प्रसङ्ग १ः
नेपाल सरकारको निजामति तिर एक जना मेरो मित्र छ । घर पश्चिम तिर नै । हाल काठमाण्डौंतिर जागिर खाईरहेको । पदले खरदार भएपनि काठमाण्डौंमा घर घडेरी जोडिसकेको तर अहिलेको कर्मचारी समायोजनमा एक तह बढुवा भएर नायब सुब्बा भएको भाग्यमानी निजामतिको कर्मचारी थियो ऊ । बधाई दिएको थिएँ तर त्यो बधाई स्वीकारेन उसले । “मेरो बधाई किन स्वीकारिनस् ?” प्रश्न गरेको थिएँ मैले । मेरो जवाफ यसरी फर्काएको थियो उसले– “ के बधाई दिन्छस् यार । बल्ल बल्ल काठमाण्डौं आइएको थियो । नागरिकताको आधारमा अहिलेको समायोजनामा फेरि आफ्नै जिल्लातिर पठाईदियो ।” दुःखी थियो ऊ । अन्त्यन्तै दुःखी । मभन्दा पनि । “के भो त ? राम्रै त भयो नि ? आफ्नै जिल्ला भएपछि घर पायक पनि भयो अनि समायोजनको नाममा एक तह बढुवा पनि त भयो नि ?” मैले भनेँ– अझै दुई चार वर्ष खरदारमै झुण्डिन्थिस् । कम्तिमा समायोजनको नाममा बिना मेहेनेत एक तह बढुवा भएर सुब्बा त भइस् ।” “तँ त खुशी हुनु पर्ने हैन र ? अब मलाई नै हेर न ? न त हाम्रो तिर समायोजन छ न केही ? सरुवा भएर पाल्पातिर धपाईएँ त म त ?” म आफैं दुःखी थिएँ मेरो सरुवा अनपेक्षित रुपमा पाल्पा भएकोमा । सोचेको थिइनँ काठमाण्डौंमा मागेर पाल्पा भइन्छ भन्ने । दुःखी भएपनि दुःख मनाउन पाइएन । खटाएको ठाऊँमा जानै पर्ने । न त कुनै समायोजन पनि थियो । एक तह बढूवा भैहालेपनि हाँसी खुशी नै गइन्थ्यो । जागिर हो । जागिर खाने क्रममा जानैपर्छ । भलै पाल्पा बसाई सुखद हुन्छ या दुःखद त्यो परिस्थितिले देखाऊँछ तर पनि मनमा पीडा भएपनि आफूलाई खटाइएको ठाऊँमा जानैपर्ने नियति हो र यही नियतिलाई पालना गर्नु हाम्रो कर्तव्य पनि हो । तर मेरो निजामतिको त्यो मित्र खरदारबाट सुब्बा भएर पनि समायोजन सरुवामा खुशी थिएन । मैले भनेँ– “खै ! तेरो त सरकार नै भएको अवस्था थियो । फूर्तिपनि निक्कै लाऊँथिस् त । बढूवापनि खाइन्छ, समायोजन पनि हुन्छ, मागेकै ठाऊँमा हुन्छ भनेर । आफ्नै जिल्लामा आफ्नै घर नजिकै घर पायक सरुवा पनि भएको अनि एक तह बढुवा पनि भएको यो अवस्थामा पनि तँ दुःखी हुन्छस् ।” मेरो जस्तो भएको भए थाहा पाऊँथिस् ।” भन्यो उसले– “बढुवा भयो भनेर पनि के खुशी हुनु ? पहाडी जिल्लामा सुब्बा भएर जानुभन्दा त काठमाण्डौंमै खरदार भएर बस्नु राम्रो ।” निजामति तर्फको चार्मिङ्ग सुनाउँदै थियो उसले । बढुवा भएर पनि सरुवा हुँदा ऊ खुशी थिएन । लाग्थ्यो म दुःखी छु, तर म भन्दा पनि दुःखी रहेछ ऊ । घर पायक पनि पाउनु, अझै तीनचार वर्ष बढुवा हुन समय लाग्नेमा बढुवा पनि भएर समायोजन हुँदापनि चित्त बुझेको थिएन उसलाई । “हाम्रो जस्तो भैदिएको भए के गथ्र्यो होला उसले ?” यो चाहीँ मैले सोध्न सकिनँ उसलाई । ................................................
प्रसङ्ग २ः
विशाल नेपालको मुद्धा बेलाबेलामा उठिरहेको हुन्छ । अचेल पनि उठिरहेको छ । जेनेभामा विशाल नेपालको विषयमा नेपालको कसैले मुद्धा हाल्यो रे ? अब भारतले सुगौली सन्धिभन्दा अगाडी नेपालले गुमाएको क्षेत्र फिर्ता दिनुपर्छ रे ? सामाजिक सञ्जालमा यस्तै कुराहरु सुन्न पाइन्छन् । सरुवा भएपछि पाल्पा आईपुगेको थिएनँ । काठमाण्डौंमै थिएँ । एकजना साथीले भन्यो –“सुनिस् ! माइतिघर मण्डलामा प्रदर्शन छ रे नि जाने हो ?” “के को प्रदर्शन ?” मैले सोधेँ । यस्ता प्रदर्शनमा गएर संख्या बढाउने रहर पनि छैन । फेरि यो प्रदर्शनमा हामीजस्ता निमुखाहरु जाने हो । फाइदा अर्कैले उठाउँछ । “ह्या ! जान्नँ म त । काम न काजको प्रदर्शनमा गएर समय फाल्नु छैन मलाई ।” मैले बिरोध जनाएको थिएँ । “मूला ! खतरा प्रदर्शन हो ।” मलाई उसले सम्झाएको थियो । जाने कर गरेको थियो । “विशाल नेपालको विषयमा जेनेभामा मुद्धा हालिएको छ रे ? भारतले सुगौली सन्धिभन्दा अघिको नेपालको भूभाग फिर्ता गर्नै पर्छ भनेर विरोध प्रदर्शन गर्न माइतिघर मण्डलामा जानुपर्छ ।” मानौं नेपालको माइतिघर मण्डलामा गरिएको विरोध प्रदर्शनले जेनेभामा रहेको उच्च अदालत झुक्छ र नेपालको पक्षमा फैसला गर्छ भन्ने दिवास्वप्नमा रमाईरहको थियो मेरो मित्र । “त्यसो भए त म झन् जान्नँ ।” मैले भनेँ । “किन?” उसले सोध्यो– “राष्ट्रियताको सवालमा भारतले नेपालको भूभाग फिर्ता गर्नुपर्छ भन्ने विषयमा अन्तरराष्ट्रिय अदालतमा मुद्धा परेको छ । तँ जान्न भन्छस् ।” मेरो मित्र भारतप्रति आक्रोशित हैन अब मप्रति आक्रोशित हुँदै थियो । “म जाँदै जान्नँ । जे गर्छस् गर् जा ।” भनेको थिएँ उसलाई मैले ? “किन जान्नस् ?” बम्किदै थियो ऊ । “किन जानु ? नेपालको भूगोल यत्रो सानो हुँदा त नमागेको ठाउँमा सरुवा भएको छ मेरो पाल्पामा । विशाल नेपाल भैदिएको भए अझै टाढा सिक्किम, अल्मोडा, देहेरादून वा टिस्टातिर भैदिएको भए अझै टाढा हुनु पर्थेन र मैले ?” अवाक भयो मेरो मित्र ? अब भने जाऊँ भनेर कर पनि गर्न सकेनँ । लुरुलुरु मेरै पछि लागेर चिया खान चियापसल तिर आयो ऊ पनि ।
टीकापुर, कैलाली हालः तानसेन पाल्पा