Hamro Patra
आठ करोडको सिटी हल जिर्ण बन्दै

योगेश रावल
टीकापुर, असार १८
टीकापुर नगरपालिका–१ स्थित आधुनिक सिटी हल जिर्ण बन्दै गएको छ । निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा समेत सञ्चालनमा आउन नसकेपछि सिटी हल जिर्ण बन्दै गएको हो ।

टीकापुर नगर विकास समितिले २ जना चौकिदारको व्यवस्था गरेको भएपनि सिटी हल उचित संरक्षणको अभावमा जिर्ण बन्दै गएको हो । सिटी हल परिसरमा झार उम्रेका कारण कुरुप देखिन थालेको छ । सिटी हलमा लगाईएको रंगरोगन समेत मेटिन थालेको छ ।

यो सिटी हल नेपाल सरकारको ८ करोड लागतमा २०७३ सालमा निर्माण सम्पन्न भएको हो । निर्माण कम्पनी आशिष थेगेम रोयल जेभीले २०७१ मा निर्माण कार्य सुरु गरेको थियो । सिटी हल शिलान्यास पछि निर्माण कार्य सुरु हुन समेत निकै समय लागेको थियो । शिलान्यास भएको झण्डै ८ वर्षपछि निर्माण कार्य सुरु भएको थियो । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले २०६३ माघ १३ गते शिलान्यास गरेका थिए ।

Khadga Memorial And Janajagriti

सिटी हल सञ्चालनको काममा ढिलाई भएपनि यसको उद्घाटन भने हस्तान्तरण नगर्दै भैसकेको थियो । शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राइले २०७५ असोज ७ गते सिटी हलको उद्घाटन गरेका थिए । उद्घाटन भएको डेढ महिना पछि सिटी हस्तान्तरण भएको बताईएको छ ।

डेढ विगाह क्षेत्रफलमा फैलिएको वातानुकुलित सभा हलमा ३५० जना अट्ने क्षमता छ । सभा हलसँगै छुट्टै बैठक कक्ष, कार्यालय, विशिष्ट अतिथि कक्ष, गार्ड हाउस, प्रोजेक्टर कक्ष लगायत रहेको छ ।

समयमा सिटी हल सञ्चालनमा आउन नसक्दा सरकारको लगानी बालुवामा पानी हाले जस्तै भएको स्थानीय बताउँछन । उनीहरु सिटी हल सञ्चालनमा आए सभा समारोह गर्न सहज हुने बताउँछन ।

यसअघि नगर विकास समितिले सिटी हल सञ्चालनको प्रकृया सुरु गरेको थियो । समितिले एक दिनको आठ हजार रुपैयाँ लिने गरी भाडामा दिने निर्णय गरेको नगर विकास समितिका खरिदार धनीराम भण्डारीले बताए । उनका अनुसार सिटी हल अहिलेसम्म २÷३ पटक मात्रै भाडामा गएको छ । प्राप्त भाडा रकम भन्दा सञ्चालन खर्च धेरै लाग्ने भएका कारण सिटी हल सञ्चालनमा नगर विकास समितिले चाँसो नदिएको पाईएको छ ।

पछिल्लो समय नगर विकास समितिमा नयाँ नेतृत्व चयन भएको छ । टीकापुर नगरपालिकाका मेयर तपेन्द्रबहादुर रावल समितिको अध्यक्ष बनेका छन । उनको नेतृत्वमा नयाँ समिति चयन भएपछि सिटी हल सञ्चालनले गति लिने विश्वास गरिएको छ ।

मेयर रावलले सिटी हल सञ्चालनका बारेमा प्रकृया सुरु भएको जानकारी दिए । उनले नगरपालिकाले आफै सञ्चालन गर्ने वा निजी क्षेत्रलाई दिने भन्ने बारेमा छलफल भैरहेको बताए । ‘सिटी हल कसरी सञ्चालन गर्दा राम्रो हुन्छ त्यसैगरी सञ्चालन गर्छौ’ उनले भने–‘निजी क्षेत्रलाई दिने बारेमा समेत छलफल भैरहेको छ ।’

सरकारको यति ठूलो लगानीमा तयार भएको सिटी हल सञ्चालनमा नआउँदै जिर्ण बन्न थालेपछि स्थानीयले चिन्ता व्यक्त गरेका छन । उनीहरु नगरपालिकाले सिटी हल सञ्चालनमा ल्याएर सरकारी लगानीको सदुपयोग गर्नुपर्ने बताउँछन ।

प्रकाशित मिति: बुधबार, असार १८, २०७६  १२:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update