Hamro Patra
दुई लाख पुरस्कार राशीको भलिबल शुरु

टीकापुर, फागुन १३

कैलालीको टीकापुरमा आजदेखि २ लाख पुरस्कार राशीको दोश्रो ज्ञानेन्द्र स्मृति खुल्ला पुरुष भलिबल रनिङ्ग शिल्ड प्रतियोगिता शुरु भएको छ ।टीकापुर युवा क्लब, नयाँ विहानी पुनःस्थापना केन्द्र र टीकापुर नगरपालिकाको आयोजनामा प्रतियोगिता शुरु भएको हो ।

प्रतियोगिताको एक कार्यक्रमका बिच टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले उद्घाटन गरे ।

Khadga Memorial And Janajagriti

कार्यक्रमलाई प्रमुख अतिथिको आशनबाट सम्बोधन गर्दै नगर प्रमुख थारुले टीकापुर क्षेत्रको खेलकुद विकासका लागि नगरपालिकाले मेयरसँग युवा खेलकुद कार्यक्रम ल्याएको बताए ।

‘हामीले भलिबल, ब्याडमिन्टन, फुटबल र क्रिकेट जस्ता खेल सञ्चालनका लागि मेयरसँग युवा खेलकुद कार्यक्रम ल्याएका छौं’ नगर प्रमुख थारुले भने ‘यसैका माध्यमबाट अब हरेक खेलको विकासका लागि एकजुट हुन आवश्यक छ ।’

कार्यक्रममा बोल्दै टीकापुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष मोहन सिंह वि.क.ले प्रतियोगिताले भलिबल खेलको विकासमा मद्दत पुर्याउने बताए ।

टीकापुर युवा क्लबका अध्यक्ष तपेन्द्र कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा टीकापुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपटबहादुर सोडारी, नयाँ विहानी पुनःस्थापना केन्द्रका अध्यक्ष कल्पेश कुँवर लगायतले बोलेका थिए ।

अध्यक्ष कुँवरका अनुसार भोलि विहान ८ बजेदेखि प्रतियोगिताका खेलहरु नियमित सञ्चालन हुनेछन् । प्रतियोगिता भलिबलका पूर्व प्रशिक्षक ज्ञानेन्द्र विष्टको स्मृतिमा गत वर्षदेखि शुरु गरिएको थियो ।

एपीएफ महिला भलिबल टोलीका मुख्य प्रशिक्षक रहेका विष्टको टीकापुरमा भलिबलको प्रशिक्षण शुरु गरेको केही समयमै निधन भएको थियो ।
अध्यक्ष कुँवरले प्रतियोगितामा १० टिमको सहभागिता रहने बताए ।

प्रतियोगितामा प्रथम हुने टिमले २ लाख १ हजार १ रुपैयाँ, द्वितीय हुने टिमले १ लाख १ हजार १ रुपैयाँ र तृतीय हुने टिमले ५० हजार १ रुपैयाँ पुरस्कार पाउने छन् ।

प्रकाशित मिति: शनिबार, फागुन १३, २०७९  १८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update