Hamro Patra
आठ वर्षमा पूरा भएन विद्युत गृह निर्माणको काम

टीकापुर, पुस १६

तीन वर्ष भित्र सम्पन्न गर्ने गरी निर्माण सुरु भएको राष्ट्रिय गौरवको रानी जमरा कुलरीया सिँचाई आयोजना अन्र्तगत विद्युत गृह निर्माणको काम आठ वर्षसम्म सम्पन्न हुन सकेको छैन ।

सन् २०१४ मा सुरु भएको विद्युत गृह निर्माणको काम पाँचौ पटक म्याद थप भएको छ । पछिल्लो पटक थपिएको म्याद आगामी चैत्र मसान्त भित्र सम्पन्न हुने उल्लेख छ । सो समय भित्र पनि विद्युत गृह निर्माणको काम सम्पन्न नहुने सम्भावना बढेको छ ।

Khadga Memorial And Janajagriti

विद्युत गृह निर्माणको काम विभिन्न बहानामा ढिलाई भैरहेको छ । पछिल्लो पटक असोज महिनामा आएको बाढीले विद्युत गृह निर्माणको काममा क्षति पुर्याएको छ । बाढीका कारण निर्माणाधिन संरचनामा क्षति पुगेपछि काममा ढिलाई भएको आयोजनाका सूचना अधिकारी प्रेम लासिबाले जानकारी दिए ।

उनले जडान भैसकेका उपकरण पुनः मर्मत गर्नुपर्ने भएकाले काममा ढिलाई भैरहेको बताए । ॅजोडेका सामान झिकेर मर्मत गर्नुपर्ने भयो’ उनले भने 'यसो गर्दा केही समय काममा ढिलाई हुने नै भयो ।’ उनले पछिल्लो थप भएको समय भित्र निर्माण सम्पन्न गर्ने गरी काम भैरहेको दावी गरे ।

विद्युत गृह निर्माणले बेलाबेलामा विभिन्न अवरोध खेप्नु परेको छ । सुरुका दुई वर्ष वन विभागले रुख काट्न आदेश नदिएका कारण निर्माणको काम रोकिएको थियो । समयमा रुख काट्ने आदेश नपाएपछि निर्माण कम्पनी एसईडब्ल्यू/टुण्डी जेभीले विद्यृत गृह निर्माणको काम सुरु गर्न पर्खिनु पर्यो ।

विद्युत गृह निर्माणको काम सुरु भएपछि समेत विभिन्न अवरोध देखा परे । विद्यृत गृह निर्माणका लागि खनिएको खाल्डोमा अनियन्त्रित रुपमा जमिनमूनिबाट पानी निस्कियो । जसको व्यवस्थापन निर्माण पक्षका लागि निकै ठूलो चुनौती बन्न पुग्यो । निर्माण कम्पनीले खाल्डोमा पानी जम्न नदिन बोरिङका सहायताले जमेको पानी बाहिर निकाल्यो ।

निर्माण पक्षले खाल्डो सुख्खा पारेर विद्यृत गृहको फाउण्डेशन तयार पारेपछि एकाएक डिजाइनमा फेरबदल भयो । नयाँ डिजाइन बनाउनु पर्ने भन्दै केही समय विद्युत गृह निर्माणको काम पुनः रोकियो । जसका कारण विद्युत गृह निर्माणको म्याद बेला बेलामा थप्नुपर्ने वाध्यता सिर्जना भएको आयोजनाले जनाएको छ ।

जानकी गाउँपालिका-९ कटासे बजार नजिकै विद्युत गृह निर्माणको काम भैरहेको छ । यो विद्युत गृह नेपाल सरकारको करिव ९० करोडको लागतमा निर्माण हुन लागेको छ । करिव ८० करोड लागतमा निर्माण हुने भनिए पनि डिजाइन परिवर्तन भएपछि १० करोड लगानी थप भएको हो ।
यसबाट ४ दशमलव ७१ मेघावाट विद्युत उत्पादन हुने बताईएको छ ।

यहाँ उत्पादित विद्युत आयोजना क्षेत्र भित्रका बासिन्दालाई उपभोगका लागि वितरण गर्ने आयोजनाको उद्देश्य छ । आयोजनाले विद्युतबाट भएको आम्दानीले सिँचाई आयोजना मर्मत सम्भार लगायतका काममा खर्च गर्न सकिने जनाएको छ ।

सिँचाई आयोजनाको काम सर्भे भैरहेका बेला विज्ञहरुको टोलीले नहरबाट विद्युत उत्पादन गर्न सकिने कुरा औंल्याएका थिए । सोही आधारमा रानी जमरा कुलरीया जल उपभोक्ता समितिले सम्भाव्यता अध्ययनका लागि सरकार समक्ष आग्रह गरेको थियो । विज्ञहरुको टोलीले विद्युत उत्पादनको सम्भावना रहेको भन्दै सरकार समक्ष प्रतिवेदन बुझाएपछि सरकारले सिँचाई आयोजना भित्रै विद्युत उत्पादनको कामलाई समेत जोडेको थियो ।

यो विद्युत गृहसँगै आयोजनाले अन्य ठाउँमा समेत विद्युत उत्पादनको सम्भाव्यताका बारेमा अध्ययन गरिरहेको छ । लम्की चुहा नगरपालिकामा १ मेघावाट र जानकी गाउँपालिकाको दुर्गौली नजिकै केही मात्रामा विद्युत उत्पादन गर्न सकिने सम्भावना देखिएको बताईएको छ ।

प्रकाशित मिति: शनिबार, पुस १६, २०७९  १५:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update