Hamro Patra
ऐलानी जग्गाको निस्सा बाँड्दै मोहन्याल

टीकापुर, फागुन १३

कैलालीको पूर्वी पहाडी मोहन्याल गाउँपालिकाले सातै वडाबाट ऐलानी जग्गाको निस्सा वितरण शुरु गरेको छ । गाउँपालिकाका ७ वटै वडाबाट स्थानीयले भोगचलन गर्दै आएको ऐलानी जग्गाको निस्सा वितरण शुरु गरेको हो ।

कैलालीको विकट गाउँपालिकाका रुपमा रहेको मोहन्यालको अधिकांश जग्गा ऐलानी छ । त्यहाँका स्थानीयहरु ऐलानी जग्गाको जग्गाधनी पुर्जा नहुँदा घरनक्सा पास, बैंकिङ्क कारोबार र बिक्री वितरण गर्न नपाउने जस्ता समस्या झेल्दै आएका थिए ।

Khadga Memorial And Janajagriti

गाउँपालिकाका उपाध्यक्ष कमल साउँदले राष्ट्रिय भूमि आयोगको अनुसूची २ बमोजिम वडा कार्यालयबाटै ऐलानी जग्गाको निस्सा वितरण शुरु गरिएको बताए । गाउँपालिकाले वडा कार्यालयमा भूमि आयोग र गाउँपालिकाको टोली परिचालित गरी निस्सा वितरण गरिरहेको छ ।

‘विकट पालिका भएको हुनाले यहाँका अधिकांश भू-भाग ऐलानीमा पर्छन्’ उपाध्यक्ष साउँदले भने ‘अनुसूचि २ को अनलाइन फर्म भरेपछि लगत आउँछ र निस्सा दिने गरेका छौं, यही निस्साको आधारमा नापी टोलीले जग्गा नापजाँच गरेर पूर्जा वितरण गर्छ ।’

उपाध्यक्ष साउँदका अनुसार गाउँपालिकाले जग्गा नापजाँचका लागि वडा नं. को कुइनेबाट ‘कोर्डिनेट प्वाइन्ट’ राख्न शुरु गरिएको बताए । ‘यही प्वाइन्टलाई आधार मानेर जिपिएस मेसिनबाट जग्गाको नापजाँच हुनेछ’ उपाध्यक्ष साउँदले भने ‘पालिका नै विकट भएको हुनाले प्वाइन्ट राख्नका लागि मात्रै दुई महिना बढी समय लाग्ने देखिन्छ, त्यसपछि हामी पूर्जा वितरणको काम शुरु गर्नेछौं ।’

स्थानीयहरुले लामो समयदेखि भोगचलन गर्दै आएको जग्गाको पूर्जा नहुँदा थुप्रै समस्या भोग्दै आएका थिए । कुइनेका ताराप्रसाद अधिकारीले जग्गाको निस्सा वितरण शुरु गरिएकोमा खुशी व्यक्त गरे ।

‘वर्षौंदेखि हामीले भोगचलन गर्दै आएको जग्गा बिक्री गर्न सकिएको छैन, केही कारोवार गरौं भने ऐलानी जग्गा बैंकले राख्दैन, निकै समस्या झेल्दै आएका थियौं’ अधिकारीले भने ‘निस्सा वितरण शुरु भएको सुनेर खुशी लागेको छ, अब चाँडै जग्गाको पुर्जा पाउनेमा आशावादी छौं ।’

कणर्ाली नदीको कुइने क्षेत्रमा पक्की पुल निर्माण भएर शहरको रुपमा विकास हुन सक्ने कुइने क्षेत्रमा बनाइएका पक्की घरको नक्सा पास नहुँदा समेत स्थानीयहरु आक्रान्त थिए ।

कचालीका स्थानीय रमेश माझीले निस्सा आएर जग्गाको पूर्जा पाएपछि घरनक्सा पास हुने विश्वास बढेको बताए । ‘सानो तिनो कारोवार गरौं, बैंकबाट ऋण लिनका लागि समेत घरनक्सा, जग्गाको पुर्जा चाहिने हामी अधिकांश सँग न पुर्जा छ, न घरनक्सा पास’ माझीले भने ‘गाउँपालिकाले निस्सा वितरण शुरु गरेपछि ढिलोचाँडो जग्गाको पुर्जा पाइन्छ कि भन्ने लागेको छ ।’

कुनै बेला बाइसे चौबिसे राज्य मध्येको धुलिकोट राज्यको मुकाम रहेको मोहन्यालको राजकाँडा क्षेत्रमा समेत ऐलानी जग्गा छ । वि.सं. १५९३ देखि झण्डै ४ शय ५० वर्ष धुलिकोटे राजाले शासन गरेको ऐतिहासिक क्षेत्र राजकाँडामा पर्यटकीय गन्तब्यका रुपमा विकास गर्न सकिन्छ ।

राजकाँडामा रहेको ऐतिहासिक धुलिकोट दरबार, टुँडिखेल, कोतखाना, खजाने ओडार, श्री मालिका मन्दिर, रानीको नुहाउने कुवा लगायतका अवशेषहरुको संरक्षण, पर्यटकीय गन्तब्यको विकास लागि समेत निस्सा वितरणले सहयोग पुग्ने स्थानीयहरु बताउँछन् ।

प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  ०९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update