Hamro Patra
बजेटमा जनप्रतिनिधिबीच विवाद, स्थानीय सरकारले निर्धारित समयमा बजेट ल्याउन सकेनन्

टीकापुर, असार १०
कैलालीका अधिकांश स्थानीय तहले निर्धारित समयमा बजेट ल्याउन सकेनन् । जनप्रतिनिधिबीचको तिब्र विवादका कारण स्थानीय तहले बजेट ल्याउन नसकेको पाईएको छ ।

असार १० गते भित्र नगर तथा गाउँ सभामा बजेट प्रस्तुत गर्नपर्ने कानूनी व्यवस्था भएपनि स्थानीय तहले अटेर गरेको पाईएको छ ।

टीकापुर नगरपालिकाले आफ्नो पाँचौ नगर सभामा विवादका कारण बजेट प्रस्तुत गर्न सकेन । बजेट बाँडफाँडका विषयमा मेयर, उपमेयर र वडाध्यक्षहरुबीच विवाद बढेपछि नगरसभामा बजेट प्रस्तुत हुन नसकेको स्रोतको दावी छ ।

Khadga Memorial And Janajagriti

वडाध्यक्षहरुले वडा कार्यालयमा कम बजेट भएको भन्दै विरोध जनाएका छन । वडा नं. ६ का वडाध्यक्ष बलिराम चौधरीले नगरपालिकाका शाखा भन्दा कम बजेट दिएर अपमान गर्ने काम गरेको आरोप लगाए ।

नगरपालिकाका प्रवक्ता दीर्घ ठकुल्लाले बजेटका बारेमा प्रयाप्त छलफल हुन नसकेका कारण निर्धारित समयमा बजेट प्रस्तुत हुन नसकेको बताए । उनले जनप्रतिनिधिहरुबीच धेरै ठूलो विवाद नरहेको दावी गरे । ‘विवाद सामान्य हो । यत्तिको विवाद हुनुलाई सामान्य रुपमा लिनुपर्छ’ उनले भने–‘प्रयाप्त छलफल नभएका कारण ढिलो भएको हो ।’

लम्कीचुहा नगरपालिकाले समेत विरोधका कारण निर्धारित समयमा बजेट पेश गर्न सकेन । वडाध्यक्ष भक्त चलाउनेले बजेटका बारेमा कार्यपालिका बैठकमा कुनै छलफल नभएको जानकारी दिए ।

मेयर महादेव बजगाईका सल्लाहकार विष्णु खनालले जनशक्ति अभाव लगायतका कारण बजेट पेश गर्न ढिलाई भएको बताए ।

भजनी नगरपालिकाले भने आर्थिक वर्ष २०७६/०७७ का लागि ५७ करोड ९४ लाख ४१ हजार २६१ रुपैयाँ बराबरको बजेट नगरसभामा प्रस्तुत गरेको छ । तर सो बजेट योजनागत रुपमा छुट्याउन भने बाँकी रहेको उपमेयर छाया देवकोटाले जानकारी दिईन ।

जानकी गाउँपालिकाले समेत पाँचौ गाउँ सभामा ४५ करोडको बजेट मात्रै पेश गरेको छ । अध्यक्ष प्रदिप चौधरीले योजनागत रुपमा बाँडफाँड गर्न अझै केही दिन लाग्ने बताए । उनले बजेट बाँडफाँडमा जनप्रतिनिधिहरुबीच विवाद नरहेको दावी गरेका छन । स्रोतका अनुसार त्यहाँ समेत बजेट बाँडफाँड प्रति जनप्रतिनिधिहरुको असहमति रहेको छ ।

जोशीपुर गाउँपालिकाले भने असार ६ गते नै तेस्रो गाउँसभामा नीति तथा कार्यक्रम र बजेट पेश गरिसकेको छ । अध्यक्ष रामकृष्ण चौधरीले ३६ करोड २ लाख ६३ हजार बराबरको बजेट प्रस्तुत भएको जानकारी दिए । उनका अनुसार बजेटको योजनागत बाँडफाँड भने हुन सकेको छैन । उनले बजेट बाँडफाँडमा जनप्रतिनिधिहरुबीच कुनै विवाद नरहेको बताए । गाउँसभाले नीति तथा कार्यक्रम भने पाश गरेको छ ।

बर्दगोरीया गाउँपालिकाले समेत आगामी आर्थिक वर्षका लागि बजेट शिर्षक मात्रै सार्वजनिक गरेको छ । पाँचौ गाउँसभामा ३१ करोड ५० लाख ८४ हजार बराबरको बजेट पेश गरिएको छ । गाउँसभामा पेश भएको बजेट योजनागत रुपमा बाँडफाँड हुन बाँकी रहेको वडाध्यक्ष जयरुप खतिवडाले जानकारी दिए । उनले जनप्रतिनिधिकाबीच कुनै किसिमको विवाद नरहेको दावी गरे ।

 

प्रकाशित मिति: मंगलबार, असार १०, २०७६  १७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update