Hamro Patra
भन्सार कार्यालयकै प्रमुख तस्करीमा संलग्न

टीकापुर, पौष ३

कैलालीको दक्षिणी सीमावर्ती खक्रौलास्थित सत्ती भन्सार कार्यालयका प्रमुख विमल कुमार साह तस्करीमा संलग्न रहेको पाइएको छ । शुक्रवार भारतीय बजार तिकुनियाँबाट भन्सार कार्यालयको से.१ झ.३०२ नम्बरको गाडीमा कार्यालय प्रमुख साह पानसोनिक कम्पनीको चार वटा एसी ल्याई रहेको अवस्थामा फेला परेका हुन् ।

भारतीय बजारबाट आप्mनै गाडीमा ३ लाख मुल्य बराबरका चार वटा एसीहरु ल्याएर आउँदै गरेका उनले घरायसी प्रयोजनका लागि ल्याएको बताए । भन्सार कार्यालयका प्रमुखले भन्सार नै नगरी एसी ल्याउन मिल्छ ? भन्ने प्रश्नमा उनले यसलाई व्यवहारिक रुपमा लिन आग्रह गरे ।

Khadga Memorial And Janajagriti

‘घरायसी प्रयोजनका लागि ल्याएको हुँ, फोटो नखिच्नुस् यसलाई व्यवहारिक रुपमा लिनुस्’ बोली फेर्दै उनले भने ‘यो कार्यालय पनि घर नै हो, कार्यालयकै लागि ल्याएको हुँ ।’ २०७७ पौष ३ गते भन्सार कार्यालयमा हाजिर भएका उनी झण्डै दुई वर्ष बसेका थिए । उनले चोरी तस्करीमा संलग्न गिरोहसँगको मिलेमतोमा सामान भित्र्याउने गरेको स्थानीयहरुले आरोप लगाउँदै आएका थिए ।

कार्यालय प्रमुख साहकै रवैयाका कारण भन्सार कार्यालयको राजश्वमा समेत गिरावट आइरहेको छ । आर्थिक वर्ष २०७९/०८० मा १४ करोड ९४ लाख ४२ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएको कार्यालयले पाँच महिनाको अवधिमा जम्मा २ करोड ४७ लाख ८५ हजार संकलन गरेको छ ।

आर्थिक वर्ष ०७८/०७९ मा २० करोड ५८ लाख ६१ हजार संकलन लक्ष्य रहेकोमा १० करोड ६७ लाख ९३ हजार संकलन गरेको थियो । यो लक्ष्यको झण्डै ५२ प्रतिशत मात्रै हो ।

कार्यालय प्रमुखका रुपमा साह आउनु अघि भने सत्तीस्थित भन्सार कार्यालयले वर्षभरिको लक्ष्य चार महिनामै असुल गरेको थियो । कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/०७८ को ६ करोड ७ लाख रुपैयाँको लक्ष्य कार्यालयले पहिलो चौमासिकमै ६ करोड ८ लाख संकलन गरेको थियो । सो वर्षमा १५ करोड ८३ लाख ७ हजार रुपैयाँ संकलन गरेको थियो । कार्यालय प्रमुख साह नै चोरी तस्करीमा संलग्न गिरोहसँग मिलेमतो गर्न थालेपटि कार्यालयको राजश्व निरन्तर ओरालो लागेको हो ।

शुक्रवार कार्यालयमै भेटिएका उनले चोरी तस्करीका घटना बढेको स्वीकार गरेका थिए । कार्यालय प्रमुख साहले सेटिङ्गमा काम गर्ने गरेपछि भन्सार गरेर कारोवार गर्ने व्यापारीहरु पलायन भएका छन् । स्थानीय सुरेश शर्मा पण्डितले भने ‘भन्सार गरेर ल्याउँदा सामान महङ्गो पर्न थाल्यो, चोरी तस्करीबाट सामान धमाधम गइरहेको छ, कार्यालय प्रमुखमै संलग्नतामा यस्तो भएको हो । उनले चोरी तस्करी नियन्त्रणका लागि कुनै पहल गर्न सकेनन् ।’

कार्यालय प्रमुख साहले आफ्ना जेठान नाता पर्ने घनश्याम चौधरीलाई करारमा कार्यालयको ड्राइभरमा नियुक्त गरेका थिए । चौधरीकै संलग्नतामा साहले तस्करसँगको मिलेमतोमा सामान निकासी गर्ने गरेको स्थानीयहरु बताउँछन् । ‘कार्यालय प्रमुखको जेठान हुन्, कार्यालयकै ड्राइभर पनि हुन, उनले नै सबै सेटिङ्ग मिलाउने गरेका थिए’ स्थानीय एक व्यवसायीले नाम उल्लेख नगर्ने शर्तमा भने ‘चोरी तस्करीमा पूरै उसैको भूमिका थियो ।’

भारतीय बजार तिकुनियाँबाट एसी ल्याउँदै गरेको फेला परेका साहले समाचार प्रकाशन नगर्न हारगुहार गरेका थिए । स्थानीय सञ्चार माध्यममा समाचार प्रकाशित भएपछि उनी शनिवार विहानै कार्यालय छोडेर गएको बताइएको छ । कार्यालयका नायब सुब्बा तुलसीराम थारुलाई निमित्त प्रमुखको जिम्मेवार दिँदै बाहिर गएका हुन् ।

‘हिजो शनिवार पत्र लेखेर निमित्त दिनु भएको रहेछ’ ना.सु. थारुले भने ‘मैले आइतवार मात्रै कार्यालयमा आएपछि निमित्त प्रमुखको पत्र पाएँ ।’
चौधरीले भारतीय बजारबाट ल्याइएको एसीबारे आफूलाई केही जानकारी नभएको बताए । ‘एसी त कार्यालयको एक कोठामै राखिएका छन्’ थारुले भने ‘यसबारेमा मैले केही बुझेको छैन, कहाँबाट ल्याएका हुन्, किन ल्याएका हुन् केही थाह छैन ।’

भन्सार विभागका सूचना अधिकारी पूण्यविक्रम खड्काले कार्यालय प्रमुख साहले भारतीय बजारबाट गाडीमा ल्याउँदै गरेको एसीबारे आफूहरुलाई जानकारी आएको बताए । ‘यो विषयमा सामान्य जानकारी आएको छ, यसमा विभागले गम्भीर रुपमा अनुसन्धान गर्छ’ निर्देशक समेत रहेका खड्काले भने ‘कार्यालयकै प्रमुख त्यसरी भन्सार छलीमा संलग्न भेटिए निश्चित रुपमा कारवाही हुन्छ ।’

स्थानीयबासीका अनुसार भारतीय व्यापारीहरुसँगको मिलेमतोमा कार्यालय प्रमुख साहले विभिन्न सामानहरु यसअघि समेत सरकारी गाडीमै ओसार्ने गरेका थिए ।

प्रकाशित मिति: सोमबार, पुस ४, २०७९  १६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update