Hamro Patra
रानी जमरा कुलरीया सिँचाइ आयोजनाका बारेमा मन्त्रीले ढाँटे


योगेश रावल
टीकापुर, साउन १
रानी जमरा कुलरीया सिँचाइ आयोजना सञ्चालनमा आएको भन्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बर्षमान पुनले ढाँटेका छन । उनले मंगलवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी आयोजनाको पहिलो खण्ड निर्माण सम्पन्न भएर नहर मार्फत किसानका खेतमा सिँचाइ सुविधा पुगेको बताएका छन । उनले इन्टेकमा रहेका आठ वटा ढोका मध्ये तीन वटा सञ्चालनमा आएको दावी गरेका छन ।
तर सिँचाइ आयोजनाको काम मन्त्री पुनले भने जसरी सञ्चालनमा आएको छैन । नत इन्टेकका ढोका सञ्चालनमा आएका छन नत नहरमा पानी बगेको छ । अहिले पनि यस क्षेत्रको १४ हजार हेक्टर भूभागमा परम्परागत ढंगले नै सिँचाइ भैरहेको छ । मुल कुलो सिँचाइ प्रणालीका अध्यक्ष कुमारराज शाहीले सिँचाइ आयोजनाको नहर सञ्चालन भएको कुरा पुर्ण रुपमा गलत भएको बताए । ‘नहर सञ्चालन भएको हामीलाई थाहा छैन’ उनले भने–‘किसानले उही परम्परागत ढंगले सिँचाइ गर्दै आएका छन ।’

आयोजना प्रमुख मधुकर रानाले मन्त्री पुनले नहरमा पानी सञ्चालनमा आएपछि त्यसरी सिँचाइ हुने भन्न खोजेको हुनसक्ने बताए । ‘अहिले नै त्यसरी सञ्चालन भयो हैन कि पछि हुने भन्न खोज्नु भएको होला’ उनले भने–‘अहिले त परम्परागत प्रणालीबाटै सिँचाइ भैरहेको छ ।’

उनले आर्थिक वर्ष २०७०÷०७१ मै निर्माण सम्पन्न भएको इन्टेकका तीनवटा ढोकामा उपकरण जोड्ने काम सम्पन्न भएको बताए । सो उपकरणले पानीको आवश्यकता अनुसार ढोका स्वचालित रुपमा खुल्ने र बन्द हुने बताईएको छ । उनले अन्य पाँचवटा ढोकामा समेत उपकरण जोड्ने काम भैरहेको बताए ।

Khadga Memorial And Janajagriti

‘उपकरण जोडिएका ढोकाको परिक्षण समेत गरिएको छ’ उनले भने–‘अन्य ढोकामा समेत उपकरण जोड्ने काम चाँडै सम्पन्न हुन्छ ।’
उपकरण जोडिएको इन्टेक र नदीको पानी नहर प्रवेश गराउन बनेको अर्को मुख्य इन्टेकबीचमा पानी भण्डारण स्थल छ । सोही भण्डारण स्थलमा जमेको पानी परिक्षणका क्रममा नहरमा बगाईएको हो । यसैलाई नहरमा पानी सुचारु भएको भन्दै मन्त्री पुनले आयोजनाको उपलब्धीका रुपमा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका छन ।
मुख्य इन्टेकमा रहेका १४ वटै ढोका अहिले पनि बन्द अवस्थामा छन । ती ढोका नहर पूर्ण रुपमा तयार नहुँदासम्म प्राविधिक रुपमा खोल्न नमिल्ने बताईएको छ । ‘ती ढोका अहिले खोल्ने कुरै भएन’ आयोजना प्रमुख रानाले भने–‘एकातिर नदीमा बाढीको बहाव उच्च छ भने अर्कोतिर नहर निर्माणको काम पूरा भएको छैन ।’

इन्टेकका सबै ढोकामा उपकरण जोड्ने काम सम्पन्न भएपनि नहरमा अझै पानी सुचारु गर्ने अवस्था छैन । कर्णाली चिसापानीस्थित मुख्य इन्टेकबाट करिव साढे आठ किलोमिटर टाढा रहेको डुँडेझारीसम्म मात्रै नहर निर्माणको काम लगभग सम्पन्न भएको छ । डुँडेझारीबाट पश्चिमतर्फ लम्की शाखा नहर विस्तारको काम निर्माणाधिन अवस्थामा छ ।

सोही ठाउँबाट नहर दक्षिणतर्फ रहेको कटासेबाट रानी, जमरा र कुलरीया कुलामा मिसाईनेछ । यी तीनवटै कुलामार्फत पानी किसानका खेतसम्म पुग्नेछ ।
डुँडेझारीबाट कटासेबीचको भागमा आयोजना अन्र्तगतको विद्युत गृह निर्माणको काम अलपत्र अवस्थामा छ । जहाँ ४ दशमलव ७ मेगावाट विद्युत उत्पादन हुने बताईएको छ ।
जानकी गाउँपालिका–९ मा विद्युत गृह निर्माण सुरु भएको पाँच वर्ष भयो । पटक पटक म्याद थप गर्दै आएको एसईडब्ल्यू÷टुण्डीले सन् २०१७ जुलाईमा निर्माण सक्ने भन्दै सन् २०१४ मा विद्युत गृह र ५ किलोमिटर नहर निर्माणको ठेक्का सम्झौता गरेको थियो ।

विद्युत गृह निर्माणको काम समयमा सम्पन्न नहुँदा समेत नहरमा पानी सुचारु अनिश्चित जस्तै छ । निर्माणाधिन विद्युत गृहबाट दक्षिण कटासेसम्म नहर निर्माणको काम समेत अलपत्र छ । जुन नहर परम्परागत कुलो प्रणालीमा मिसाउने आयोजनाको लक्ष्य छ ।

विद्युत गृह र नहर निर्माणको काम पूर्ण रुपमा सम्पन्न नहुँदासम्म मुख्य इन्टेकबाट नहरमा पानी बगाउने काम सम्भव नभएको आयोजना प्रमुख राना स्विकार्छन । उनले यदि त्यसो गरेपनि मुख्य इन्टेकबाट साढे पाँच किलोमिटर पश्चिममा रहेको सेट्लिङ बेसिङ (बालुवा झार्ने ठाउँ) बाट पानी पुनः परम्परागत कुलोमा मिसाउनुपर्ने वाध्यता रहेको बताए ।

सिँचाइ आयोजना निर्माण सम्पन्न भएपछि यसक्षेत्रको करिव ३८ हजार हेक्टर भूभागमा सिँचाइ सुविधा पुग्ने बताईन्छ । यस आयोजनाको निर्माण कार्य आर्थिक वर्ष २०६५÷०६६ बाट सुरु भएको हो । सन् २०२३ डिसेम्बर ३१ तारिखमा आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य छ । यस आयोजनाको कुल लागत २७ अर्ब हो । यो आयोजना विश्व बैंकको अनुदान, नेपाल सरकारको संयुक्त लगानी र जनश्रमदानमा निर्माण भैरहेको छ ।

१) कटासे नजिकै निर्माणाधिन नहर ।
२) मुख्य नहरबाट लम्की शाखा नहर र विद्युत गृहतर्फ जाने नहर
३) नहरको सेट्लिङ बेसिङ क्षेत्र ।
४) उपकरण जोडिएको इन्टेक ।
तस्विर योगेश रावल

प्रकाशित मिति: बिहीबार, साउन २, २०७६  १०:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update