Hamro Patra
रेशमको मुद्दा सुनुवाइ स्थगित: सुदूरपश्चिम प्रदेश सरकार विस्तार अन्यौलमा

टीकापुर, माघ १७

कैलालीको टीकापुरमा ०७२ साल भदौ ७ गते भएको घटनासम्बन्धी मुद्दाको आज हुने भनिएको सुनुवाइ स्थगित भएको छ । उक्त मुद्दाबारे सर्वोच्च अदालतमा यसअघि ८ पटकसम्म साधारण तारिख र ५ पटक पेसी स्थगित भइसकेको थियो ।

२०७२ भदौ ७ गते थरुहट/ थारुवानको आन्दोलन हिंसात्मक बनेपछि नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित ८ सुरक्षाकर्मी मारिएका थिए ।

Khadga Memorial And Janajagriti

०७५ फागुन १२ गते कैलाली जिल्ला अदालतले उक्त घटनामा रेशम चौधरीसहित ११ जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो । ०७७ साल पुस ३ गते उच्च अदालत दिपायलले चौधरीसहित आठ जनालाई जन्मकैदको फैसला सदर गरेको थियो ।

उच्च अदालत पछि रेशम चौधरी पक्षका कानून व्यवसायीले सर्वोच्चमा पुनरावेदन निवेदन दिएका थिए । 

नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डितले टीकापुर घटनाको आज सम्बोधन हुनेमा आशावादी रहेका आफूहरु पेशी सरेर निराश भएको बताए ।

‘हामी सबै साथीहरु आज केही न केही हुन्छ भन्नेमा थियौं’ उनले भने ‘फेरि पनि पेशी सरेपछि हामी निराश भएका छौं, आशा गरौं केही दिनमै उक्त मुद्दाको टुंगो लाग्नेछ ।’

उक्त मुद्दाको पेशी सरेपछि सुदूरपश्चिम प्रदेश सरकार विस्तार समेत अन्यौलमा परेको छ । नागरिक उन्मुक्ति पार्टीको समर्थनमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बनेका राजेन्द्र सिंह रावल नेतृत्वको सरकारले पूणर्ता पाउन सकेको छैन ।

माघ २६ गतेभित्र रावलले विश्वासको मत लिनुपर्ने हुन्छ । ‘हाम्रो मुख्य मुद्दा नै राजबन्दीहरुको रिहाई हो’ प्रवक्ता पण्डितले भने ‘टीकापुर घटनाको टुंगो नलागेसम्म हामी यसै भन्न सक्दैनौं, २६ गतेसम्म केही न केही हुनेमा आशावादी छौं ।’

हालसम्म सुदूरपश्चिममा मुख्यमन्त्री रावलसहित दुई जना विना विभागीय मन्त्री मात्रै नियुक्त भएका छन् ।

प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  १८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update