Hamro Patra
विद्यार्थीलाई डुंगाकै भर

परमानन्द पाण्डे
टीकापुर, असार १७
कैलालीको जोशीपुर गाउँपालिका–३ बञ्जरिया काँडा नदीपारीको बस्ती हो । नदीपारी बञ्जरिया, भगैंया, र झण्डै ५ शय मुक्तकमैयाको बस्ती रामनगर शिविर छ । बञ्जरियामा कक्षा ८ सम्म पढाई हुने जनजागृति आधारभूत विद्यालय र ५ कक्षासम्म पढाई हुने मुक्त कमैया प्राथमिक विद्यालय छन् ।

माध्यमिक र उच्च शिक्षा अध्ययनका लागि यहाँका विद्यार्थीहरु वर्षाभरि डुंगाकै भर पर्छन् । नदीमा ठूलो बाढी आउँदा उनीहरु विद्यालय जान पाउँदैनन् । ९ जनासम्म अट्ने सानो डुंगाकै भरमा उनीहरु विद्यालय आउजाउ गर्छन् ।
स्थानीय धर्मेन्द्र विष्टले प्राथमिक तहभन्दा माथिको शिक्षा आर्जन गर्न गाउँका बालबालिकालाई नदीपारिको जोशीपुर र बौनियाँसम्म जानुपर्ने बाध्यता रहेको बताए । ‘वर्षायाममा काँडा नदीमा पानी बढेर वारपार गर्न निकै समस्या हुने गरेको छ’ विष्टले भने–‘विद्यार्थीलाई अध्ययन गर्नका लागि डुंगाबाटै जानुपर्ने बाध्यता छ ।’

जोशीपुरको मोहन्याल माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत प्रकाश चौधरी डुंगा तरेर विद्यालय जानुपर्दा सधैं डर लाग्ने गरेको बताउँछन्  । ‘वर्षामा विद्यालयमा गएका बेला बाढी आए घर फर्किन निकै समस्या हुने गरेको छ’ चौधरीले भने, ‘कतिपय बेला आफन्त खोज्दै जोशीपुरमै बस्ने गरेका छौं ।’

Khadga Memorial And Janajagriti

बञ्जरियाको जनजागृति माध्यमिक विद्यालयका प्रधानाध्यापक कालिराम चौधरीले वर्षायाममा विद्यार्थी मात्र नभई शिक्षक र स्थानीयलाई समेत समस्या हुने गरेको बताए । ‘हामी आफै पनि कहिलेकाहीं बाढीका कारण घर फिर्ता हुन पाउँदैनौं’–उनले भने–‘विद्यार्थीलाई माध्यमिक तहको शिक्षा दिन जोखिम मोल्दै पठाउनु पर्ने बाध्यता छ ।’

ती गाउँबाट दैनिक ५ शय बढी विद्यार्थीहरु जोशीपुर, बौनियाँ र मुद्दीमा अध्ययन गर्न आउजाउ गर्छन् । जोशीपुर गाउँपालिकाले विद्यार्थीलाई ओहोरदोहोर गराउन विद्यालयलाई सानो डुंगा दिएको छ । डुंगा तरेर आउनु पर्दा विद्यार्थीहरु समयमा नपुग्ने, छिटो घर जाने जस्ता समस्याहरु हुने गरेको शिक्षक चौधरीले बताए ।

‘यी गाउँबाट दैनिक ५ शय भन्दा विद्यार्थी माध्यमिक र उच्च शिक्षाका लागि घरबाटै आउजाउ गर्छन्’ उनले भने ‘दैनिक डुंगामा नदी वारपार गर्दा जोखिम मोलिराखेका छन् ।’

विद्यार्थी मात्र होइन् वर्षायाममा त्यहाँका स्थानीय बासिन्दा समेत सानो डुंगामा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । स्थानीय रामसेवक चौधरीले बेलाबखत ढुंगा पल्टेर दुर्घटना समेत हुने गरेको बताए । ‘यहाँभन्दा अगाडि कतिपटक त डुंगा पल्टिएको छ’ चौधरीले भने, ‘सामान्य दुर्घटना हुने गरेको भए पनि ठूलो दुर्घटना भने भएको थाहा छैन ।’

त्यहाँको मुख्य समस्या नै काँडा नदी र रहेको वडाअध्यक्ष किशोर कठरियाले बताए । अध्यक्ष कठरियाले भने ‘काडाँ नदीमा पुल निर्माणका लागि लामो समयदेखि माग गर्दै आएका थियौं, पुल बन्ने क्रममा रहेको छ अर्को वर्षासम्म डुंगा तर्नु पर्दैन ।’

विद्यार्थी मात्र नभई यहाँका बासिन्दाले दैनिक उपभोग्य सामाग्री लिन समेत जोखिमपूर्ण डुंगा तर्नुपर्ने बाध्यता रहँदै आएको छ ।

प्रकाशित मिति: मंगलबार, असार १७, २०७६  ०८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update