Hamro Patra
प्रभु बैंकको १८४ औं शाखा टीकापुरमा, कारोबार सुरु

टीकापुर, जेठ ३१
नेपालकै ठूलो मध्ये एक प्रभु बैंकले टीकापुरमा आफ्नो कारोबार सुरु गरेको छ । शुक्रवार एक समारोहकाबीच टीकापुर नगरपालिकाका मेयर तपेन्द्रबहादुर रावलले बैंकको शाखा उद्घाटन गरेका छन ।

यो कैलाली जिल्लाका हकमा बैंकको चौथो र सुदूरपश्चिमका हकमा दशौं शाखा हो । सुदूरपश्चिमका विभिन्न जिल्लामा बैंकले आफ्ना शाखा विस्तार गर्ने क्रम तिब्र पारेको छ ।

Khadga Memorial And Janajagriti

बैंकको शाखा उद्घाटन गर्दै मेयर रावलले वित्तिय संस्था बढ्नुले समाजमा आर्थिक गतिविधि बढ्ने बताए । उनले वित्तिय संस्थाको उपस्थिति यस क्षेत्रका बासिन्दाका लागि लाभदायक हुने विश्वास व्यक्त गरे ।

बैंकका ५ नं., कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रादेशिक ब्यापार अधिकृत सुनिल रानाले कृषि क्षेत्रको लगानीलाई प्राथमिकतामा राखेको बताए । उनले सुदूरपश्चिमको कृषि, उद्योग र पर्यटनमा लगानी गर्न बैंक तयार रहेको बताए ।

सो अवसरमा टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष परशुराम चपाँईले बैंकले लिएको कृषि क्षेत्रमा लगानीको नीतिको स्वागत गरे । उनले बैंकको लगानीले कृषि पेशामा लागेका व्यक्तिहरुलाई सहज हुने विश्वास व्यक्त गरेका छन ।

सुदूरपश्चिमका विभिन्न जिल्लामा रहेका शाखाहरुले गाउँ र शहरलाई जोड्ने काम गरेको बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख नन्दराज जोशीले बताए । उनका अनुसार बैंकले सुदूरपश्चिममा १ अर्ब ५० करोड निक्षेप संकलन गरेको छ भने १ अर्ब ७० करोड लगानी गरेको छ । बैंकले एउटा व्यक्तिलाई ५ हजारदेखी १ अर्बसम्मको लगानी गरेको बताईएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ३१, २०७६  ११:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update