Hamro Patra
किसानले धान रोप्न पाएनन्, रोपेको धान समेत सुक्दै

योगेश रावल
टीकापुर, असार १९
कैलालीको जानकी गाउँपालिका–४ मुनुवाका किसान गोविन्द रावतको एक विगाह खेत बाँझै छ । उनले प्रशस्त धान फल्ने खेत अझै जोतेका समेत छैनन् । उनले धान रोप्ने ठेगान नभएपछि खेत नजोतेको बताए ।

समयमा आकाशे पानी नपरेपछि उनी जस्तै धेरै किसानका खेत बाँझै छन । सिँचाई सुविधा पुगेका र बोरिङको उपलब्धता भएका बाहेक सबै किसानले अझै खेत जोत्न सकेका छैनन् । ‘पानी पर्ने सम्भावना छैन । खेत जोतेर मात्रै के गर्नु’ उनले भने–‘आकाशबाट पानी नपरेसम्म धान रोपाई सम्भव छैन ।’

यतिबेला किसानको दिनरात खेतमै बित्नुपर्ने हो । तर प्रायः किसान खेतमा देखिदैनन् । उनीहरु निकै फुर्सदिला देखिन्छन । पानी नपरेपछि खेतबारीको काम ठप्प हुँदा किसानहरु फुर्सदिला बनेका हुन ।

Khadga Memorial And Janajagriti

बोरिङको सहारामा धान रोपेका किसानलाई समेत आकाशे पानी नपरेपछि झन ठूलो समस्या भएको छ । बोरिङले दिनहुँ सिँचाई गर्न नसक्दा खेतमा रोपेको बेर्ना सुक्न थालेको छ । टीकापुर नगरपालिका–६ का किसान कुमारराज शाहीले बोरिङ चलाएरै खेत रोपेका थिए । उनले आकाशे पानी नपरेपछि रोपेको धानको बेर्ना समेत सुक्न थालेको बताए ।

‘बल्लतल्ल खेत रोपियो । अब त्यसलाई जोगाउन गाह्रो भैरहेको छ’ उनले भने–‘आकाशे पानी नपरेपछि किसानहरु निकै समस्यामा छौं ।’

कतिपय किसानको धानको बेर्ना समेत बुढो भैसकेको छ । सामान्यतया धानको बेर्ना १५ देखी २५ दिन भित्र खेतमा रोप्नुपर्ने हुन्छ । टीकापुर नगरपालिका–५ मनिकापुरका किसान दामोदर खड्काका अनुसार किसानले बेर्ना राखेको समेत महिना दिन भन्दा बढी बितिसकेको छ ।

कैलालीको पूर्वी भेगमा रहेका टीकापुर नगरपालिकाका साथै जानकी र जोशीपुर गाउँपालिकाका केही भूभागमा कर्णाली नदीको पानीले सिँचाई हुन्छ । ती भूभागका किसानलाई भने खाशै ठूलो समस्या छैन । उनीहरु यतिबेला धमाधम धान रोपाईमा व्यस्त छन । तर सिँचाई सुविधा नभएका भूभागका किसानलाई भने धान रोप्नु निकै ठूलो समस्या भएको छ ।

भजनी नगरपालिकाको करिव २ प्रतिशत भुभागमा मात्रै सिँचाई सुविधा छ । बाँकी सबै भुभागमा किसानले बोरिङबाट पानी तानेर सिँचाई गर्छन भने नत्र आकाशे पानीको भरोसामा रहनुपर्ने वाध्यता छ । धेरैजसो किसानहरुसँग बोरिङ सुविधा नभएका कारण उनीहरु आकाशे पानीको भरमा खेतीपाती गर्दै आएका छन ।

स्थानीय गणेश बुढा बोरिङबाट पानी तानेर धान रोप्नु सबै किसानका लागि सम्भव नरहेको बताउँछन । उनका अनुसार जमिनमूनि पानीको सतह घटेका कारण कतिपय बोरिङबाट पानी समेत आउन छोडेको छ ।

‘बोरिङ पनि धेरै भए । पहिले थोरै गाड्दा पनि पानी आउथ्यो तर अहिले धेरै गहिरोमा समेत पानी आउँदैन’ उनले भने–‘आकाशको पानी नपरेसम्म बोरिङले मात्रै पनि काम हुँदैन ।’ उनले बोरिङबाट सिँचाई गरेर धान रोप्दा निकै खर्चिलो भैरहेको बताए । सबै किसानले रकम खर्च गरेर धान रोप्न सक्ने अवस्था देखिदैन । यस्ता किसानहरु अझै आकाशे पानीको भरमा बसिरहेका छन ।

घोडाघोडी नगरपालिका–१ का किसान नरहरि रिजालका अनुसार आफ्नो क्षेत्रमा असार १५ भित्र रोपाई सकिनु पथ्र्यो । यसअघिका वर्षहरुमा करिव सकिने गथ्र्यो । तर यसवर्ष सो क्षेत्रमा आधा भन्दा धेरै जमिन बाँझै छ । ‘हाम्रोतिर आजसम्म धान रोपाई सकिनु पथ्र्यो’ उनले भने–‘तर आधा पनि सकिएको छैन ।’

कैलालीमा हालसम्म ३२ प्रतिशत मात्रै धान रोपाई सकिएको छ । धान दिवस अर्थात असार १५ गतेसम्म साढे २२ प्रतिशत मात्रै सकिएको थियो । आकाशे पानी नपरेकै कारण धान रोपाई ढिलो भएको सुदूरपश्चिम प्रदेश कृषि व्यवशाय प्रवद्र्धन महाशाखा प्रमुख यज्ञराज जोशीले जानकारी दिए । उनले धान रोपाईमा भैरहेको ढिलाईले उत्पादनमा समेत असर पार्ने बताए । ‘समयमा धान रोप्न नसकिएपछि यसको असर उत्पादनमा हुने नै भयो’ उनले भने–‘धान रोपाई धेरै ढिलो भैसकेको छ ।’

समयमा धान रोप्न नपाएपछि किसानहरु निकै तनावमा छन । उनीहरु मानो रोपेर मूरी फलाउने बेलामा भैरहेको समस्याले आगामी दिन निकै कष्ठकर हुने बताउँछन । किसानले समयमा खेती गर्न नसक्दा त्यसको असर समग्र मुलुकलाई नै पर्ने देखिन्छ । कृषि उत्पादनले मुलुकको कुल ग्राह्स्थ उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने गरेको छ ।

प्रकाशित मिति: बिहीबार, असार १९, २०७६  ०७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update