुग्न सकिन्छ । तर, अलि छिटो आउजाउका लागि हामी पैदलमार्गको विकल्पमा यता लम्कीदेखि आमपानी भएर मोटरसाइकलमा धुलो उडाउँदै उकालो लाग्यौँ ।
मैले पढेको अनि सुनेको धुलिकोट सुन्दर थियो । तर, वास्तविक कस्तो होला भन्ने कौतुहलताका साथ यात्रामा निस्केको थिएँ । यात्रामा मेरो सारथि सधैँ मोटर साइकल हो । हिजो पत्रकारिता गर्दा होस् वा आज राजनीति र समाजसेवामा अनवरत रूपमा मोटर साइकलले साथ दिइरहेको छ ।
आहा ! पहाडी बुट्यान र घना चुरे जङ्गललाई दायाँबायाँ पारेर हल्का धुलो उडाउँदै मलबारदेखि बण्डालको बाटोमा बाइक गुडाउनुमा कम्ता आनन्द आएन । मैले मोटरसाइकलमा पन्ध्र वर्षयता साविकको मध्यपश्चिम र सुदूरपश्चिमका कठिन बाटाहरू पार गरेको छु । म अछाममा बस्ने भएर पनि होला, गाउँ बस्तीमा पुग्दा कठिनभन्दा पनि कठिन बाटाहरूसँग एकाकार भएको छु । तर, धुलिकोटको बाटो मैले बुझेभन्दा फरक पाएँ । युवराजजीले सुनाएका थिए, 'पहिले बाटो ठीक थिएन । कमल साउद जि गाउँपालिकामा आए पछि अहिले राम्रो भएकोछ ।' गफ गर्दै जाँदा मोहन्याल गाउँपालिका वडा नंं ७ मा रहेको धुलिकोट उपत्यका आएको पत्तै भएन ।
मध्यकालीन नेपालको बाइसे–चौबीसे राज्य धुलिकोटको मुकाममा पुगेर प्रत्यक्ष साङ्गोपाङ बुझ्न पाइने भयो भनेर मेरो मनले अद्वितीय र अनुपम अनुभूति गर्यो । स्थानीय व्यवसायी मीनबहादुर बोहराको होटलमा अर्ग्यानिक खाना खाएर हामी घुम्न निस्कियौँ । टुँडिखेल, दरबार क्षेत्र, मालिका मन्दिर, हात्तीढुंगा, शिव मन्दिर, खजाने ओढार, हात्तीसार, निशाने ढुंगा, रानीको नुहाउने कुवा, रानीपोखरी घुम्यौँ ।
संरक्षणको अभावम राजकाडामा ऐतिहासिक धुलिकोट दरबार, टुँडिखेल, कोतखाना, खजाने ओढार, श्री मालिका मन्दिर, रानीको नुहाउने कुवालगायतका भग्नावशेषहरू छन् । धुलिकोटबाट अपि, साइपाल हिमाल, काञ्जिरवा हिमाल, ओम पर्वतदेखिका हिमशृंखला हेर्न सकिन्छ । धुलिकोटको मालिका मन्दिर क्षेत्रबाट सूर्योदय धेरै राम्रो देखिन्छ । मालिकाबाट बडिमालिकाको चुचुरो प्रस्टसँग देख्न सकिन्छ । तराईका सुन्दर फाँट र सत्तीस्थित श्री पद्म प्रकाशेश्वर महादेवको मन्दिर प्रस्टसँग देखिन्छ ।
अहिले धुलिकोटको दरबार क्षेत्रको मुख्य भू–भाग नै अतिक्रमणमा परेको छ । कुनै बेला यहीँबाट उत्तरी तिब्बत (भोट) को नुन, ऊन, सुन र माल तथा मलबारको गुड, कपडा र तेल साट्ने हाटबजारसमेत थियो । धुलिकोट दरबारको जग आसपासमा त्यहाँ प्रयोग भएका इँटा छरिएको अवस्था छ । दरबार क्षेत्रको सेरोफेरोमा व्यापक वन फँडानी भइरहेको प्रत्यक्ष देखियो । त्यहाँबाट रातारात मलबार (तराई) मा काठ ओसारपसार भइरहेको पनि सुनियो ।
जङ्गलका पशुपन्छीको बासस्थान उजाड गरेर वन क्षेत्रमा टाठाबाठाले अतिक्रमण बढाएका छन् । त्यहाँको चुरे क्षेत्रमा सर्वदलीय दोहन भइरहेको छ । धुलिकोटमा पुरातात्त्विक सम्पदा र वनजङ्गल मात्र अतिक्रमणमा परेको छैन, जुतिसेलीनजिक जङ्गलमा रहेको इसाई मिसनरीले धर्म पनि अतिक्रमण गरिरहेको छ । खासगरी जुतिसेलीमा रहेको चर्चमा पन्ध्र–पन्ध्र दिनमा आउने विदेशीका गतिविधिप्रति स्थानीय प्रशासन बेखबर छ ।
पहिलो हेराइमा तराईबाट सबैभन्दा नजिकको सानो सुन्दर रहस्यमयी उपत्यकाको सौन्दर्यता मनमोहक छ । त्यहाँको वातानुकुलीय मौसम झन् गजब छ । फागुनदेखि कात्तिकसम्म तराईको गर्मी छल्न धेरै मानिस उकालो चढ्छन् । आजभोलि फाट्टफुट्ट मानिसहरू त्यहाँ पुगे पनि खास घुम्ने मौसम भने फागुन १५ गतेपछि हो ।
फोटो मात्रै खिचेर तराई झर्ने अधिकांशलाई त्यहाँको ऐतिहासिक र पर्यावरणीय महत्त्वबारे जानकारी नभएको पाइयो । त्यहाँ घुम्न जानेहरूका लागि कर्णाली चिसापानीमाथिको धुरी र बीचको सानो उपत्यकामा केवल गर्मी छल्ने माध्यमभन्दा अरु होइन । प्रचारप्रसारको अभावमा धेरैलाई धुलिकोटको ऐतिहासिक र पुरातात्त्विक महत्त्वको जानकारी छैन । एकाध मानिसहरू अलि गहिरो रुचि राखेर घुम्छन् । घुमघामपछि थाहा हुन्छ, रहस्यमयी उपत्यकाको अर्को पाटो । पुरातात्त्विक महत्त्वका सम्पदामाथिको संकटको संकेत थाहा पाइन्छ ।
कर्णाली चिसापानीदेखि धुलिकोटसम्म केबुलकारको डीपीआर बनाउने काम सुरु भएयताका दुई वर्षमा धुलिकोट उपत्यकाको सुन्दरता बिगार्ने काम सुरु भएको रे । कुराकानीका क्रममा स्थानीयले त्यसै भने । तपाईका भू–माफियाले नजर लगाएपछि चिसापानीमाथिको सुन्दर डाँडाको अस्तित्वमाथि संकटको बादल मडारिएको बुझ्न पाइयो ।
दुई वर्षयता केबुलकारको हल्लापछि धुलिकोटमा वन विनाश सुरु भएको हो । केबुलकारले डीपीआर स्वीकृत भएको चर्चासँगै वन विनाश बढेको छ । राजनीति र व्यवसायको खोल ओढेका माफियाहरूले मन्दिरको धार्मिक वनसमेत बाँकी राखेका छैनन् । धुलिकोटको प्रख्यात श्री मालिका मन्दिरआसपास धेरै रुख काटिएको देख्न सकिन्छ । पुरातात्त्विक महत्त्वको सम्पदामाथिको अतिक्रमणले धुलिकोटको मौलिक सुन्दरतामा क्षयीकरण सुरु भएको छ । धेरैपटक धेरै मानिसले मणि हराएको सर्पजस्तो भनेर उदाहरण दिएको सुनेको छु मैले । तर, धुलिकोट पुगेपछि आफ्नै आँखाअगाडि देखेँ, मणि हराएको सर्प कस्तो हुन्छ भनेर । पछिल्लो अव्यवस्था हेर्दा धुलिकोट मणि हराएको सर्पभन्दा कम छैन ।
बाइसे–चौबीसेमध्येको वैभवशाली विशाल धुलिकोट राज्यको मुकामको वर्षौंदेखि बेहाल छ । धुलिकोटको धुरीको तराईबाट सबैभन्दा कम दूरीमा छ । तर, बत्तीमुनिको अँध्यारोको हालत छ । १५९० सालतिर स्थापना भएको अछामको बलातादेखि सुर्खेत उपत्यकासम्म, अहिलेको बर्दिया, कैलाली र कञ्चनपुरको लालझाडी हुँदै हिन्दुस्तानको लखिमपुरसम्म फैलिएको धुलिकोट राज्यको पुरातात्त्विक सम्पदाको संरक्षण नुहुनु दुर्भाग्यपूर्ण हो ।
भोट र हिन्दुस्तानबीच ऊन, र नुनको व्यापारको माध्यम बनेको धुलिकोट सर्पले मणि खोजेजस्तै विगतको वैभव खोजिरहेको छ । धुलिकोट क्षेत्रमा रहेका पुरातात्त्विक महत्त्वका ऐतिहासिक सम्पदाका भग्नावशेषबाटै त्यसको विगत प्रस्ट हुन्छ । त्यहाँको भौगोलिक बनावटबाटै उतिबेलाको पर्यावरणीय अवस्थाको अनुमान लगाउन कठिन हुँदैन । बाइसे–चौबीसे राज्यका राजा–रजौटाले सिकार खेल्ने धुलिकोट राज्यको मुकाम राजकाडा क्षेत्र संरक्षणको अभावमा दयनीय अवस्थामा छ ।
धुलिकोटका अन्तिम राजा नरेन्द्रबहादुर रायको निधनपछि जेठी रानी चन्द्रकुमारी राजासँगै सती गइन् । त्यसैले धुलिकोटमा जंगबहादुर राणाले बनाएको रोलक्रमको २९औँ नम्बरका लेफ्टिनेन्ट कर्णेल भैरवनरसिंह कुँवर राणाकी छोरी कान्छी रानी पद्यकुमारीले शासन सम्हालेपछि पनि राम्रै अवस्था रहेको इतिहासकार डा राजाराम सुवेदी बताउँछन् ।
दुर्भाग्य यो छ कि, अहिलेसम्म त्यहाँको ऐतिहासिक पाटोको उजागर हुन सकेको छैन । सत्तीस्थित पद्यम प्रकाशेश्वर महादेवको मन्दिरको जीर्णोद्धार गर्ने, रानी कुलो खनाएर पूर्वी कैलालीमा कृषि क्रान्तिको सुरुवात गर्ने धुलिकोटकी अन्तिम शासक रानी पद्यकुमारीले १९७५ मा छाडेपछि ओझेलमा परेको धुलिकोट बौरिन सकेको छैन । धुलिकोटलाई केबुलकारले मात्रै पुग्दैन, यर्यावरणको संरक्षणसहितको धुलिकोटको पुरातात्त्विक संरचनाको उत्खनन गरेर जीर्णोद्धारपछि मात्रै तराईनजिकको चुरेको चुचुरो पूर्ण हुनेछ ।
धुलिकोटबारे स्थानीय वडा कार्यालयदेखि नजिकका सरोकारवालालाई चासो छैन । त्यहाँका बासिन्दामा जाँगरको अभाव छ । धुलिकोटसँग सरोकार राख्ने केही टाठाबाठाको ध्यान आफ्नो दुनो सोझ्याउनतर्फ मात्रै गएको पाइएको छ । पहिलेको स्थानीय सरकारदेखि अरु सरोकारवालाहरू त्यहाँको ऐतिहासिक सम्पदा र वनजंगलको संरक्षणमा उदासीन भएको प्रस्ट हुन्छ ।
मोहन्याल गाउँपालिकामा अध्यक्ष देविदत्त उपाध्याय र उपाध्यक्षमा कमल साउद आएपछि अहिलेको स्थानीय सरकार सँग धेरै आशा छ । विकासका लागि केबुलकार कम्पनीलाई खुला छुट दिने कुरामा स्थानीय सरकार सचेत हुनैपर्छ । स्थानीयले लाभ पाउने गरी धुलिकोटको पुरातात्त्विक महत्त्व जोगिने ग्यारेन्टीसहित केबुलकारका लागि काम अघि बढाइनुपर्छ । चिसापानी–राजकाडा केबुलकार बनेपछि धुलिकोटको डाँडामा चन्द्रागिरिजस्तो पर्यटकीय गन्तव्य बनाउनु उचित हुँदैन । चन्द्रागिरिजस्तै धुलिकोट पुगेर १ सय रुपैयाँ तिरेर एक बोतल पानी खाने जमाना आयो भने त्यो अभिशाप मात्र होइन, स्थानीयमाथि सिधै ठगी नै हुनेछ ।
(नेपाली कांग्रेस अछामका सहसचिव/प्रवक्ता रहिसकेका पूर्व पत्रकार तिमिल्सैना नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमिति सदस्य छन् । )