Hamro Patra
टीकापुरको नीति तथा कार्यक्रम महिलामैत्री

योगेश रावल
टीकापुर, असार १२
टीकापुर नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम महिलामैत्री बनाएको छ । उसले महिलाका धेरैजसो सवाललाई समेटेको पाईएको छ ।

नगरपालिकाले आफ्ना हरेकजसो क्रियाकलापमा महिलाको सहभागिता खोजेको छ । महिलाहरुको सशक्तिकरण, नेतृत्व विकास, उद्यमशिलता र सीप विकास गरी विकास निर्माण, योजना निर्माण, योजना कार्यान्वयन र अनुगमनमा ४० प्रतिशत सहभागिता सुनिश्चित गर्ने नीति ल्याईएको छ । महिलाहरुको बढ्दो सहभागिताले विकास निर्माणका काममा बदमासी नहुने विश्वास नगरपालिकाले गरेको छ ।

बढ्दो बालविवाहलाई न्यूनिकरणका लागि नगरपालिकाले ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम ल्याएको छ । जसमा आर्थिक वर्ष २०७६÷०७७ साउन १ गतेदेखी जन्मिएका हरेक छोरीलाई २० वर्षसम्म वार्षिक १ हजार रुपैयाँ उपलब्ध गराईनेछ । सो रकम बैंक खाता खोलेर जमा गरिनेछ ।

Khadga Memorial And Janajagriti

बैंक खातामा जमा भएको रकम २० वर्ष भन्दा अगावै बिहे गरी जाने छोरीलाई उपलब्ध नगराईने नीति अघि सारिएको छ । जसका कारण २० वर्ष भन्दा मूनी गरिने बालविवाह हट्ने नगरपालिकाले विश्वास गरेको छ ।

यसैगरी महिला लक्षित छाउपडी प्रथा उन्मुलनका लागि समेत नगरपालिकाले कार्यक्रम सञ्चालन गर्ने भएको छ । जसका लागि लैङ्गिक समानता सहितको उच्च संस्कारयुक्त नागरिक तथा सभ्य समाजको निर्माण गर्न छाउपडीमुक्त नगरपालिका घोषणा गरिने कार्यक्रम छ ।

ग्रामीण क्षेत्रमा बसोबास गर्ने महिलाहरुको आर्थिक अवस्था सुधार्ने नीति समेत नगरपालिकाले लिएको छ । जसका लागि विपन्न महिलाहरुको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले विभिन्न सीपमूलक तालिम सञ्चालन गरिने उल्लेख छ । यसका साथै महिलाको सामाजिक सशक्तिकरणका लागि व्यक्तित्व विकासका कार्यक्रम समेत सञ्चालन गर्ने बताईएको छ ।

यसका साथै आर्थिक संकट न्यूनिकरणको लागि विवाहित र उमेर ढल्केका वयस्क महिलाहरुलाई समुहमा आवद्ध गरी बचत गर्ने बानीको विकास गर्ने नीति समेत नगरपालिकाले लिएको छ ।

नीति तथा कार्यक्रमले एकल महिलाहरुको सामाजिक, आर्थिक विकासका लागि क्षमता अभिवृद्धिका साथै आयआर्जनमा टेवा पुग्ने किसिमका सीपमूलक तथा रोजगारमूलक कार्यक्रम समेत अघि सारेको छ ।

नगरपालिकाले चालु आर्थिक वर्ष २०७५÷०७६ मा गर्भवती महिलाका लागि सञ्चालन गरेको ‘होम टु हस्पिटल’ कार्यक्रमलाई आगामी वर्ष समेत निरन्तरता दिने उल्लेख गरेको छ । उसले पूर्ण संस्थागत सुत्केरी नगरपालिका घोषणा अभियान अघि बढाउने नीति लिएको छ ।

नगरपालिकाले ‘आमासँग उपमेयर’ कार्यक्रम ल्याएको छ । जसमा सुत्केरी अवस्थामा पोषणयुक्त खानाको महत्व दर्शाई पोषणयुक्त खाना खाने बानीको विकास गर्न सुत्केरी महिलालाई पोषणयुक्त सामाग्री हस्तान्तरण गरिनेछ । उसले कुपोषणमुक्त नगरपालिका घोषणा अभियान कार्यक्रम सञ्चालन गरिने बताएको छ ।

यसैगरी नगरपालिकाले ‘गर्भवती महिलासँग सञ्चार’ कार्यक्रम समेत ल्याएको छ । जसको उद्देश्य बाल मृत्युदर र मातृ मृत्युदरलाई न्यूनिकरण गर्नु रहेको छ । यसका लागि महिला स्वास्थ्य स्वयम्सेविकालाई गर्भवती महिला र शिशुको सुरक्षासँग सम्बन्धित सूचना आदान प्रदानका लागि मोवाइल उपलब्ध गराईनेछ ।

नगरपालिकाले आमा सुरक्षा कार्यक्रमलाई थप व्यवस्थित बनाउन नगर स्तरीय सुरक्षित मातृत्व आकस्मिक कोषको स्थापना गर्ने बताएको छ ।

नगरपालिकाले महिलामैत्री नीति तथा कार्यक्रम कार्यान्वयनलाई प्राथमिकतामा राखेर काम गर्ने उपमेयर केशरी रावल बिष्टले जानकारी दिईन । उनले सबै कार्यक्रम वडा कार्यालयको समन्वयमा गरिने भएकाले कार्यान्वयनमा कुनै समस्या नहुने दावी गरिन ।

उनले नगरपालिकाले सम्पादन गर्ने हरेक कुरामा महिलाको सहभागीता बढाउन महिलामैत्री नीति तथा कार्यक्रममा जोड दिईएको बताईन । ‘महिलाको सहभागिता मुखले भनेर मात्रै हुँदैन, त्यो कार्यान्वयनमै हुनुपर्छ’ उनले भनिन्–‘आफ्नो व्यक्तित्व विकासका लागि समेत महिला अघि सर्न जरुरी छ ।’

नगर कार्यपालिका बैठकले असार ७ गते आर्थिक वर्ष २०७६/०७७ को लागि प्रस्तुत नीति तथा कार्यक्रम अनुमोदन गरेको छ । नगरपालिकाले गतवर्ष ल्याएका कतिपय नीति तथा कार्यक्रम कार्यान्वयन हुन नसकेको अवस्थामा महिलामैत्री कार्यक्रमहरु समेत कार्यान्वयन हुने बारेमा सरोकारवालाको आशंका छ ।

प्रकाशित मिति: बिहीबार, असार १२, २०७६  ०८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update