Hamro Patra
अख्तियारमा स्थानीय पालिकाका उजुरी धेरै

टीकापुर, पुस २५
अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरमा सबैभन्दा धेरै उजुरी स्थानीय पालिका विरुद्ध पर्न थालेका छन । कार्यालयले आज टीकापुरमा आयोजना गरेको भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धी पालिका स्तरीय अन्तरक्रिया कार्यक्रममा यस्तो कुरा बताएको हो ।

आयोगका अनुसार प्राप्त उजुरी मध्ये अधिकांश स्थानीय पालिकामा हुने अनियमितता सम्बन्धी हुने गरेका छन । स्थानीय पालिकाले सम्पादन गर्ने हरेक जसो कार्यमा उजुरी पर्ने गरेको बताईएको छ ।

पालिका विरुद्ध धेरैजसो उजुरी आफ्नो मान्छेलाई जागिरमा भर्ना गरेको भन्दै पर्ने गरेको आयोगको कञ्चनपुरस्थित कार्यालयका सूचना अधिकारी नारायणप्रसाद ढकालले जानकारी दिए ।

Khadga Memorial And Janajagriti

‘धेरै पालिकामा यस्तो समस्या देखिएको छ’ उनले भने–‘यस बारेमा अख्तियारको ध्यानाकर्षण भएको छ ।’

उनले यसका अलावा उपभोक्ता समिति गठनमा बदमासी, योग्यता नभएका व्यक्तिले अनुगमन गर्ने गरेको, खरिद प्रकृया मिच्ने गरेको, अनियन्त्रित रुपमा डिपिआर निर्माण लगायतका काममा उजुरी पर्ने गरेको बताए ।

उनले स्थानीय पालिकाको आर्थिक सहयोगमा हुने कार्यक्रममा समेत अनियमितता हुने गरेको बताए । उनका अनुसार कार्यक्रममा थोरै व्यक्तिको उपस्थिति भएपनि धेरै व्यक्तिले खाजा भत्ता लगायतका सुविधा बुझेको किर्ते कागज तयार पारेर अनियमितता गर्ने गरेको पाईएको छ ।

‘स्थानीय पालिकाका धेरै विषयमा उजुरी पर्ने गरेको छ’ उनले भने–‘अन्य निकायको भन्दा स्थानीय पालिका विरुद्ध परेका उजुरीको संख्या धेरै हो ।’
उनले टीकापुर नगरपालिकामा चालु आवमा ३ वटा उजुरी परेको जानकारी दिए । उनका अनुसार ४ उजुरी गत आवमा परेका थिए । ती मध्ये ३ उजुरीलाई तामेलीमा राखेर ४ उजुरी बारे अनुसन्धान भैरहेको छ ।

सुदूरपश्चिम प्रदेशका नौ जिल्ला मध्ये सबैभन्दा धेरै उजुरी कैलाली जिल्लाका रहेका छन । गत आव सम्ममा कैलाली जिल्लामा ४६३ उजुरी थिए । ती मध्ये अहिले १३२ उजुरी बारे अनुसन्धान भैरहेको सूचना अधिकारी ढकालले जानकारी दिए । बाँकी उजुरी मध्ये कतिपय फच्र्यौट भैसकेको र केही तामेलीमा रहेका छन ।

सुदूरपश्चिमका नौ जिल्लाबाट गत आवमा ७०७ उजुरी दर्ता भएका थिए भने त्यसअघिका आवबाट सर्दै आएका १ हजार ३२ उजुरी थिए । कार्यालयले १ हजार ६२ उजुरी फच्र्छौट गरेको छ भने ६७२ उजुरी बाँकी छन ।

कार्यालय प्रमुख रामबहादुर कुरुम्वाङले उजुरी नपरेका विषयमा समेत आयोगको ध्यानाकर्षण हुने गरेको बताए । उनले सञ्चार माध्यममा आएका कुरालाई मात्रै नभई सोसल मिडियाका कुरालाई समेत आयोगले उजुरीका रुपमा लिने बताए ।

‘कसैले सोसल मिडियामा कमेन्ट गरेको छ भने पनि हामी गम्भिरताका साथ हेर्छौ’ उनले भने–‘आयोग चुप लागेर बसेको छैन ।’

उनले टीकापुर नगर विकास समितिको जग्गा काण्डमा सोधिएको जिज्ञासामा २/३ महिना भित्रै निष्कर्षमा पुर्याउने गरी काम भैरहेको बताए । उनले केही वर्षअघि तामेलीमा राखेको सो विषयलाई आफैले पुनः अनुसन्धान थालेको जानकारी दिए ।

‘५/६ वर्षअघि तामेलीमा गएको थियो’ उनले भने–‘अहिले म आफैले हेरिरहेको छुँ । २/३ महिना भित्र निष्कर्षमा पुग्छ ।’

तत्कालिन समितिको बोर्डमा रहेका व्यक्तिहरुले अनियमित ढंगले घडेरी बेचेका थिए । सो कार्यमा तत्कालिन राजनीतिक संयन्त्रको समेत संलग्नता रहेको थियो ।

प्रकाशित मिति: सोमबार, पुस २५, २०७९  १८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update