Hamro Patra
सतही नालाको काम गुणस्तरीय नभएको स्थानीयको आरोप

टीकापुर, फागुन ५

टीकापुर नगरपालिका वडा नं. १ मा निर्माण भइरहेको सतही नाला ढलको काम गुणस्तरीय नभएको स्थानीयले आरोप लगाएका छन् । वडा नं. १ को ब्लक नं. सी को खुल्लाचौर क्षेत्रमा निर्माण भएको नालाको ढक्कन चर्केको र नाला बाङ्गो बनाइएको स्थानीयले आरोप लगाएका हुन् ।

स्थानीय सुमन थापाले टिएममा बनेर आएको मसालाबाट ढलान भएको कल्भर्टको ढक्कन चर्केको बताए । ‘यसमा ठेकेदारको लापरवाही छ, टिएममा बनेर आएको मसालाले यो मौसममा ढलान चर्किनुले कल्भर्ट कमजोर बन्छ’ थापाले भने ‘एक ठाउँमा मिक्स भएको मोटार समय भन्दा पछि आएर ढलान गरेपछि क्रेक आएको हो, एक दुई ठाउँमा एअर क्रेक आउन सक्छ तर यहाँ पूरै ढक्कनमा चिरा छ ।’

Khadga Memorial And Janajagriti

ब्लक नं. सी को खुल्ला चौरदेखि पानी ट्यांकी जाने सडकमा हालिएको कल्भर्टको ढक्कनमा चिरा परेको हो । गत हप्ता ढलान भएको उक्त कल्भर्टको ढक्कनमा चिरा परेको स्थानीयले दाबी गरे ।

स्थानीय कटक सोडारीले निर्माण कम्पनी र नगरपालिकाको लापरवाहीले ढक्कन चर्किनुका साथै नाला समेत बाङ्गो भएको आरोप लगाए । ‘नगरपालिकाले चरम लापरवाहीले समस्या आएको हो, नगर विकासको नक्सा अनुसार डिजाइन हुनुपर्नेमा यो तीन चार वटा पोल बचाउनका लागि बाङ्गो बनाइएको छ’ सोडारीले भने ‘नालीको टर्निङ्गमा अर्काको जग्गामा सोझो मान्छेलाई हेप्ने गरी नाली बनाइएको छ, यो सरासर गलत छ, यसमा ठेकेदार र नगरपालिकाले लापरवाही गरेका छन् ।’

उनले नगरपालिकालाई आफूले पटक पटक खबर गर्दा समेत नाला निर्माणमा चासो नदिएको बताए । 

यता, निर्माण कम्पनी तुँदी कन्स्ट्रक्सन प्रा.लि.का परियोजना प्रमुख इञ्जिनियर उदय पोखरेलले डिजाइन अनुसार नै निर्माण भएको बताउँदै ब्लक नं. सी को कल्भर्टको स्ट्रक्चरल समस्या नभएको दावी गरे ।

‘हामीले जति पनि संरचनामा ढलान गरेका छौं, त्यसको स्याम्पल क्यु बनाएर दैनिकजसो गुणस्तर चेक गरेर मात्रै ढलान गरिरहेका छौं’ पोखरेलले भने ‘निर्माणमा ओपिसी सिमेन्टको प्रयोग गरिएको हुनाले पानीको मात्रा केही कम भएर माइनर क्र्याक देखिएको हुनसक्छ, त्यसले निर्माण भएको स्ट्रक्टरमा कुनै फरक पार्दैन ।’

उनले आयोजना क्षेत्रभित्र नगरपालिकाले दिएको साइड अनुसार नै निर्माण कार्य भइरहेको बताए । ‘हामीले नगरपालिकाले देखाएको साइड अनुसार नै निर्माण गरेका छौं, कतै सोझो होला कतै केही बाङ्गो होला, त्यो डिजाइनमै त्यस्तै छ’ पोखरेलले भने ‘ब्लक नं. सी मा अमिन नै ल्याएर हेर्दा त्यो कर्नरनिर बाटो नै सात फिटको मात्रै रहेछ, त्यसकारण केही साँघुरो भएको हो ।’

उनले दुई वर्ष अघि शुरु भएको नाला निर्माणको काम आगामी असारभित्र सम्पन्न गर्ने बताए । ‘हामीलाई पौष १५ सम्मको म्याद थियो, कोरोना र वर्षायामका कारण केही ढिलाई भएपछि हामीले असारसम्मको म्याद थपेका छौं ।’

निर्माण कम्पनीले मानव मलमुत्र व्यवस्थापन केन्द्र निर्माण सम्पन्न गरिसकेको छ । केन्द्र र २९ किलोमिटर सतही ढल नाला निर्माण गर्ने गरी ६० करोड रुपैयाँको लागतमा सम्झौता गरेको निर्माण कम्पनीले २१ किलोमिटर नाला निर्माण गरिसकेको जनाएको छ ।

खानेपानी तथा सरसफाई क्षेत्रगत आयोजनाका लागि इटेको युनेक जे.भी.का परामर्शदाता इञ्जिनियर अरुण रोस्याराले केन्द्र निर्माण सम्पन्न भएको र २१ किलो नाला निर्माण सकिएको बताए ।

‘मानव मलमुत्र व्यवस्थापन केन्द्र निर्माण सम्पन्न भइसकेको छ भने २९ किलोमिटर नालामध्ये २१ किलोमिटर निर्माण सकिएको छ’ इञ्जिनियर रोस्याराले भने ‘केही ठाउँमा ढक्कन राख्न, माटो फिलिङ्गको काम बाँकी रहे पनि समग्रमा अब ८ किलोमिटर नाला बाँकी छ ।’

भित्री सडकमा बनाउनु पर्ने नाला बनाउन भने केही समस्या देखिएको उनले बताए । ‘सडक साँघुरो हुँदा केही समस्या छ, तर पनि हामी असारसम्म सक्ने गरी काम गरिरहेका छौं’ इञ्जिनियर रोस्याराले भने ‘निर्माण भएका हरेक संरचनाको दैनिक गुणस्तर चेक हुने हुनाले डिजाइन भन्दा तलमाथि छैन ।’

सतही ढल निर्माण सम्पन्न भएसँगै टीकापुर बजार क्षेत्रमा सडकमा आउने पानीको व्यवस्थापन हुनेछ ।

प्रकाशित मिति: शुक्रबार, फागुन ५, २०७९  १७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update