Hamro Patra
प्रजिअद्धारा सत्ती भन्सारको अनुगमनः राजश्व चुहावट रोक्न निर्देशन

टीकापुर, पौष १२

कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले खक्रौलास्थित सत्ती भन्सार कार्यालयको निरिक्षण गरेका छन् । भन्सार कार्यालयका प्रमुख विमलकुमार साहले भारतीय तिकुनियाँ बजारबाट भन्सार नै नगराई चार वटा एसी ल्याइरहेको समाचार प्रकाशित भएपछि प्रमुख जिल्ला अधिकारी थापाले कार्यालयको निरीक्षण गरेका हुन् ।

कार्यालयबाट राजस्व चुहावट भइरहेको समाचार प्रकाशित भएपछि कार्यालयमा प्रमुख जिल्ला अधिकारी थापाले राजस्व चुहावट नियन्त्रणसम्बन्धी बैठक समेत गरेका थिए ।

Khadga Memorial And Janajagriti

‘पछिल्लो समय सो भन्सार कार्यालयका कार्यालय प्रमुख नै भारतबाट भन्सार नगराइ सामान आयात गराउने र राजस्व चुहावट गर्ने कार्यमा संलग्न रहेको गुनासो बढेको विषयलाई लिएर बैठक बसेको हो’ बैठकका सहभागी एक कर्मचारीले भने ‘सिडिओ साबले कार्यालय प्रमुख साहको हाजिरी विवरण, राजश्वको अवस्थाबारे जानकारी लिनुभएको हो । बैठकले सबै सुरक्षा निकायको समन्वयमा राजश्व चुहावट नियन्त्रणका लागि पहल गर्ने निणर्य गरेको छ ।’

प्रमुख जिल्ला अधिकारी थापा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पाल, सशस्त्र प्रहरीका अधिकारीसहितको टोलीसहित भन्सारमा अनुगमनमा पुगेका हुन् ।

त्यसैबीच प्रमुख जिल्ला अधिकारी थापाले सीमा क्षेत्रका सीमास्तम्भहरुको समेत अनुगमन गरेका छन् । टोलीले भजनी, कालाकुण्डा र खक्रौलास्थित सीमास्तम्भको अनुगमन गरेको हो । नेपाल-भारत सीमाअन्तर्गत कैलालीमा पर्ने ११ वटा सीमास्तम्भ मर्मत गर्नुपर्ने भएको छ ।

‘अनुगमनबाट चार वटा सीमास्तम्भ मर्मतको काम नेपालले गर्नुपर्ने देखिएको छ भने ७ वटा भारतीय पक्षले मर्मत गर्नुपर्ने देखिएको छ’ टोलीमा सहभागी जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले भने । जोशीका अनुसार नेपालले मर्मत गर्नुपर्ने सीमास्तम्भको अवस्था के-कस्तो छ भन्ने बारे बुझ्न अनुगमन गरिएको हो ।

यस्तै, टोलीले हुलाकी राजमार्ग निर्माण गर्ने कार्यमा भएका अवरोधहरु सल्टाउनका लागि समेत छलफल गरेको छ । हुलाकी राजमार्ग आयोजनाको कार्यालयले अवरोध रहेको गुनासो गरेपछि सो समस्या समाधानका लागि अनुगमनसहित छलफल गरिएको जोशीले जानकारी दिए ।

‘मुख्य रुपमा खक्रौलास्थित मोहना नदीको पुल पारीको सडक निर्माण कार्य सुचारु गर्नका लागि निर्देशन दिनुभएको छ’ जोशीले भने । 

त्यस्तै बाढीबाट मृत्यु भएका घोडाघोडी नगरपालिकाका जीतबहादुर डङ्गौराका परिवारलाई राहत स्वरुप २ लाख रुपैयाँ आज हस्तान्तरण गरिएको छ । गएको असोज २४ गते बाढीमा डुबेर डङ्गौराको मृत्यु भए पनि उहाँका परिवार राहत पाउनबाट छुटेका थिए ।

छुटेको परिवारलाई राहत रकम प्रमुख जिल्ला अधिकारी थापाले घरमै पुगेर हस्तान्तरण गरेका हुन् । थापाले मृतककी श्रीमती चरनदेवी डङ्गौरा थारुलाई राहत रकम हस्तान्तरण गरिएको जोशीले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, पुस १२, २०७९  १९:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update