Hamro Patra
खप्तडको काखमा विशाल ढुंगाको मूर्ति

अछाम(नैनी), मंसिर २७

साँफेबगर नगरपालिका-१२ का ७८ वर्षीय अर्जुनबहादुर राना खप्तडको काखमा विशाल ढुंगा काटेर शिवपार्वतीको मूर्ति बनाउने अभियानमा छन । उनले २०७७ सालदेखी १४० मिटर गोलो र ४२ फिट अग्लो ढुंगालाई काटेर मूर्ति बनाउन थालेका हुन ।

उनी भारत लगायतका ठाउँबाट कारिगर बोलाएर अभियानलाई सार्थकता दिने क्रममा छन । ढुंगाको माथिल्लो भागमा भगवान शिवको आकृति तयार भैसकेको छ । उनले ढुंगाको जमिनसँग जोडिएको १० फिट बाहेक माथिल्लो भागलाई काटेर मूर्ति बनाईने बताए ।

Khadga Memorial And Janajagriti

उनले ढुंगा काट्ने क्रममा दैनिक १ लाखको हाराहारीमा खर्च हुने बताए । ‘कारिगरलाई तिर्नुपर्ने ज्याला र औजारमा लाग्ने रकम धेरै खर्च भएको छ’ उनले भने-‘एकदिनको एक लाख जति खर्च हुन्छ ।’

यो भूस्वर्गका नामले चिनिने खप्तड नजिकैको ठाउँ हो । यो ठाउँ भौगोलिक रुपमा अछामको साँफेबगर नगरपालिका वडा नं. १२ मा पर्छ । यो ठाउँको नाम नैनी हो । नयनीबाट अपभ्रंस हुँदै यो ठाउँको नाम नैनी हुन गएको बताईन्छ । किम्वदन्ती अनुसार भगवान शिवले पार्वतीको शव बोकेर हिँडेको बेला यहाँ नयन खसेको थियो ।

यो ठाउँ धार्मिक रुपमा पनि निकै पवित्र छ । यहाँ थुप्रै ठूल्ठूला ढुंगाहरु छन । रानाका अनुसार ती ढुंगा ऋषीमूनि हुन । भगवान शिवले पिछा गर्दै आएका ऋषीमूनिहरुलाई श्राप दिएपछि ढुंगा भएका हुन ।

तिनै मध्येको एक विशाल ढुंगालाई रानाले शिवपार्वतीको मूर्ति बनाउने अभियान थालेका हुन । उनले अभियान अन्र्तगत नैनीलाई धार्मिक पर्यटकीय स्थल बनाईने बताए । उनले नैनीमा थुप्रै मठमन्दिर र तालतलैया समेत निर्माण गरेका छन । उनले अहिलेसम्म नैनीको विकासमा १ करोड ७५ लाख रुपैयाँ खर्च भैसकेको जानकारी दिए । उनका अनुसार त्यो मध्ये ४० लाख रुपैयाँ सरकारी स्तरबाट सहयोग भएको छ ।

उनले बाँकी १ करोड ३५ लाख रुपैयाँ आफै खर्च गरेको बताए । उनले नैनीको विकासमा खर्च गर्दा आफूले धेरै सम्पत्ति बेचेको सुनाए । ‘धनगढी मेनरोडको घडेरी बेचेको छुँ’ उनले भने-‘अभियान पूरा नभएसम्म सबै सम्पत्ति बेच्न परे पनि बेच्छु ।’

उनले आफ्नै पौरखले जीवनमा धेरै सम्पत्ति जोडेको बताए । उनले त्यो सम्पत्ति भन्दा नैनीको अभियान सार्थक हुनु आफ्ना लागि ठूलो सम्पत्ति रहेको सुनाए ।

उनी खप्तड बाबाका अनुयायी हुन । उनले नैनीमा खप्तड बाबाको शालिक निर्माण गरेका छन । उनले १२ वर्षको उमेरमा खप्तड बाबालाई भेटेका थिए । त्यसपछि उनले धेरै पटक खप्तड बाबालाई नजिकबाट जान्ने र बुझ्ने मौका पाएको बताए । उनका अनुसार खप्तड बाबाले एक दिन जीवनमा केही कमाएर जानु भनेर अर्ती दिएका थिए ।

उनलाई खप्तड बाबाको अर्तीले सोच्न वाध्य बनायो । उनी के कुरा कमाएर जाने भन्नेमा सोच्न थाले । उनले २०३८ सालमा विशाल ढुंगाको मूर्ति बनाउने कुरा मनमा आएको सुनाए । उनले ढुंगाको मूर्ति बनायो भने त्यो कहिल्यै नष्ट नहुने सोच मनमा आएको बताए । ‘यो विशाल ढुंगाको मूर्ति पृथ्वी रहेसम्म रहनेछ’ उनले भने-‘त्यतिञ्जेल सम्म म बाँचिरहने छुँ ।’

विशाल ढुंगाको मूर्ति संसारमै अनौठो हुनेछ । यो कुरा धेरैका लागि अध्ययन र अनुसन्धानको विषय पनि बन्नेछ । ‘यो मेरो कमाई हुनेछ’ उनले भने-‘यो मूर्ति रहेसम्म मलाई सबैले सम्झिने छन ।’ उनी २०६३ सालमा नैनीको संरक्षणमा जुटे । उनी विगत १७ वर्षदेखी नैनीमा एक्लै बस्दै आएका छन ।

मूर्ति निर्माणको काम विगत तीन महिनादेखी रोकिएको छ । उनले रकम अभावका कारण काम रोकिएको बताए । उनले कसैले सहयोग गर्छ कि भनेर पर्खेको बताए । ‘केही समय कोही सहयोग गर्छ कि भनेर पर्खेको छुँ’ उनले भने-‘कसैले सहयोग नगरे साँफेको घर बेच्छु र काम अघि बढाउँछु ।’

नैनीमा अहिले बाटो र विद्युत पुगेको छ । तर रानाले अभियान सुरु गर्दा न बाटो थियो न विद्युत नै पुगेको थियो । उनले भरिया मार्फत सामान बोकाए । ढुंगा काट्दा प्रयोग हुने औजारका लागि जेनेटर चलाए । अहिले त्यहाँ बनेका संरचना हेर्दा निकै रमाईलो लाग्छ तर विकट नैनीलाई सुन्दर फूल झैं सिगार्न रानाले गरेको संघर्ष निकै पीडादायी छ । तर उनले कहिल्यै हरेस नखाएको बताए ।

उनी अहिले पनि सबै काम आफै गर्छन । नैनी क्षेत्रमा फलफूल खेती र पशुपालन गरेका छन । उनले त्यसको आम्दानी समेत नैनीको विकासमा खर्च गरेको सुनाए ।

साँफेबगर नगरपालिकाका प्रमुख राजेन्द्र कुँवरले रानाको अभियान निकै ठूलो भएको बताए । उनले विरलै मान्छेले मात्रै साकार पार्न सक्ने अभियान थालेर रानाले यस ठाउँको विकासमा महत्वपूणर् योगदान पुर्याईरहेको बताए । उनले रानाको अभियानमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन ।

प्रकाशित मिति: मंगलबार, मंसिर २७, २०७९  १२:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update