Hamro Patra
कैलाली-१ बाट पाँच महिला साँसद

टीकापुर, मंसिर २७

कैलालीको निर्वाचन क्षेत्र नं. १ ले पाँच जना महिला साँसद पाउने पक्का भएको छ । ती मध्ये २ जनाको साँसद पद सुनिश्चित भैसकेको छ भने ३ जनाको नाम निर्वाचन आयोगको समानुपातिक तर्फको अन्तिम सूचीमा समेटिएको छ ।

यसअघि नै नेकपा एकिकृत समाजवादीका तर्फबाट मदनकुमारी शाह ॅगरिमा’ राष्ट्रिय सभाको साँसद रहेकी छन । उनी सो पार्टीकी सचिव रहनुका साथै सुदूरपश्चिम प्रदेश इञ्चार्ज समेत हुन । शाह २०७८ माघ १२ गते सम्पन्न राष्ट्रिय सभाको निर्वाचनबाट साँसद पदमा निर्वाचित भएकी  हुन । उनी यसअघि २०७४ को आमनिर्वाचनमा नेकपा एमालेका तर्फबाट पराजित भएकी थिईन ।

Khadga Memorial And Janajagriti

त्यस्तै मंसिर ४ गतेको आमनिर्वाचनमा अत्याधिक मतका साथ विजयी भएकी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ प्रतिनिधि सभातर्फको साँसद हुन । उनी नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री रामजनम चौधरी र नेकपा एमालेका तर्फबाट उम्मेदवार रहेका टीकापुर नगरपालिकाका यसअघिका मेयर तपेन्द्रबहादुर रावल लगायतलाई पराजित गरेर साँसद बनेकी हुन ।

उनी निलम्वित साँसद रेशमलाल चौधरीकी पत्नी समेत हुन । यसअघि २०७४ को आमनिर्वाचनमा चौधरी अत्याधिक मतका साथ विजयी भएका  थिए । उनी टीकापुर घटनाको आरोपमा जेल परेपछि उनकी पत्नी श्रेष्ठ नयाँ पार्टी दर्ता गरेर चुनावी मैदानमा होमिएकी थिईन । उनको पार्टीले कैलालीका ३ निर्वाचन क्षेत्रमा जितेको छ ।

यसअघि संविधान सभा सदस्य रहेका दुईजना समेत प्रतिनिधि सभातर्फको समानुपातिक सूचीमा छन । नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य रुपा सोसी चौधरी र नेपाली काँग्रेसकी केन्द्रिय सदस्य ईश्वरी न्यौपाने समानुपातिकको सूचीमा छन । उनीहरु दुवै जना लगभग साँसद बन्ने निश्चित  छ ।

चौधरी २०६३ को अन्तरिम विधायक र २०६४ को प्रत्यक्ष निर्वाचित संविधान सभा सदस्य हुन । त्यस्तै न्यौपाने २०७० मा समानुपातिक तर्फबाट संविधान सभा सदस्य बनेकी थिईन भने २०७४ मा काँग्रेसका तर्फबाट उम्मेदवार रहेर पराजित भएकी थिईन ।

सुदूरपश्चिम प्रदेश सभामा ललिता सुनारको नाम नेपाली काँग्रेसका तर्फबाट समानुपातिकको सूचीमा छ । उनी समेत प्रदेश सभाको साँसद हुने लगभग निश्चित जस्तै छ । उनी दलित कोटाबाट समानुपातिक सूचीमा रहेकी छन । उनी पार्टीको महाधिवेशन प्रतिनिधि हुन ।

सम्भवतः यतिधेरै महिला साँसद भएको यो देशकै एकमात्र निर्वाचन क्षेत्र हो । साँसदको संख्या बढेसँगै यहाँको विकासमा समेत बढोत्तरी हुने जनताको अपेक्षा रहेको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर २७, २०७९  १८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update