Hamro Patra
राजकाँडाको चुरे वन क्षेत्रमा व्यापक फडानी

टीकापुर, फागुन १३

कैलालीको पूर्वी पहाडी मोहन्याल गाउँपालिकाको चुरे क्षेत्रमा व्यापक वन फडानी भइरहेको छ । मोहन्याल गाउँपालिका वडा नं. ७ को राजकाँडाको चुरे क्षेत्रमा पर्ने वनमा व्यापक फडानी भइरहेको हो ।

बाइसे चौबिसे राज्य मध्येको धुलिकोट राज्यको मुकाम राजकाँडामा वि.सं. १५९३ देखि झण्डै ४ शय ५० वर्ष धुलिकोटे राजाले शासन गरेको ऐतिहासिक क्षेत्र समेत हो । राजकाँडामा ऐतिहासिक धुलिकोट दरबार, टुँडिखेल, कोतखाना, खजाने ओडार, श्री मालिका मन्दिर, रानीको नुहाउने कुवा लगायतका अवशेषहरु रहेका छन् ।

Khadga Memorial And Janajagriti

तराईसँग जोडिएको कैलालीबाट अपी, सैपाल हिमाल, काञ्जिरवा हिमाल, ओमपर्वतदेखिका हिमश्रृंखला हेर्न सकिने राजकाँडा सुर्योदयका लागि प्रख्यात छ ।

सूर्योदयको सुन्दर दृश्य हेर्न र ऐतिहासिक दरबार रहेको क्षेत्र राजकाँडामा केबलकार निर्माण हुने चर्चा चलेसँगै चुरे वन क्षेत्रमा व्यापक वन फडानी भइरहेको हो ।

व्यवसायी चन्द्र ढकाल नेतृत्वको जालपादेवी केबलकार प्रा.लि.ले राजकाँडामा केबलकार निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन गरिरहँदा सो क्षेत्रमा व्यापक वन फडानी भइरहेको स्थानीयहरु बताउँछन् ।

‘पहिले त्यस्तो थिएन, दुई वर्ष भन्दा बढी भयो, यहाँ केबलकार आउने चर्चा भएसँगै व्यापक वन फडानी भइरहेको छ’ एक स्थानीयले भने ‘ऐतिहासिक दरबार क्षेत्रकै पूराना सालका रुखहरु समेत काटिएका छन् ।’

उनले दुई वर्षमा सयौंको संख्यामा रुखहरु फडानी भएको बताए । ‘राजनीतिक तथा, व्यापारिक आडमा फडानी भइरहेको छ’ उनले भने ‘प्रहरी प्रशासन, वन प्रशासन, स्थानीय सरकार सबै मौन छन् ।’

कैलालीको विकासका दृष्टिकोणले विकट रहेको मोहन्याल गाउँपालिकामा रहेको पुरातात्विक महत्वको सम्पदा ऐतिहासिक राजकाँडा धुलिकोट राज्यको मुकामको जमिन र वन क्षेत्रको जग्गा अतिक्रमण गर्न वन फडानी भइरहेको राजकाँडा पुगेका बेदप्रकाश तिमिल्सेनाले बताए ।

‘मोहन्याल गाउँपालिकाले ऐलानी जग्गाको निस्सा वितरण गरिरहेको छ, यही मौका छोपेर दरबार क्षेत्रको जग्गामा वन फडानी गर्नेहरु सक्रिय छन्’ तिमिल्सेनाले भने ‘वन फडानीले चुरे वन क्षेत्रको नाश हुनुका साथै ऐतिहासिक दरबार क्षेत्रको पुरातात्विक सम्पत्ति समेत जोखिममा परेको छ ।’
उनले उक्त दरबार क्षेत्रको जंगलबारे कसैले चासो नलिएको बताए ।

यता, मोहन्याल गाउँपालिकाका उपाध्यक्ष कलम साउँदले वन अतिक्रमण भइरहेको विषयमा कुनै जानकारी नआएको बताए ।

‘राजकाँडामा थोरै घरहरु रहेका छन्, हामीलाई अहिलेसम्म वन अतिक्रमण भइरहेको बारेमा कुनै जानकारी आएको थिएन’ उपाध्यक्ष साउँदले भने ‘ऐतिहासिक महत्व बोकेको दरबार क्षेत्रको वन अतिक्रमण भइरहेको हो भने हामीले गम्भीर रुपमा हेर्नेर्छौं, यसमा गाउँपालिकाले चासो लिन्छ नै ।’
उपाध्यक्ष साउँदले पर्यटकीय एवं ऐतिहासिक दृष्टिकोणले महत्वपूणर् रहेको राजकाँडा र चुरे वन क्षेत्रको वन फडानी रोक्न पहल गर्ने बताए ।

यता, सुदूरपश्चिम प्रदेश वन निर्देशनालयका निर्देशक कृष्ण भट्टले वन फडानी भइरहेको विषयमा जानकारी नभएको प्रतिक्रिया दिए । ‘हामीलाई अहिलेसम्म कुनै जानकारी आएको थिएन’ निर्देशक भट्टले भने ‘पर्यावरणीय दृष्टिकोणले महत्वपूणर् रहेको चुरे क्षेत्रकै वन फडानी हुने विषयलाई हामीले गम्भीर रुपमा लिएका छौं, यसमा हाम्रो मातहतको कार्यालयलाई त्यहाँको अवस्थाबारे बुझ्न र आवश्यक कारवाही गर्न निर्देशन दिन्छौं ।’

ऐतिहासिक महत्व रहेको चुरे वन क्षेत्रमा पर्ने राजकाँडामा वन फडानी रोक्नेतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्ने स्थानीयहरु बताउँछन् । सो क्षेत्रमा वन फडानी भइरहँदा पुरातात्विक महत्वको धुलिकोट दरबार क्षेत्रका भग्नावशेष समेत जोखिम पर्ने देखिन्छ ।

प्रकाशित मिति: शनिबार, फागुन १३, २०७९  ०८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update