Hamro Patra
कर्णाली नदीमा अवैध उत्खनन्ः गाउँपालिकाले लगायो रोक

टीकापुर, माघ २६

कैलालीको पूर्वी क्षेत्र भएर बग्ने कर्णाली नदीका विभिन्न स्थानबाट स्थानीयले जथाभावी अवैद्य रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्न थालेका छन् । स्थानीय व्यवसायीहरुले कर्णाली नदीको पाताभार, मालझुल क्षेत्रबाट दैनिक ट्याक्टर, जेसीबी, स्काइभेटर, टिप्परको प्रयोग गरेर जथाभावी उत्खनन् गर्न थालेका हुन् ।

स्थानीयहरुका अनुसार आयोजनाका नाममा नदीमा जथाभावी जेसीबी, स्काइभेटरहरु प्रयोग गरेर अवैद्य रुपमा उत्खनन् हुँदा वर्षेनी कर्णाली नदीको बाढी बस्ती पस्ने गरेको छ ।

Khadga Memorial And Janajagriti

‘आयोजनाकै लागि भनेर ढुंगा, बालुवा निकाल्छन्, तर त्यही आयोजनाले बनाएको तटबन्धमा लागेको ढुंगा समेत निकाल्ने गरेका छन्’ स्थानीय लालमता चौधरीले भनिन् ‘जहाँ जहाँबाट ढुंगा निकालिएको छ, अर्को पटक कर्णाली नदीले त्यही ठाउँबाट कटान गरेर बाढी बस्तीमा पस्छ ।’

कर्णाली नदीको पाताभार, मालझुल लगायतका क्षेत्रमा व्यवसायीहरुले जथाभावी रुपमा उत्खनन् गर्दै आएका हुन् । हिउँदमा जथाभावी उत्खनन् गर्दा नै वर्षायाममा बाढी आउने गरेको छ ।

पत्रकार भोजराज भाटले कर्णाली नदीमा आउने बाढीले पूर्वी कैलाली असारदेखि कार्तिकसम्म ज्यादै त्रसित बन्दै आएकोमा ढुंगा गिट्टी र बालुवाको अवैध उत्खनन्ले समस्या झन् विकराल बन्दै गइरहेको बताए ।

‘रानी, कुलरिया, जमरा सिँचाइ परियोजनाले लगाइदिएको कर्णाली नदी तटीय क्षेत्रको तटबन्धनका समेत ढुंगा खुल्लम–खुल्ला उखेलेर कानुनको धज्जी उडाइरहेका छन् । यसमा प्रहरी, प्रशासन र आयोजना समेतको संलग्नता हुनसक्छ’ भाटले भने ‘आयोजनाले बनाएकै ठाउँबाट ढुंगा झिकिएका छन्, यो समस्याबारे सबै चुप छन् । जसका कारण यो नदीले वर्षायाममा तटीय क्षेत्रको टीकापुरमा तहसनहस बनाउन सक्छ ।’

वर्षेनी नदीबाट जथाभावी ढुंगा, बालुवा उठाउँदा नदीको सतह खस्किँदै गएर बाढी गाउँ पस्ने गरेको भाटले बताए ।

कैलालीका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको जिल्ला विपद् व्यवस्थापन समिति र जिल्ला प्रहरी कार्यालयसँगको समन्वयमा गाउँपालिकाले मंगलवार ती व्यवसायीका सवारी साधन नियन्त्रणमा लिएर अवैद्य उत्खनन्मा रोक लगाएको छ ।

गाउँपालिकाले सूचना प्रकाशित गर्दा समेत आलटाल गर्दै आएका व्यवसायीहरुलाई मंगलवार प्रहरीले नियन्त्रणमा लिएर गाउँपालिकामा छलफल गरेको थियो । 

प्रहरीले कर्णाली नदीको पाताभार क्षेत्रबाट स्थानीय व्यवसायी जनकबहादुर शाही, रणबहादुर साउँद लगायतका व्यवसायीहरुका सवारी साधन नियन्त्रणमा लिएर छलफल गरेको हो ।

जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले वर्षेनी बाढीबाट डुबान हुँदै आएको नदीको दक्षिणी क्षेत्रलाई असर गर्ने गरी अवैध रुपमा उत्खनन गर्दै आइरहेका व्यवसायीहरुसँग छलफल गरिएको बताए ।

‘रानी, जमरा, कुलरिया सिँचाइ आयोजनाले गर्ने तटबन्धनका लागि नदीमा ट्याक्टर, जेसीबी लगायतका सवारी साधन हालेर उत्खनन् हुँदै आएको खबर पाएपछि हामीले जिल्ला विपद् व्यवस्थापन समितिलाई भनेका थियौं’ अध्यक्ष चौधरीले भने ‘मंगलवार प्रहरीले ती व्यवसायीहरुलाई नियन्त्रणमा लिएर गाउँपालिकामा हामीले छलफल गरेका छौं ।’

छलफलमा सहभागी व्यवसायीहरुले राष्ट्रिय गौरबको रानी, जमरा, कुलरिया सिँचाइ आयोजनाले गर्ने तटबन्धनका लागि ढुंगा निकालिएको जिकिर गरेका थिए । आयोजनाले निर्माण गर्ने तटबन्धनमा नदी क्षेत्रबाट ढुंगा संकलन गरेर तटबन्ध गर्ने प्रावधान राख्दै आएको छ ।

‘गौरबको आयोजनाका लागि आवश्यक परिमाणमा निश्चित क्षेत्रबाट मात्र निकाल्न पाउने गरी सहमति गरेका छौं, अन्यले पाउँदैनन्’ अध्यक्ष चौधरी भने ‘निश्चित क्षेत्र तोक्नका लागि रानी, जमरा, कुलरिया आयोजनाका प्रतिनिधि र गाउँपालिकाका प्राविधिकले तोक्नेछन् ।’

अध्यक्ष चौधरीले विकास निर्माणमा मात्र नभई वातावरणीय असरलाई समेत ख्याल गर्न आग्रह गरेका छन् । ‘हामी चाहिँ सालसालै डुब्छौं, यसबाट बचाउने हो भने अवैध रुपमा ढुंगागिट्टीको चोरी निकासीलाई रोकौं भन्ने हो’ अध्यक्ष चौधरीले भने ‘हामी विकास विरोधी होइन, एउटा सिष्टमबाट निकासी गरौं । वातावरणीय असरलाई पनि ख्याल गरौं यदि त्यो अनुसार भएन भने सुरक्षाकर्मीको सहयोगमा त्यस्ता सवारी साधनलाई नियन्त्रण गरेर कारवाही गर्ने नीति लिएका छौं ।’

निर्माण व्यवसायीहरु समेत तोकिएको ठाउँबाट ढुंगा निकाल्न सहमत भएको अध्यक्ष चौधरीले बताए ।

प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  ०९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update