Hamro Patra
केराको बेर्ना उत्पादन शुरु

परमान्द पाण्डे
टीकापुर, असार १६
केराको पकेट क्षेत्रका रुपमा विकसित हुँदै आइरहेको टीकापुरमा टिस्यु कल्चर प्रविधिबाट केराको बेर्ना उत्पादन शुरु भएको छ ।

केराखेतीबाट राम्रो आम्दानी हुन थालेपछि युवाको आकर्षण बढ्दै गइरहेका बेला टीकापुरका दुई युवा कृषकले टिस्यु कल्चर प्रविधिबाट केराको बेर्ना उत्पादन शुरु गरेका हुन ।

बिऊ अभावका कारण अपेक्षा अनुसार केराखेती फस्टाउन नसकेपछि टीकापुर नगरपालिका–४ का युवा कृषक टेकेन्द्र धामी र देवीराम कोइरालाले केराको बेर्ना उत्पादन शुरु गरेका हुन ।

Khadga Memorial And Janajagriti

आठ वर्ष पहिले केराखेती शुरु गरेका कृषकद्वयले गतवर्षदेखि टिस्यु कल्चर प्रविधिबाट केराको वेर्ना उत्पादन गरिरहेका छन् । भारतको गुजरात राज्यस्थित अहमदाबादको एबिसी बायो टेक्नोलोजी कम्पनीबाट टिस्यु कल्चर प्रविधि सम्बन्धी उनीहरुले तालिम लिएपछि केराको वेर्ना उत्पादन शुरु गरेका हुन ।

‘गतवर्ष हामीले गुजरातको एबीसी कम्पनीमा गएर तालिम लिएपछि केराको बेर्ना उत्पादन शुरु गरेका हौं’–धामीले भने–‘ग्रिनहाउस निर्माण, हाइटेक नर्सरी निर्माण, बोटको उपचार पद्दतिका बारेमा हामीले तालिम लिएपछि सजिलो भएको हो ।’

ललितपुरमा रहेको जी सेभन कम्पनीको प्राविधिक सहयोगमा १० कठ्ठा जमिनमा स्थापना गरिएको एग्रिनेट र हाइटेक नर्सरीमा नेट हाउस र तापक्रम व्यवस्थापन गर्ने फोगर निर्माणमा झण्डै २०लाख रुपैयाँ लगानी भएको छ ।
नर्सरीबाट टिस्यु कल्चर प्रविधिमा जि नाइन र विलेयम जातका केराको वेर्ना, सुन कागती र अनारका वेर्ना पनि उत्पादन भइरहेका छन । ल्याबबाट तन्तु प्रजनन् गरेर विरुवा निकाल्ने यो प्रविधिबाट उत्पादित केराका झण्डै ३ लाख बेर्ना बिक्री गरिएको कृषक देवीराम कोइरालाले बताए ।

‘अत्याधुनिक ल्याबबाट उपचार पछि उत्पादन गरिएका केराका बेर्नाहरुमा रोग कमलाग्ने, रोगसँग लड्ने क्षमता बढी हुने, एकैनाशको उत्पादन दिने हुनाले कृषकको आकर्षण बढ्दै गइरहेको छ’–कोइरालाले भने–‘गतवर्ष ७० हजार बेर्ना बिक्री गरेकोमा यस वर्ष हामीले झण्डै ३ लाख बढी विरुवा बिक्री गरेका छौं ।’

कैलाली र कञ्चनपुरमा केरा खेती विस्तार भइरहेको छ । बेर्नाको परनिर्भरता हटाउने लक्ष्यका साथ आफुहरुले टिस्यु कल्चर प्रविधिबाट वेर्ना उत्पादन थालेको कोइरालाले बताए ।

टिस्यु कल्चर प्रविधिबाट उत्पादन गरिएको विरुवामा रोगसँग लड्ने क्षमता हुने हुँदा रोपेपछि बोट पहिलो हुदै जाने, गुवो कुहिने र बोट सुक्दै जाने लगायतका रोग नलाग्ने तथा केराको उत्पादकत्व समेत बृद्धि हुनाले यो प्रविधि लोकप्रिय बन्दै गएको हो ।

नर्सरीले उत्पादन गरिरहेका विलयम र जि नाइन जातका केरा कम समयमा कम लगानीमा धेरै उत्पादन हुने गरेको केरा कृषक विनोद साह बताउँछन् ।

‘टिस्युकल्चर विरुवाबाट कम समयमा कम लगानीमा राम्रो उत्पादन भएको पाएका छौं’–साहले भने–‘सकर विरुवाबाट पनि नहुने होइन, तर कृषकहरु पछिल्लो समय टिस्यु कल्चरमा आकर्षित भइरहेका छन् ।’
आधुनिक प्रविधिमैत्री नर्सरी सञ्चालनमा रानी जमरा कुलरिया सिचाई आयोजना अन्र्तगतको कृषि इकाईले सहयोग गर्दै आइरहेको छ ।

आयोजनाले कृषकहरुका लागि चाहिने बिऊ, कृषि उपकरण आदिमा अनुदान दिन थालेपछि समेत कृषकहरु केराखेती तर्फ आकर्षित हुँदै आएका छन ।
टीकापुर क्षेत्रमा मात्रै झण्डै ५ शय हेक्टर क्षेत्रफलमा केराखेती हुँदै आएको छ ।

के हो टिस्युकल्चर प्रविधि ?

टिस्युकल्चर प्रविधि एउटा स्वस्थ विरुवाको निकै सानो कोष (सेल) बाट हजारौं विरुवा निकाल्न सकिने अत्याधुनिक प्रविधि हो । कुनै पनि स्वस्थ विरुवाको डाँठबाट सानो कोष निकालेर हाइटेक ल्याबमा बायोटेक इञ्जिनियर (प्राविधिक) हरुले विरुवाहरु उत्पादन गर्दछन् । एउटा कोषलाई हाइटेक ल्याबमा केमिकलहरुको प्रयोग गर्दै हुर्काउँदै साना साना कोषहरुमा विभाजन गरेर हजारौं विरुवा उत्पादन गर्न सकिन्छ । विरुवाको कोषलाई हुर्काउन ल्याबमै ६ महिनासम्म समय लाग्दछ । वातावरण सुहाउँदो बायोटेक नर्सरीमा ल्याबबाट निकालेर झण्डै ३ महिनासम्म विरुवालाई हुर्काइन्छ ।

३ महिनासम्म ल्याबमा हुर्किएको विरुवालाई जहाँको माटोको लागि तयार गरिएको त्यही ठाउँमा ग्रिन हाउस निर्माण गरेर राखिन्छ । झण्डै ३ महिना ग्रिन हाउस नर्सरीमा हुर्किएपछि मात्र यो विरुला रोप्नका लागि तयार हुन्छ । कृषि विज्ञ कुलप्रसाद तिवारीका अनुसार टिस्युकल्चर विरुवा रोप्नका लागि तयार हुन झण्डै एक वर्ष लाग्छ । ‘अत्याधुनिक वायोटेक ल्याबभित्र केमिकलहरुको सहायताले हुर्किने हुनाले विरुवा रोप्नका लागि तयार हुन झण्डै एक वर्षको समय लाग्छ’– तिवारीले भने –‘नर्सरीमै निकै सजगताका साथ हुर्किने हुनाले टिस्युकल्चर विरुवा अन्यको तुलनामा रोग कम लाग्ने, बढी फल दिने, रोगसँग लड्ने क्षमता बढी हुने हुन्छ ।’

यसरी हुर्किएको विरुवालाई विभिन्न देशहरुमा पुर्याउन सजिलो हुन्छ । निकै सानो आकारमा विरुवा हुने हुँदा ढुवानी गर्न सजिलो हुने तिवारी बताउँछन् । लाखौं विरुवा एउटै गाडीमा ल्याउन सकिन्छ । केरा मात्र नभई फलफूलका अन्य विरुवाहरु समेत टिस्युकल्चर प्रविधिबाट उत्पादन गर्न सकिन्छ । कृषि विज्ञ तिवारीका अनुसार नेपालमा टिस्युकल्चर प्रविधिको ल्याब छैन । भारत लगायतका अन्य देशबाट टिस्युकल्चर गरेर ल्याइएको विरुवा केही महंगो पर्न जान्छ । नेपालमै यसको ल्याब र दक्ष जनशक्ति उत्पादन गर्न सके विरुवाको बेर्ना उत्पादन गर्न सस्तो हुने उनले बताए । हाल नेपालमा टिस्युकल्चर प्रविधिका विरुवाहरु विशेषगरी भारतबाट आउने गरेका छन् ।

प्रकाशित मिति: सोमबार, असार १६, २०७६  १७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update