Hamro Patra
रासनको पैसा तिर्दैनन् प्रहरी

योगेश रावल
टीकापुर, जेठ २८
इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरीले ब्यापारीहरुलाई लामो समयदेखी रासन (खाद्यान्न) वाफतको रकम नतिर्ने गरेको पाईएको छ । ब्यापारीहरुले रुपैयाँ माग्दा प्रहरीले उल्टै डरधम्की दिने गरेको दुखेसो पोखेका छन ।

इलाका प्रहरी कार्यालय टीकापुर भित्र जवानदेखी प्रहरी निरिक्षक सम्मका भान्सामा पाक्ने खानाको रासन वाफतको रकम कोड मास्टर (भान्साको जिम्मा लिएको व्यक्ति) ले नतिरेको पाईएको छ । कार्यालय भित्र जवानदेखी हवल्दार र असईदेखी प्रहरी निरिक्षकसम्मका दुई फरक भान्सा छन ।

सबैभन्दा धेरै ब्यापारीको रासनको पैसा नतिर्नेमा कोड मास्टर सुरेन्द्र रावल रहेका छन । उनले देवकोटा जनरल स्टोरमा मात्रै झण्डै १ लाख रुपैयाँ तिर्न बाँकी छ । ‘१ लाख ७ हजार उधारो थियो । ९ हजार मात्रै दिएको छ’ सञ्चालक जयप्रसाद देवकोटाले भने–‘बाँकी रकम मासिक रुपमा तिर्छु भनेको छ ।’

Khadga Memorial And Janajagriti

प्रहरीले सबैभन्दा धेरै रासनको उधारो नतिरेको पसल समेत देवकोटा जनरल स्टोर हो । सञ्चालक जयप्रसाद देवकोटाका अनुसार २०७२ भदौमा कोड मास्टर धनसिँह नगालले ७२ हजार र त्यसपछिका कोड मास्टर ज्ञानबहादुर बोहराले ९ हजार उधारो तिरेका छैनन् ।

अर्का कोड मास्टर हेम कठायतले समेत देवकोटा जनरल स्टोर लगायत केही ब्यापारीको उधारो नतिरेको बताईन्छ ।

कोड मास्टर रावलले महालक्ष्मी एग्रो सेन्टरमा ४४ हजार र भण्डारी टे«डर्समा २६ हजार रुपैयाँ तिर्न बाँकी छ । उनले उधारो लिएर तिर्न बाँकी रहेका अन्य थुप्रै ब्यापारी समेत रहेको बताईन्छ । ती मध्ये कतिपयले आफूसँग कारोवार नभएको प्रतिक्रिया दिए भने कतिपय सम्पर्कमा आउन चाहेनन् ।

‘मेरो डेढ लाख थियो । निकै दवाव दिएपछि असुल भयो’ भण्डारी टे«डर्सका सञ्चालक महेश्वर भण्डारीले भने–‘अझै केही रकम बाँकी छ । माग्न गयो भने तिर्छु भन्छ । तर तिर्ने कहिले हो थाहा छैन ।’

कतिपय ब्यापारीले पैसा माग्न छोडिसकेका छन । उनीहरुले प्रहरीले उधारो वाफतको रकम तिर्छ भन्नेमा विश्वास नभएपछि माग्नै छोडेको बताए । ‘डेढ लाख थियो । अझै ४४ हजार बाँकी छ’ महालक्ष्मी एग्रो सेन्टरका सञ्चालक प्रकाश तिमिल्सैनाले भने–‘अब त दिन्छ भन्ने विश्वास नभएपछि माग्नै छोडिदिए ।’

ब्यापारीको उधारो नतिरेको र भने अनुसारको खाना खुवाउन नसकेको भन्दै आइतवार सुरेन्द्र रावललाई कोड मास्टरबाट हटाईएको छ । उनको ठाउँमा राजेन्द्र बोहराले जिम्मेवारी सम्हालेका छन । सुरक्षाकर्मीहरु मध्येबाटै न्यून दरमा मापदण्ड अनुसारको खाना खुवाउने जिम्मेवार लिएको जवान वा हवल्दार पदको व्यक्तिलाई कोड मास्टर तोकिन्छ । ती कोड मास्टरले सुरक्षाकर्मीलाई कबुल गरे अनुसारको खाना उपलब्ध गराउनु पर्छ ।

बोहराले कोड मास्टर सम्हाले पछि उनी उधारोमा रासन उपलब्ध गराई दिन भन्दै ब्यापारी कहाँ पुगेका छन । ब्यापारीले प्रहरीका नाममा रहेको यसअघिको उधारो तिरेपछि मात्रै रासन उपलब्ध गराउन सक्ने भनेपछि समस्या भएको छ ।

‘म कहाँ रासनको कुरा गर्न आएका थिए’ महालक्ष्मी एग्रो सेन्टरका सञ्चालक तिमिल्सैनाले भने–‘उधारो हुँदैन । नगद लिने हो भने मात्रै कारोवार गरौं भने त्यसै फर्किए ।’

केही दिन अघि एक साँझ इप्रका टीकापुरका दुवै भान्सामा सुरक्षाकर्मीका लागि खाना पाकेन । कोड मास्टर भान्सा छोडेर हिँडेपछि सुरक्षाकर्मीहरु भोकै बस्नुपर्ने अवस्था आयो । दुईजना सुरक्षाकर्मी ब्यापारी कहाँ उधारो रासन माग्न गएपछि कोड मास्टरले गरेको बदमासीका बारेमा पोल खुलेको हो । कुनैपनि ब्यापारीले उधारो रासन दिन नसक्ने बताए पछि दुवैजना सुरक्षाकर्मी रित्तो हात फर्किएका थिए ।

‘यत्रो उधारो तिर्न बाँकी नै छ । अझ आगामी दिनमा कसरी सहयोग गर्न सकिन्छ’ भण्डारी टे«डर्सका सञ्चालक महेश्वर भण्डारीले भने–‘अब प्रहरी प्रतिको विश्वास रहेन ।’

ब्यापारीहरुले इप्रका टीकापुर प्रमुख डिएसपी शिवबहादुर सिँहको लापरवाहीले समेत समस्या बढेको बताए । उनीहरुले आफ्नो कार्यालय भित्र के भैरहेको छ भन्ने बारेमा चाँसो दिन नसक्नु डिएसपीको कमजोर भएको बताए । ‘आफ्ना सुरक्षाकर्मीले के गरिरहेका छन भन्ने बारेमा चाँसो राख्नु पर्छ कि पर्दैन’ एक ब्यापारीले भने–‘डिएसपीले नैतिक जिम्मेवारी लिनुपर्छ ।’

डिएसपी सिँहले भने यस बारेमा आफूलाई कुनै जानकारी नभएको बताए । उनले भान्सा के कसरी चलाउने भन्ने कुरो उनीहरुको भएकाले आफूले यस बारेमा चाँसो नराखेको बताए । ‘मलाई थाहा छैन । कसैले केही भनेको पनि छैन’ उनले भने–‘उनीहरुले कसरी चलाउँछन । मलाई थाहा हुँदैन ।’

प्रहरीमा कोड मास्टरले महिना भरी खाना खाने सबैको हिसाब राख्ने गर्छन । उनीहरुले हरेक महिनामा खाना वाफतको रकम कोड मास्टरलाई बुझाउनु पर्छ । तर कतिपय सुरक्षाकर्मीले कोड मास्टरलाई खाना खाएको रकम नतिरेका कारण समेत समस्या हुने गरेको बताईन्छ । सुरक्षाकर्मीले खानाको पैसा नतिरे पछि कोड मास्टरले ब्यापारीको उधारो तिर्न नसकेको हुनसक्ने स्रोतको भनाई छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २८, २०७६  १८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update