Hamro Patra

टीकापुर, असार २५
भजनी नगरपालिका–५ पगियापर्सरमा पानी पोखरीमा डुबेर दुई बालकको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय भजनीका अनुसार पोखरीमा डुबेर ज्यान जानेमा सोही ठाउँका हनी बुढा (६) र सुशान्त बुढा (५) रहेका छन ।

उनीहरुलाई आफन्तले घर नजिकैको पोखरीमा डुबेको अवस्थामा हिजो साँझ ६ बजे भेटेका थिए । मृतक हनीको शब पानीको उत्रेको र सुशान्तको शब डुबेको अवस्थामा भेटिएको थियो ।

Khadga Memorial And Janajagriti

उनीहरु दिउसो १ बजेतिर घरबाट हराएका थिए । घरका सबै सदस्य खेतमा धान रोप्न व्यस्त रहेका बेला उनीहरु घर नजिकैको पोखरीमा नुहाउन पुगेका थिए ।

उनीहरु दिउसो स्कुलबाट फर्किएका थिए । मृतक हनी भजनी बजारमा रहेको मल्टिपल बोर्डिङ्ग स्कुल र सुशान्त गाउँकै नवदुर्गा आधारभूत स्कुलमा अध्ययन गर्ने गरेको स्थानीय नृप बुढाले जानकारी दिए ।

मृतक हनीका बुबाआमा रोजगारीका क्रममा भारतमा छन । उनी आफ्ना बाजेबज्यैसँग बस्दै आएका थिए । त्यस्तै अर्का सुशान्तका बुबा रोजगारीका क्रममा दुबईमा छन ।

उनीहरुको आज प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा पोष्टमार्टम गरिएको छ । पोष्टमार्टम पछि आफन्तले शब बुझेका छन ।

प्रकाशित मिति: बुधबार, असार २५, २०७६  ०८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update