Hamro Patra
श्रीलंकामा कर्णालीको कटान

परमानन्द पाण्डे
टीकापुर, असार २५

कैलालीको टीकापुर नगरपालिका वडा नं. ८ श्रीलंका भनिने तोलीगाउँमा कर्णाली नदीले कटान गरेको छ ।

Khadga Memorial And Janajagriti

पहाडी क्षेत्रमा भइरहेको वर्षाका कारण कर्णाली नदीमा पानीको सतह बढेपछि नदी कटान तीब्र भएको हो ।

कर्णाली नदीको कटानबाट किसानहरुले लगाएको ऊुखु, तिल, मास लगायतका बाली समेत कटान भएको हो ।
वर्षेनी कर्णाली नदीले कटान गर्दै गएपछि त्यहाँका नागरिकहरु भने त्रसित भएका छन् । 

वर्षायाम सकिएर नदीमा पानीको सतह घट्ने बेला कटान हुने गरेको भए पनि यस वर्ष वर्षायामको शुरुवातबाटै कटान भएपछि स्थानीयहरु त्रसित भएका हुन् ।
स्थानीय दीपेन्द्र भण्डारीले वर्षाको शुरुवातमै नदीले कटान शुरु गरेपछि आफूहरु त्रसित भएको बताए । ‘यस वर्ष त हामीले खेती पनि गर्न पाएका छैनौं, वर्षाको शुरुवातमै कर्णाली नदीले कटान शुरु गरेको छ’–उनले भने–‘दुई विघा भन्दा बढी कटान गरिसकेको छ, यही गतिमा काट्दै गए श्रीलंका सबै नदीमा परिणत हुनेछ ।’

भण्डारीका अनुसार श्रीलंकाका दीपेन्द्र भण्डारी, गोपाल साउँद, तुलीराम चौधरी, धर्म चौधरीलगायत किसानहरुको जमिन कटान भएको हो । नदीले दिनरात लगातार कटान गरिरहेको छ । नदी कटानबाट उबंर भूमि बालुवामा परिणत हुँदै गएको स्थानीय धर्मलाल चौधरीले बताए । ‘राम्रो खेती हुने ठाउँ भए पनि नदी कटानले सखाप हुने देखिन्छ’–चौधरीले भने–‘हामी यहाँका बासिन्दाको उठिबास लाग्न बेर छैन ।’

कैलाली र बर्दियाको सीमाना पर्ने श्रीलंका बाढी प्रभावित क्षेत्र हो । बर्दियाले आफ्नो क्षेत्रमा कर्णाली नदीबाट दक्षिणतर्फ गत वर्षदेखि तटबन्ध बनाएपछि नदीको कटान झन तिब्र भएको हो । तटबन्ध सकिएको ठाउँबाटै नदीले यस वर्ष समेत कटान शुरु गरेको हो । बर्दिया र कैलालीको सीमानामा पर्ने क्षेत्रमा कैलालीको क्षेत्रमा भने तटबन्ध हुन सकेको छैन । कर्णाली नदीले श्रीलंकामा कटान शुरु गरेको टीकापुर नगरपालिका वडा नं. ८ का वडाअध्यक्ष दीर्घ ठकुल्लाले बताए ।

दुई दिन अघिदेखि नै नदीले यस वर्ष पनि कटान थालेको बताउँदै अध्यक्ष ठकुल्लाले भने कटान नियन्त्रणका लागि पहल गरिरहेको भएको पनि केही गर्न नसकिएको बताए । ‘बर्दियातिरबाट भएको तटबन्ध भन्दा तलबाट कटान शुरु छ’–ठकुल्लाले भने–‘कटानले श्रीलंकाको उर्बर भूमि सखाप हुने अवस्थामा पुग्यो ।’ नदी कटानका कारण किसानहरुले लगाएको बाली समेत नष्ट भइरहेको अध्यक्ष ठकुल्लाले बताए । नदीको कटान नियन्त्रण नभए श्रीलंकाको बस्ती नै जोमिखमा पर्नेछ । श्रीलंकामा झण्डै ३ शय स्थानीयहरु बसोबास गर्दै आएका छन् ।

प्रकाशित मिति: बुधबार, असार २५, २०७६  ०७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update