Hamro Patra
एच.आइ.भी. संक्रमितलाई नगरपालिकाको पोषण खर्च

परमानन्द पाण्डे
टीकापुर, असार २८
टीकापुर नगरपालिकाले नगर क्षेत्रभित्रका एचआइभी संक्रमितहरुलाई पोषण खर्च वितरण गरेको छ ।

नगर पालिकाको सामाजिक दायित्व अन्तर्गत नगर क्षेत्रभित्रका ७८ जना संक्रमितहरुलाई पोषण खर्च वितरण गरेको हो ।

एआरटी औषधी सेवन गरिरहेका संक्रमितहरुलाई पोषणयुक्त खानेकुराको अभाव हुन नदिने उद्देश्यले पोषण खर्च वितरण गरिएको बताइएको छ ।

Khadga Memorial And Janajagriti

नगरपालिकाले प्रतिव्यक्ति ५ हजार रुपैयाँका दरले पोषण खर्च वितरण गरेको हो । संक्रमितहरुलाई पोषिलो खानेकुराका लागि प्रेरित गर्न नगरपालिकाको स्वास्थ्य प्रबद्र्धन शाखाले पोषण खर्च उपलब्ध गराएको शाखा प्रमुख बलबहादुर रावलले बताए ।

एक कार्यक्रमका बीच नगर प्रमुख तपेन्द्र रावलले संक्रमितहरुलाई पोषण खर्च प्रदान गरेका हुन् । नगर प्रमुख रावलले स्थानीय सरकार संक्रमितहरुको साथमा रहेको सन्देश दिन पोषण खर्च उपलब्ध गराएको बताए ।

उनले भने–‘यो धेरै ठूलो सहयोग होइन, स्थानीय सरकार संक्रमितको साथमा छ भन्ने सन्देश दिन खोजेका छौं ।’

संक्रमितहरुको स्वास्थ्यप्रति स्थानीय सरकार संवेदनशील रहेको उल्लेख गर्दै रावलले आगामी दिनमा समेत पोषण खर्च, स्वास्थ्य विमा जस्ता कार्यक्रमहरु सञ्चालन गर्ने बताए ।

पोषण खर्च पाएका संक्रमितहरुले स्थानीय सरकारले संक्रमितहरुको आवाज सम्बोधन गरेको भन्दै खुशी व्यक्त गरेका छन् । संक्रमितहरुको क्षेत्रमा क्रियाशील संस्था नवजीवन एकता समाजका अध्यक्ष जगत भण्डारीले नगरपालिकाको सानो सहयोगले संक्रमितहरुलाई उत्साहित बनाएको बताए ।

‘हामी लामो समयदेखि स्थानीय सरकारसँग यो कुरा माग गर्दै आइरहेका थियौं’ उनले भने–‘स्थानीय सरकारले हामी संक्रमितलाई पोषण खर्च दिएर उत्साहित बनाएको छ ।’

पोषण खर्च पाउनेमा अधिकांश महिला, बालबालिका रहेका थिए । टीकापुर नगरपालिकामा १ शय ६० जना संक्रमित रहेका छन् । जसमध्ये १ शय ६ जनाले नियमित एआरटी सेवन गरिरहेका छन् ।

प्रकाशित मिति: शनिबार, असार २८, २०७६  १३:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update