योगेश रावल
टीकापुर, २५ माघ
टीकापुर नगरपालिका-४ मौरानियाको एक जमिन्दार परिवार भूमाफियाको चंगुलमा फसेर भूमिहीन बन्न पुगेको छ । भूमाफियाले कृत्रिम अंशियार खडा गरेर उनीहरुको सबै जमिन सखाप पारिदिएका छन ।
२०२१ सालतिर स्थानीय जितौं डगौरा थारुसँग ३० विगाह जमिन थियो । उनका छोरा पतिराम र नाती माघुसम्म पुग्दा पनि जमिन यथावत नै थियो । माघुका ७ छोरा र १ छोरी छन । त्यतिञ्जेल उनीहरुको अर्को कुनै अंशियार थिएनन् ।
२०३५ सालमा माघुले आफ्नो घरमा काम गरेर रिझाएको भन्दै सोमै थारु, छेदु थारु, सोमल थारुलाई २ विगाह १८ कठ्ठाका दरले जमिन बकसपत्र गरेर दिए । सोही वर्ष छेदुलाई थप १० कठ्ठा र पहरा थारुलाई १० कठ्ठा जमिन बकसपत्र गरे ।
सो बकसपत्रमा सोमैका बुबाको नाम चोदु, छेदुका बुबाको नाम माघु र सोमलका बुबाको नाम दरउपाल उल्लेख छ । उनीहरु तीनै जनाका बाजेको नाम भने थाहा छैन उल्लेख छ । बकसपत्रमा बाजेको नाम थाहा छैन भनेर उल्लेख भएका आधारमा उनीहरु माघुका अंशियार हैनन् भन्ने स्पष्ट हुन्छ ।
तर अहिले उनीहरुलाई भूमाफियाहरुले माघुका अंशियारका रुपमा स्थापित गरिदिएका छन । उनीहरुलाई अंशियार स्थापित गर्नमा स्थानीय जनप्रतिनिधि, मालपोत कार्यालय र अदालत समेत संलग्न रहेको पीडित पक्षको आरोप छ ।
उनीहरुबीचको अंश मुद्दा जिल्ला, पुनरावेदन हुँदै सर्वोच्चमा पुगेको थियो । सर्वोच्चले २०७३ मंसिर १५ गते अन्तिम फैसला गरेर कृत्रिम खडा गरिएका अंशियारलाई अंश दिनु भनेको छ । सर्वोच्चको सोही फैसलालाई आधार मानेर कैलाली जिल्ला अदालतले २०७९ असोज ९ गते मालपोत कार्यालय टीकापुरलाई जग्गा फुकुवा गरिदिने सम्बन्धमा पत्राचार गरेको देखिन्छ ।
सो जमिन कृषि विकास बैंक, सेती फाईनान्स र सामुदायिक सहकारी सत्तीबाट रोक्का रहेको थियो । अदालतले माघुकी श्रीमती सुगिनका भागमा परेको जमिन रोक्का यथावत राखेर अर्को पक्षको सबै जग्गा फुकुवा गरि दाखिला गरिदिन भनेको छ ।
स्थानीयका अनुसार जितौंका एकमात्र छोरा पतिराम हुन । वडा कार्यालयको सर्जमिन मुचुल्कामा समेत यो कुरा उल्लेख छ । तर पछिल्लो घटनाक्रमले उनका दुई छोरा थपिएका छन । भूमाफियाले भोदु र कुकुरालाई जितौंका छोरा भन्दै नक्कली अंशियार सावित गरे । पतिरामका समेत एकमात्र छोरा माघु हुन । उनका समेत छेदु र भुखाली गरी दुई छोरा थपिए । छेदु र भुखालीका छोराहरुले भने आफूहरु जितौंका सन्तान नभएको बताउने गरेका छन । उनीहरुले कैलाली जिल्ला अदालतमा समेत आफूहरु मात्रै नभई माघुका अरु कोही पनि अंशियार नभएको बयान दिएको पीडित मध्येकी टीका चौधरीले बताईन । ‘उनीहरुले प्रष्ट भनेकै हुन । तर अदालतले समेत उनीहरुको कुरा सुनेन’ उनले भनिन्-‘हाम्रो कुरा न्यायालयले सुनेन ।’
आफूलाई जितौंको नाती भएको दावी गर्दै अंशियार बनेका पहरा डगौरा थारुका विभिन्न कागजातमा बाजेको नाम छुट्टाछुट्टै उल्लेख छ । उनको नागरिकतामा बाजेको नाम झुक्रा छ । २०३८ सालको श्रेस्तामा बाजेको नाम पतिराम छ । २०५० को आपसी अंशबण्डा मुद्दामा बाजेको नाम बिछुवा छ । अन्य कृत्रिम अंशियार बनेकाहरु समेत पहराकै आफन्त हुन ।
‘उनीहरु हाम्रा अंशियार नै हैनन्’ टीका चौधरीले भनिन्-‘यदि अंशियार भए उनीहरुका बुबा र बाजेले किन अंश मागेनन् । अहिले अंशियार बनेका नाती पुस्ता हुन ।’
यो कुरा वडाध्यक्ष लालबिर चौधरी समेत स्विकार्छन । उनी यसअघिको कार्यकालमा समेत वडाध्यक्ष थिए । उनलाई यस घटनाका बारेमा धेरै कुराको जानकारी छ । तर उनले दुवै पक्षलाई आपसमा लडाउने काम गरेका छन । वडा कार्यालयबाट दुवै पक्षलाई अनुकुल हुने सिफारिस गरिदिएका छन । उनले एकैदिन एउटै विषयमा दुवैपक्षलाई दुईथरी सिफारिस गरेको पाईएको छ ।
उनले २०७९ पुष १७ गते मालपोत कार्यालय टीकापुरलाई चलानी नं. १३६४ को एक पत्र पठाए । जसमा पहरा डगौरा थारुका तीन जना बाजे उल्लेख छन । सो पत्रमा उल्लेख भएअनुसार २०५० को अंशबण्डामा बाजेको नाम बिछुवा, सर्वोच्चको फैसलामा बाजेको नाम जितौं र २०३८ सालको बकसपत्रमा बाजेको नाम पतिराम छ ।
सोही दिन जोजससँग सम्बन्ध राख्दछ भन्दै चलानी नं. १३६६ को अर्को सिफारिस गरे । जसमा पहरा डगौरा थारुको बुबाको नाम झुकरा र बाजेको नाम बिछुवा हो भनेर कार्यालयमा निवेदन पेश भएकाले सोही अनुसार कायमको लागि सिफारिस साथ अनुरोध छ भनिएको छ । यो सिफारिसले उनका एकमात्रै बाजे बिछुवा मात्रै हुन भन्ने पुष्टि हुन्छ ।
सोही वडाका कार्यवाहक वडाध्यक्ष प्रेमलाल चौधरीले २०७९ पुष १४ गते पहरा डगौरा थारुको पक्षमा मालपोत कार्यालय टीकापुरलाई सिफारिस गरिदिए । चलानी नं. १३५८ को पत्रमा पहरा डगौरा थारुको जग्गाधनी प्रमाणपुर्जामा बाजेको नाम उल्लेख नभए पनि २०२१ फागुन ७ गतेको मोही लगत र सर्वोच्चको फैसलामा बाजेको नाम जितौं भएको व्यहोरा उल्लेख छ । सिफारिस पत्र हेर्दा वडाध्यक्ष र कार्यवाहक वडाध्यक्षको राय एकापसमा बाझिन्छ ।
पछिल्ला दुईवटा सिफारिसमा पहरा डगौरा थारुको बाजेको नाम बिछुवा हो भनेर सिफारिस गरेका वडाध्यक्ष चौधरीले २०७९ असोज ३१ गते मालपोत कार्यालय टीकापुर पठाएको चलानी नं. १०८० को पत्रमा बाजेको नाम कायम गर्दा विवाद देखिएकोले बाजेको नाम कायम नगरिदिनु भनेका छन । उनले एकदिन अघि मात्रै २०७९ असोज ३० गते पहरा डगौरा थारुको बाजेको नाम जितौं डगौरा थारु हो भनेर मालपोत कार्यालय टीकापुरलाई सिफारिस गरेका थिए ।
एउटै विषयमा फरक-फरक सिफारिस गरेर उनले दुवै पक्षलाई आपसमा लडाउने काम गरी भूमाफियालाई सहयोग गरेको पीडित पक्षको आरोप छ । वडाध्यक्ष चौधरीले भने अदालतको आदेश अनुसार सिफारिस गरेको दावी गरेका छन । तर उनको सिफारिस अदालतको आदेश विरुद्ध देखिन्छ ।
उनले फरक-फरक व्यहोरा उल्लेख गरेर सिफारिस गर्नु कमजोरी भएको स्विकारे । ‘कतिपय कुरा व्यवहारिक रुपमा गरेको हुँ’ उनले भने-‘यसमा मेरो कुनै स्वार्थ छैन ।’
तर रहस्यको कुरा वडाध्यक्ष चौधरीले जतिसुकै सिफारिस गरे पनि मालपोत कार्यालय टीकापुरमा प्रमाणका रुपमा भने कार्यवाहक वडाध्यक्षले गरेको सिफारिस मात्रै पेश भएको देखिन्छ । उनले गरेका सिफारिस दुई पक्षलाई उक्साउन मात्रै प्रयोग भएका छन ।
सो जमिनको लामो समयदेखि मालपोत नतिरेको बताइन्छ । मालपोत तिर्न पाउँ भन्दै कृत्रिम अंशियारले दिएको निवेदनमा वडाध्यक्ष चौधरीले मालपोत तिरिसकेको भन्दै दरपिट गरिदिएका छन । सोही प्रमाणका आधारमा जग्गा नामसारी भएको देखिन्छ । मालपोत कार्यालय टीकापुरका प्रमुख दलबहादुर चन्दले वडाध्यक्षले दरपिट गरेको निवेदन अनुसार मालपोत तिरेको ठहरिने बताए ।
पीडित पक्षले मालपोत कार्यालय टीकापुरको समेत भूमाफियासँग मिलेमतो रहेको आरोप लगाएका छन । उनीहरुले आफूहरुसँग कुनै सरसल्लाह नगरेरै कृतिम अंशियारका नाममा जग्गा दर्ता गरिदिएको बताएका छन । ‘हामीसँग कुनै सरसल्लाह नै गरिएन’ जितबहादुर चौधरीले भने-‘कम्तिमा कित्ताकाट गर्दा नरमगरम बमोजिम हुनुपर्ने हो । त्यसो भएन ।’
मालपोत कार्यालय प्रमुख चन्दले अदालतको आदेश अनुसार नै काम गरेको दावी गरे । उनले मालपोत कार्यालयको यसमा कुनै संलग्नता नरहेको बताए । ‘हाम्रो कुनै संलग्नता छैन । अदालतले जे भनेको छ । सोही अनुसार गरेका छौं’ उनले भने-‘अदालतले फैसला गरेको कुरामा हामी कुनै कुरा तलमाथि गर्न पनि सक्दैनौं ।’
अदालतको आदेश अनुसार सबै जग्गालाई तीन भाग लगाईयो । माघुकी श्रीमती सुगिनको नाममा १४ कठ्ठा मात्रै बच्यो । उनीहरुका अनुसार त्यो जमिन समेत लामो समय अदालतमा मुद्दा लड्दा लागेको ऋण तिर्न बेच्नु पर्यो । माघुका चारजना छोराको बस्ने बास समेत बचेन । रामबहादुर, तेजबहादुर, जितबहादुर र रामकृष्ण भूमिहिन भएका छन भने बालकृष्णसँग ३ कठ्ठा र गोपाल र डगरामसँग बस्ने बास मात्रै बचेको छ ।
अदालतले कृषि विकास बैंकको १० लाख र सेती वित्तिय संस्थाको ५ लाख ऋण समेत उनीहरुले पाएको जग्गामा सारिदियो ।उनीहरुसँग व्यक्तिसँग लिएको ऋण पनि छ । कतिपय साहु महाजनले उनीहरुसँग चर्को ब्याज असुलेका छन । कतिपयले मुद्दा मिलाईदिने भन्दै रकम असुलेको जितबहादुर बताउँछन । उनले अझै लाखौं ऋण तिर्न बाँकी रहेको बताए ।
पहरा डगौरा थारुले प्राप्त जग्गा बेचिसकेका छन् । उनले प्राप्त गरेको कित्ता नं. ९०२ को १ विगाह १४ कठ्ठा ३ धुर मध्ये सबै जमिन बेचेका छन । सो जमिन २०७९ माघ २३ गते कञ्चनपुरको महेन्द्रनगर-१ ठेगाना भएकी द्रोपती चन्दका नाममा नामसारी भएको मालपोत कार्यालय टीकापुरको रेकर्डमा उल्लेख छ । कित्ता नं. ९०३ अन्र्तगत अतवारी सहित सात जनाका नाममा रहेको १ विगाह १४ कठ्ठा ३ धुर जमिन भने यथावत छ । सो जमिन समेत बिक्रीको तयारीमा रहेको स्रोतले बताएको छ ।
यो निकै महत्वपूणर् जमिन हो । यो जमिन टीकापुर-खक्रौला सडकसँगै जोडिएको छ । खेतीयोग्य हुनुका साथै उद्योगधन्दा स्थापनाका लागि समेत जग्गा निकै उपयुक्त छ ।