Hamro Patra
मोहना र पथरैयाको दोभानमा डल्फिन

टीकापुर, असार २२
नदीमा पानीको सतह बढेसँगै डल्फिन देखिन थालेको छ । टीकापुर नगरपालिका–७ स्थित मोहना र पथरैया नदीको दोभानमा आज बिहानै डल्फिन देखिएको छ ।

स्थानीयले नदीमा ३ वटा डल्फिन देखेका छन । जसमध्ये एउटा बच्चा रहेको स्थानीय नरेन्द्र रेग्मीले बताए । उनका अनुसार डल्फिन विस्तारै माथि बढिरहेको छ ।

Khadga Memorial And Janajagriti

गतवर्ष असार १७ गते नै मोहना र पथरैया नदीको दोभानमा डल्फिन देखिएको थियो । यसवर्ष मनसुन ढिलो गरी सुरु भएकाले डल्फिन देखिन ढिलाई भएको डल्फिन संरक्षणकर्मी विजयराज श्रेष्ठले बताए ।

जिल्लाको दक्षिणी भेगका मोहना, पथरैया, काँडा र कन्द्रा नदीमा हरेक वर्षायाममा सहजै मान्छे पछिको चेतनशील प्राणीका रुपमा चिनिने डल्फिन देख्न सकिन्छ । यी नदीमा डल्फिन असारदेखी भदौ महिनासम्म रहन्छ । स्थानीयका अनुसार नदीमा पानीको सतह नघटे असोज महिनासम्म पनि डल्फिन देख्न सकिन्छ ।

यहाँ ग्याँगेटिक जातको डल्फिन पाईन्छ । यो जातको डल्फिन नेपालका साथै भारत, पाकिस्तान र बंगलादेशमा मात्रै पाईन्छ । सरकारले वि.सं. २०२९ मा डल्फिनलाई सूचीकृत गरेको थियो । यसलाई मान्छे पछिको चेतनशील प्राणीका रुपमा लिईन्छ ।

प्रकाशित मिति: आइतबार, असार २२, २०७६  १७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update