Hamro Patra
डट्स प्रभावकारी, क्षयरोगीको संख्या घट्दै

योगेश रावल
टीकापुर, असार २८
टीकापुर नगरपालिका भित्र क्षयरोगका बिरामीको उपचार गर्ने डट्स विधि प्रभावकारी बन्दै गएको छ । देशभर क्षयरोगका बिरामीको संख्या बढेका बेला टीकापुरमा भने केही वर्ष यता घट्दो क्रममा छ । विगत तीन वर्षको तथ्याङ्क हेर्दा टीकापुरमा क्षयरोगका नयाँ बिरामी भेटिने संख्या घट्दै गएको पाईएको छ ।

टीकापुरमा तीन ठाउँबाट डट्स विधिबाट क्षयरोगका बिरामीको उपचार हुने गरेको छ । जसमध्ये टीकापुर अस्पताल, नारायणपुर र धनसिँहपुर स्वास्थ्य चौकी रहेका छन । टीकापुर अस्पतालमा सबैभन्दा धेरै बिरामीको उपचार हुँदै आएको छ ।

टीकापुर अस्पतालमा आर्थिक वर्ष २०७३/०७४ मा १२५, २०७४/०७५ मा ११४ र चालु आर्थिक वर्षमा ९६ जना नयाँ बिरामी भेटिएका छन । त्यसैगरी नारायणपुर स्वास्थ्य चौकीमा आर्थिक वर्ष २०७३/०७४ मा १७, २०७४/०७५ मा २० र चालु आर्थिक वर्षमा २६ जना बिरामी भेटिएका छन । तुलनात्मक रुपमा नारायणपुर स्वास्थ्य चौकीमा नयाँ बिरामीको संख्या बढेको पाईएको छ । धनसिँहपुर स्वास्थ्य चौकीबाट आर्थिक वर्ष २०७३/०७४ मा १६, २०७४/०७५ मा १० र चालु आर्थिक वर्षमा समेत १० जना बिरामी भेटिएको स्वास्थ्य सूचना व्यवस्थापन प्रणालीले जानकारी दिएको छ ।

Khadga Memorial And Janajagriti

डट्स विधि अन्र्तगत क्षयरोगीले स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा ६ देखी ८ महिनासम्म नियमित औषधी सेवन गर्नुपर्ने हुन्छ । टीकापुरमा समेत स्वास्थ्य संस्थामा सञ्चालित डट्स सेन्टरसम्म आउन नसक्ने बिरामीका लागि समुदायमा आधारित डट्स कार्यक्रम समेत सञ्चालन गरिएको टीकापुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले जानकारी दिए । जसले गर्दा समेत क्षयरोगीको संख्या घट्नमा मद्दत पुगेको छ ।

यस कार्यक्रम अन्र्तगत महिला स्वास्थ्य स्वयम्सेविका, शिक्षक वा अन्य कुनै सामाजिक अगुवाको निगरानीमा बिरामीले घरमै नियमित औषधी सेवन गर्नुपर्ने हुन्छ । ‘यस कार्यक्रमको उद्देश्य कुनै बिरामीले आधा घण्टा भन्दा बढी हिड्न नपरोस् भन्ने हो’ शाखा प्रमुख रावलले भने–‘बिरामीले स्वास्थ्य संस्थासम्म आउने डरले औषधी सेवन गर्न छोड्न थालेपछि यस्तो कार्यक्रम ल्याईएको हो ।’

विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०१७ मा करिव एक करोडलाई क्षयरोग भएको थियो । जसमध्ये १६ लाखको मृत्यु क्षयरोगका कारण भएको थियो । नेपालमा हाल ६० हजारको हाराहारीमा क्षयरोगी रहेको राष्ट्रिय क्षयरोग केन्द्रको भनाई छ । केन्द्रका अनुसार वर्षेनी ५ देखी ७ हजारको मृत्यु क्षयरोगका कारण हुने गरेको छ ।

नेपाल सरकारले क्षयरोगबाट हुने मृत्युदर शुन्यमा झार्ने लक्ष्य बोकेको छ । जसमा सन् २०२५ सम्म ७५ प्रतिशत, सन् २०३५ सम्म ९० प्रतिशत र सन् २०५० सम्म शुन्य मृत्युदर पु¥याउने सरकारको लक्ष्य छ ।

त्यस्तै सरकारले मृत्युदरका साथसाथै बिरामीको दर समेत घटाउने लक्ष्य बोकेको छ । जसमध्ये सन् २०२५ मा ५० प्रतिशत र सन् २०३५ मा प्रति एक लाखमा १० भन्दा कम पु¥याउने लक्ष्य रहेको छ । सन् २०५० सम्ममा प्रति लाखमा १ भन्दा कम बिरामी पु¥याउने सरकारी लक्ष्य रहेको छ ।

टीकापुरमा समेत सरकारी लक्ष्य पूरा गर्ने गरी क्षयरोग नियन्त्रण सम्बन्धी क्रियाकलापहरु भैरहेका छन । तर ती क्रियाकलापलाई समेत प्रभाव पार्ने खालका चुनौती भने रहेको शाखा प्रमुख रावल बताउँछन । उनका अनुसार बसाई सराई, खुला सिमाना, लैङ्गिक असमानता र औषधी सेवन बिचैमा छोड्नु प्रमुख चुनौती रहेका छन ।

कुनै बिरामीले बिचैमा औषधी सेवन छोड्दा डट्स विधिलाई नै प्रभाव पार्ने स्वास्थ्यकर्मी बताउँछन । त्यस्ता बिरामीका कारण अन्य व्यक्तिलाई समेत सहज रुपमा क्षयरोग सर्ने गरेको टीकापुर अस्पताल डट्स सेन्टरका प्रमुख रामप्रसाद ज्ञवालीले बताए । उनले बिचैमा औषधी सेवन छोड्ने कार्य क्षयरोग नियन्त्रणका लागि ठूलो चुनौतीका रुपमा रहेको बताए । ‘केही समय औषधी सेवन गर्छन । सन्चो भएको महशुस गरेपछि फर्केर आउँदैनन्’ उनले भने–‘यो ठूलो चुनौतीका रुपमा रहेको छ ।’

क्षयरोग माइकोब्याक्टेरियम ट्युबरक्लोसिस ब्याक्टेरियाको संक्रमणका कारण हुन्छ । यसले मुख्य रुपमा फोक्सोलाई असर पार्ने गर्छ । चिकित्सकका अनुसार शरीरका अन्य अंगहरुलाई समेत प्रभावित पार्छ । यो रोग हाछ्युँ गरेमा वा खोकेमा हावाको माध्यमबाट एउटा व्यक्तिबाट अर्को व्यक्तिमा सहजै सर्ने गर्छ । यो सरुवा रोग हो ।

प्रकाशित मिति: शनिबार, असार २८, २०७६  ०९:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update