Hamro Patra
टीकापुरका मेयरलाई काँग्रेसको ज्ञापनपत्र

टीकापुर, जेठ २८
नेपाली काँग्रेस कैलाली क्षेत्र नं. १ ले मुक्त कमैया, भूमिहिन सुकुम्बासी र पूर्जाबिहिन व्यक्तिहरुको समस्याका बारेमा टीकापुर नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ ।

क्षेत्रीय सभापति भुवनेश्वर अधिकारीले आज टीकापुर नगरपालिकाका मेयर तपेन्द्रबहादुर रावललाई ज्ञापन पत्र बुझाएका छन ।

Khadga Memorial And Janajagriti

ज्ञापन पत्रमा मुक्त कमैयाको पुर्नस्थापनामा भैरहेको ढिलाई प्रति पार्टीको ध्यानाकर्षण भएको उल्लेख छ । परिचय प्राप्त गरेका मुक्त कमैयाको असार मसान्त पछि परिचय पत्रको म्याद समाप्त हुने भएकाले उनीहरुको समस्याका बारेमा नगरपालिका गम्भीर बन्न आग्रह गरिएको छ ।

त्यस्तै नगर क्षेत्रमा बढ्दो अतिक्रमणको समयमै समस्या समाधान खोज्न जरुरी रहेको ठहर गर्दै ज्ञापन पत्रमा अव्यवस्थित ढंगले बस्दै आएका वास्तविक भूमिहिन सुकुम्बासीको पहिचान गरी समस्या समाधान गर्न काँग्रेसले माग गरेको छ ।

ज्ञापन पत्रमा टीकापुर नगरपालिकाको शाहीपुर र सिम्रेनीमा २०५५ सालमा नापी भएर पूर्जा प्राप्त गर्न मात्रै बाँकी रहेका ३६५ परिवार र त्यस्तै समस्या रहेका राजिपुर र सीतापुरका केही परिवारका बारेमा सचेत गम्भिर हुन माग गरिएको छ ।

मुक्त कमैया, भूमिहिन सुकुम्बासी लगायतको समस्या समाधान र पूर्जा वितरणको कामलाई नगरपालिकाले गम्भिरताका साथ नलिए आन्दोलनमा उत्रिन वाध्य हुने चेतावनी दिईएको छ ।

ज्ञापन पत्र बुझ्दै मेयर रावलले नगर क्षेत्रमा देखिएका सबैखाले समस्या समाधान प्रति आफू गम्भिर भएर लागेको बताए । उनले नगरपालिका स्तरबाट हुने सबै समस्याको समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन ।

प्रकाशित मिति: मंगलबार, जेठ २८, २०७६  १३:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update